नाग्म–गमगडी सडकको प्रवेशद्वारमा हेल्थ डेस्क

जुम्ला-नाग्म–गमगडी सडक खण्डको प्रवेशद्वारमा हेल्थ डेस्क स्थापना गरिएको छ । कर्णाली राजमार्ग हुँदै राराका लागि आउने पर्यटकलाई लक्षित गरी नाग्म–गमगडी सडक खण्डको प्रवेशद्वार हिमा गाउँपालिकामा हेल्थ डेस्क स्थापना गरिएको हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए । आइतबार गाउँपालिका अध्यक्ष रजबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाको स्वास्थ्य जाँच गरेर पालिकाको कार्यालय नजिकै हेल्थ डेस्क स्थापना गरिएको हो ।
डेस्कले मास्क वितरण गर्नुका साथै स्वास्थ्य समस्या बारेमा चेकजाँच गर्ने प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य राराताल जाने मुख्य सडक भएकाले पनि जिल्लामै यो पहिलो हेल्थ डेस्क स्थापना हो । कोरोनाको त्रासले फाट्टफुट्ट आउने आन्तरिक तथा बाह्य पर्यटकलाई हेल्थ डेस्कले राहत दिने विश्वास गरिएको छ । पर्यटकसँगै हिमा गाउँपालिकामा आउने सेवाग्राहीलाई समेत नियमित चेकजाँच गरिने भएको छ ।
यसअघि जुम्लामा बसेको सरोकारवालाको बैठकले जुम्ला कालिकोटको सिमाना नाग्मघाट, जुम्ला मुगुको सिमाना बुलबुले, जुम्ला डोल्पाको सिमाना चोत्रा र जुम्ला विमानस्थलमा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ । हेल्थ डेस्क स्थापना तथा आवश्यक पूर्वतयारीलाई मजवुद बनाउन लागिपरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पनि कोरोना भाइरस संक्रमणलाई मध्येनजर गर्दै १० वटा शैया छुट्याएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । विशेषज्ञ चिकित्सकको नेतृत्वमा कार्यदलसमेत बनाएको छ । जुम्लामा कोरोना भाइरस बारेमा सचेतनाका क्रियाकलाप समेत अगाडि बढाइएको छ ।