कालिज पालनबाट समृद्धि खोज्दै युवा

धनगढी-सुदूरपश्चिम प्रदेशका तीन जना युवाले कालिज पालन सुरु गरेका छन् । उनीहरुले पहाड क्षेत्रमा बसोबास गर्ने जंगली चरा काजिल पालनबाट आयआर्जनको बाटो रोजेका हुन् ।
उनीहरुले १० लाख रुपैयाँको लागतमा कैलालीको चुरे गाउँपालिका–५, निङ्लाडीमा एक सय ५० कालिज पालेका छन् । नेपाल सरकारको पन्छी संरक्षण विभागबाट अनुमति लिएर पोखराबाट चल्ला ल्याएर कालिज पालेको सो काजिल फार्मका जेटिए श्याम चौधरीले बताए ।
नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेकाले यिनीहरुलाई सरकारले संरक्षितको सूचिमा राखेको छ । यी चरालाई मार्न पाइँदैन । तर निङ्लाडीमा पालिएका कालिज विदेशी प्रजातिको रहेको चौधरीले बताए । उनले यी कालिजको मुल थलो ‘इजिप्ट’ रहेको बताए । नेपाली प्रजातिका कालिज फार्ममा राखेर पाल्न पनि पाइँदैन ।
सुरुमा करिब चार रोपनी जमीनमा कालिज फार्म सञ्चालन गरिएकोमा थप २२ रोपनी जमीनमा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । सुदूरपश्चिममै पहिलो पटक सुरु गरिएको कालिज पालनबाट राम्रो आय हुन सक्ने सम्भावना रहेको चौधरीले बताए । उनले अहिले कालिजहरुले ‘अण्डा’ दिन थालेको बताए । एउटा पोथी कालिजले ६० वटासम्म अण्डा दिने बताउँदै उनले दैनिक एक अण्डा दिने कालिजले बैशाख÷जेठमा चल्ला निकाल्ने जनाए ।
बैसाख र जेठमा बढि जसो कालिजले चल्ला निकाल्छन् । मंसिर, पुससम्म चल्लाहरू एक समूहमा बस्ने गर्छन् भने फागुन लागेपछि कालिजहरू भाले पोथीको जोडी बनाएर बस्छन् । यी चराहरु प्रायः ३० डिग्रीसेल्सियस भन्दा कम ताप भएको क्षेत्रमा बस्ने भएकाले काजिल पालनका लागि चुरे पहाड रोजिएको चौधरीले बताए ।
कालिजको मासु अरु पन्छी भन्दा स्वादिष्ट र स्वास्थ्यका लागि लाभदायक रहेको बताउँदै उनले सुदूरपश्चिममा कालिजको माग बढि रहेको जनाए । उनले कालिजको मासु र अण्डा अरु पन्छी भन्दा महंगोमा बिक्री हुने भएकाले पनि कालिज पालनबाट बढि आम्दानी लिन सकिने बताए । कालिज प्रजातिका चरामा रोग प्रतिरोधी क्षमता बढि हुने भएकाले रोग लाग्ने सम्भावना कम हुने भएकाले पाल्न पनि सहज रहेको उनले बताए । कालिजहरुलाई दाना र घाँस दुवै दिएर पाल्न सकिने भएकाले आहारामा समेत कम खर्च लाग्ने उनले बताए ।
यद्दपि, कालिज जंगली प्रजातिका रहेकाले उड्ने भएकाले चारैतिर जालीले घेर्नुका साथै आकाश पनि जालीले छेक्नु पर्ने भएकाले खोर बनाउन खर्चिलो रहेको चौधरीले बताए । अहिलेसम्म सुदूरपश्चिममा कालिज पालन फार्म नभएकाले यसको अण्डा र मासु बजारमा पाइँदैन । सो कालिज फार्मले कालिजले दिएका अण्डाहरु फार्ममै ह्याचरी स्थापना गरेर चल्ला निकाल्ने उनले बताए ।