२० करोडको लगानीमा शीतभण्डार निर्माण

बाँकेको जानकी गाउँपालिकास्थित खजुराखुर्दमा निजी क्षेत्रबाट शीतभण्डार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नेपालगन्जका व्यवसायीहरूको एक समूहले करिब २० करोड रुपैयाँको लागतमा शीतभण्डार निर्माण गरेको हो ।
१० हजार टन भण्डारण क्षमताको सो शीतभण्डार यही चैत महिनाबाटै सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको सञ्चालक टंकप्रसाद शर्माले जानकारी दिए । उनले नेपालगन्जबाट करिब ५ किलोमिटर पश्चिम गुलरिया रोडअन्तर्गत खजुरा नजिकै दुई बिगाहा जग्गामा नेपालगन्ज कोल्ड स्टोरेज एन्ड वेयर हाउस प्रालिको निर्माण भएको बताए ।
सो शीतभण्डारको निर्माणपछि प्रदेश नम्बर ५ र ६ का तरकारी तथा जडीबुटी किसान र व्यवसायीलाई लाभ हुने बताइएको छ । शीतभण्डारको अभावमा हाल आएर बाँकेमा बर्सेनि करोडौं रुपैयाँको तरकारी तथा जडीबुटी सडेर खेर जाने गरेको थियो ।
नेपाल जडीबुटी व्यवसायी संघका केन्द्रीय महासचिवसमेत रहेका शर्माले शीतभण्डारमा विशेष गरी जडीबुटी भण्डारण गरिने बताए । उनले शीतभण्डारको अभावमा सबैभन्दा बढी समस्या जडीबुटी व्यवसायीलाई हुँदै आएकाले सरकारसँग बर्षौंदेखि आग्रह गरिए पनि सुनुवाइ नभएपछि व्यवसायीले नै मिलेर आफैं बनाउनुपरेको बताए ।
सोही शीतभण्डारमा कर्णालीको स्याउ, तरकारी र आलुसमेत भण्डारण गर्ने लक्ष्य राखिएको छ । मध्य र सुदूरपश्चिमका किसानका उत्पादनलाई भण्डारण गर्ने लक्ष्य राखेर शीतभण्डार निर्माण गरिएकोमा नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ । शीतभण्डारको अभावमा यसक्षेत्रको जडीबुटी भण्डारणका लागि भारतको गोण्डा र लखनउ लगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा लिइएको संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए । उनले बाँकेको कोहलपुरमा एउटा मात्र सानो शीतभण्डार रहेको र त्यसमा पनि सधैं आलु नै भण्डारण गरिने गरिएकाले अन्य तरकारी र जडीबुटी व्यवसायीलाई सबैभन्दा बढी समस्या र घाटा हुँदै आएको बताए ।
शीतभण्डार निर्माणका लागि जग्गा खरिद गरी २०७१ सालदेखि निर्माणको काम सुरुआत गरिएको थियो । तर गत वैशाखदेखि भने भवन निर्माणको कामलाई तीव्रता दिइएको थियो ।