‘साना किसान र कृषि श्रमिक राहत प्याकेज ल्याउ’

कोरोनाबाट प्रभावित साना किसान र कृषि श्रमिकहरु सबैभन्दा बढी पीडित भएको भन्दै किसान संगठनहरुले राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् । सरकारले विद्युत् महसुल छुट, बैंक ऋणमा हेरफेर, श्रमिकलाई राहत प्याकेजलगायतका प्याकेजहरु ल्याइरहेको सन्दर्भमा किसान राहततर्फ ध्यानकर्षण गराएका हुन् ।
कृषकसँग सम्बन्धित विभिन्न दल निकट तथा किसान अधिकारका क्षेत्रमा काम गर्ने पाँच संगठनले संयुक्त वक्तव्य निकाल्दै लकडाउनका कारण ज्यालादारी गरिखाने कृषि श्रमिक र ठूलो संख्यामा रहेका साना किसानहको दैनिक गुजारा संकटमा परेको, उनीहरुका बालबच्चा, महिला र वृद्धवृद्धा समेत ‘भाइरस र भोक’ दुवैसँग सँगसँगै लड्नुपर्ने स्थिति आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
“गम्भीर र संबेदशील भएर सरकारले लेओस् र श्रमजीवी मजदुर किसानको जीवन रक्षा गर्ने र रोग फैलिन र लाग्न पनि नदिने अझ बढी ठोस उपाय गरोस् भन्ने विशेष माग गर्न चाहन्छौ,” वक्तव्यमा भनिएको छ, “सरकारले संकटकालीन विशेष राहत प्याकेज घोषणा गरोस्, बैंक ऋणको किस्ता स्थगित गरोस् र ब्याज मिनाहा गरोस् र किसानहरुलाई विशेष उत्पादन वृद्धि सहुलियत र सुविधा प्रदान गरोस् ।”
किसानको उपजहरु खेतबारीमा सड्ने र उत्पादित वस्तुले बजार पनि नपाउने समस्या बढेको र अर्कोतर्फ उपभोक्ताले कृषि उपज महँगोमा किन्न पर्ने अवस्था आएको चर्चा गर्दै वक्तव्यमा कृत्रिम अभाव, तस्करी र कालोबजारीमाथि कडा निगरानी र कडा कारबाही गर्न उनीहरुको माग छ ।
“कृषि उपज खेतबारीबाट घरमा भित्र्याउन, त्यसको किसानले उचित र लाभकारी मूल्य पाउन र उपभोक्ताले सुलभ पाउन र चर्को मूल्य ठगिने स्थितिबाट जोगाउन विशेष र ठोस कदम चालोस् भन्ने पनि हामी जोडदार माग गर्दछौं,” वक्तव्यमा भनिएको छ, “कृषिलाई पनि अत्यावश्यक सेवा अन्तरगत राखिएकोले संक्रामक रोग कोरानाबाट जोगिँदै अत्यावश्यक सेवालाई सुचारु राख्न आवश्यक छ ।”
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न हुने मन्दी र आधारभूत आवश्यकताका नभइ नहुने वस्तुहरुमा हामी आफैं आत्मनिर्भर हुनुपर्ने भएकाले आत्मनिर्भर कृषिका लागि विशेष योजना बनाएर अगाडि बढ्न संगठनहरुले सुझाव दिएका छन् । कोरोनाबाट मुक्त बनाउन सबै पक्षलाई एकजुट भएर लाग्न र सरकारलाई थप आवश्यक कदम चाल्न माग गरिएको छ ।