दिगो विकास र गरिबीको अन्तरसम्बन्ध

दिगो विकासका लागि विगत एक दशकदेखि नेपालले अनेक प्रयास गर्दै आइरहेको छ । सर्वप्रथम शून्य गरिबी र नेपाल शीर्षकअन्तर्गत दिगो विकास लक्ष्य वा शून्य गरिबीको लक्ष्य प्राप्त गर्न नेपालले प्रतिव्यक्ति आयलाई सन् २०३० सम्ममा २५ सय डलर पुर्याउने लक्ष्य लिएको छ । यसैगरी सन् २०३० सम्ममा सामाजिक सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारले आफ्नो बजेटको १५ प्रतिशतसम्म खर्च गर्ने योजना बनाएको छ । नेपालले चालु पञ्चवर्षीय योजनाले बहुआयामिक गरिबीलाई दिगो आर्थिक विकासमार्फत कम गर्दै लैजाने लक्ष्य लिनुका साथै निरपेक्ष गरिबीको दरलाई ५ प्रतिशतभन्दा कममा झार्ने दीर्घकालीन लक्ष्य लिएको छ । यसैगरी शून्य भोकमरीका लागि खाद्यान्न सुरक्षा पोषणमा सुधार र दिगो कृषि विकासलाई प्रवद्र्धन गर्ने योजना रहेको छ ।
नेपालले शून्य भोकमरीको लक्ष्य प्राप्त गर्न सन् २०३० सम्ममा कुपोषणको अन्त्य तथा खाद्य सुरक्षामा विशेष जोड दिएको छ । कुपोषित जनसंख्याको प्रतिशतलाई सन् २०३० सम्ममा ३ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । साथै, प्रतिव्यक्ति खाद्यान्न उत्पादन ५ सय ३० केजी प्रतिव्यक्ति पुर्याउने लक्ष्य राखेको छ । सम्मानजनक श्रम, आर्थिक वृद्धि र नेपाल शीर्षकअन्तर्गत सम्मानजनक श्रम र आर्थिक वृद्धि प्राप्त गर्नका लागि नेपालले सन् २०३० सम्ममा ७ प्रतिशतको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । सन् २०३० सम्ममा रोजगारीका क्रममा हुने विभिन्न दुर्घटनालाई १५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य राखिएको छ ।
चालु सोह्रौँ योजनाले दिगो विकास लक्ष्यअनुरूपको सम्मानजनक श्रम र आर्थिक वृद्धि हासिल गर्न योजना अवधिभरमा २५ लाख थप रोजगारी सिर्जना गर्नका लागि विभिन्न रोजगारमूलक कार्यक्रमको प्रवद्र्धन गर्ने योजना राखिएको छ । जुन ज्यादै नै चुनौतीपूर्ण समेत रहेको छ । अर्को शीर्षक गुणस्तरीय शिक्षा र नेपालअन्तर्गत संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यअनुरूप समावेशी र समानुपातिक धारणाअनुरूप विभिन्न तहमा प्रदान गरिने शिक्षामा पिछडिएको वर्गलाई विशेष स्थान दिइँदै आएको छ । गुणस्तरीय शिक्षा सुधारका लागि नेपालमा माध्यमिक तहको शिक्षालाई निःशुल्क गरिएको छ । प्राथमिक र माध्यमिक तहको शिक्षालाई गुणस्तरीय बनाउन नेपालमा शिक्षक–विद्यार्थी अनुपात ४० मा राख्ने लक्ष्य छ ।
नेपालले २०९० सम्ममा युएनडिपीका दिगो विकासका १७ वटा लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता लिएको छ । उक्त लक्ष्य प्राप्त गर्न चालु सोह्रौँ योजनाको आवधिक र दीर्घकालीन उद्देश्य रहेको छ । यसैगरी यस अवधिका बजेटहरूलाई पनि दिगो विकास लक्ष्यअनुरूप निर्माण र परिचालन गरिँदै आएको छ । अब चर्चा गरौँ, गरिबीका सन्दर्भमा । परिवारको आयले न्यूनतम आवश्यकता जस्तै— गाँस, बास, कपास, स्वास्थ्य आदि खरिद गर्न असमर्थ हुने अवस्था गरिबी हो भनेर परिभाषित गरिएको छ । गरिबी प्रायः सबै विकासशील समाजको साझा समस्या हो । गरिबीका विभिन्न कारण रहेका हुन्छन् । तीव्र जनसंख्या वृद्धि पनि प्रमुख कारण रहेको देखिन्छ, गरिबीको अवस्था सिर्जना हुनुमा । तीव्र रूपमा जनसंख्या वृद्धिसँगै देशको आर्थिक वृद्धि हुन नसक्दा प्रतिव्यक्ति आयमा पनि गिरावट हुन जान्छ ।
रोजगारी आयको प्रमुख स्रोत भएकाले बेरोजगारी र गरिबीको श्रमशक्तिको उल्लेख्य हिस्सा पूर्ण बेरोजगार रहेको पाइन्छ, जसका कारण नेपालमा गरिबीको दर न्यूनीकरणमा उल्लेख्य प्रगति गर्न सकिएको अवस्था छैन । त्यसैगरी पूर्वाधारहरूको असमान वितरण पनि गरिबीको अर्को कारण बनेको देखिन्छ । असमान रूपले पूर्वाधारको विकास गरियो भने विकास नभएको स्थानका मानव झन् धेरै गरिबीमा रहन बाध्य हुन्छन् । तसर्थ पूर्वाधारको असमान वितरण हटाउन सक्नुपर्छ । अर्को कारण रहेको छ, औद्योगीकरण । न्यून औद्योगीकरण हुनु भनेको अवसरको कमी हुनु पनि भएकाले गरिबी कम गर्नका लागि उद्योेगहरूको विकास र विस्तारमा जोड दिनुपर्छ ।
परम्परागत रूपले खेती गर्ने परिपाटी पनि गरिबीको अर्को कारण रहेको देखिन्छ । परम्परागत कृषि पेसामा आबद्ध व्यक्तिहरूले प्राकृतिक साधनहरूको कम मात्र उपयोग गर्छन् । जसले उत्पादकत्व पनि कम हुन्छ । उपलब्ध स्रोत र साधनहरूको उपयोग वैज्ञानिक रूपले गर्न सक्ने हो भने उत्पादन वृद्धि गर्न पनि सहज हुन्छ । उत्पादन वृद्धि भएमा स्वतः आर्थिक अवस्था पनि बढ्न जान्छ । कुनै अर्थव्यवस्थामा प्राकृतिक साधनहरूको वैज्ञानिक र उचित तरिकाले प्रयोग गर्न सकिएमा प्रतिव्यक्ति आय, रोजगारी आदिमा वृद्धि गर्छ । यस्तो वृद्धिले गरिबी कम गर्न महत्वपूर्ण सहयोग पुग्छ । तसर्थ, प्राकृतिक साधनहरूको भरपुर रूपमा उपयोग गरी गरिबी घटाउन सकिन्छ । देशमा राजनीतिक अस्थिरता रहेमा नेतृत्व र नीति निर्माण तहमा स्थायित्व रहँदैन । जसले गर्दा आर्थिक योजनाको निर्माण, परिचालन, अनुगमनजस्ता विषयहरू प्रभावहीन बन्नेछन् । तसर्थ, राजनीतिक अस्थिरता र नीतिगत समस्या पनि गरिबीको प्रमुख कारण बनेको तीतो वास्तविकता छँदै छ ।
गरिबी हटाउने अनेकौँ उपाय छन् । सामाजिक सुरक्षाले उनीहरूलाई न्यूनतम आवश्यकता पूरा गर्न सक्षम बनाउँछ । दृष्टान्तका लागि वृद्धभत्ता, एकल महिला भत्ता, फरक क्षमता भएकाहरूका लागि दिइने भत्ता आदि सामाजिक सुरक्षा कार्यक्रमहरूले आर्थिक रूपले कमजोर व्यक्तिहरूलाई न्यूनतम आवश्यकता पूरा गर्न सहयोग गरेको हुन्छ । तसर्थ, यस्ता कार्यक्रमहरूमार्फत गरिबी कम गर्न सहज वातावरणको सिर्जना हुन्छ । नेपाल कृषिमा निर्भर देश भएकाले यसको वैज्ञानिक विकासमा जोड दिनुपर्छ । कृषिमा आधुनिकीकरणमार्फत उत्पादकत्व वृद्धि गरी कृषिमा आबद्ध जनसंख्याको आम्दानीमा वृद्धि गर्न सकिन्छ । त्यसैले कृषिमा आधुनिकीकरण गर्न विशेष कदम चाल्नुपर्छ । यस्तै गरिबी लक्षित कार्यक्रमहरू सञ्चालनमा पनि जोड दिनुपर्छ । मानव संसाधन वा जनशक्तिको उत्पादकत्व र उद्यमशीलतामा प्रवद्र्धन गरी तिनीहरूको आयस्तरमा वृद्धि गर्न सकिन्छ ।
मानव संसाधनको विकासका लागि सामाजिक सेवाहरू जस्तै— शिक्षा, स्वास्थ्य, खानेपानी, पोषण आदिमा सुधार गर्नुपर्ने हुन्छ । त्यसैले गरिबी निवारणका लागि मानव संसाधनको विकासमा विशेष र प्रभावकारी कार्य–सम्पादन गर्नुपर्छ । कतिपय कार्यक्रम गरिब नागरिकसम्म नपुगेको अवस्था छ । गरिब लक्षित विशेष कार्यक्रमहरूको तय गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । गरिबी हटाउन वा कम गर्नका लागि औद्योगीकरणमा जोड दिनुपर्छ । उद्योगहरूले प्राकृतिक स्रोत पुँजी तथा मानव संसाधनको उच्च प्रयोगमार्फत रोजगारी तथा अवसरहरूको विस्तार गर्ने हुनाले गरिबी निवारणका लागि औद्योगीकरणलाई जोड दिनु अत्यन्तै आवश्यक छ । साथै, गरिबी हटाउन सहभागितामूलक विकास योजना आवश्यक पर्छ ।
विकासका आयोजनाहरूमा स्थानीय व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहनुलाई सहभागितामूलक विकास भनिन्छ । यस्ता योजनाहरूमा स्थानीयहरू योजनाको छनोट, बजेट निर्माण, योजना परिचालन र अनुगमनमा प्रत्यक्ष सहभागी हुने हुनाले यस्तो योजनामा लागू गरिएको सबै आर्थिक साधन र स्रोतहरू स्थानीयकै पहुँचमा जाने भएकाले तिनीहरूको आय तथा रोजगारीमा वृद्धि हुन्छ । गरिबी निवारणका लागि अर्को महत्वको विषय हो, पूर्वाधारको विकास र विस्तार । सडक, सञ्चार, ऊर्जा, सिँचाइजस्ता पूर्वाधारहरूको विस्तारले ग्रामीण र दुर्गम स्थानमा रहेका विभिन्न आर्थिक स्रोतहरूको बजार परिचालनमा विस्तार हुन जान्छ । यसरी परिचालित साधनहरूमार्फत ती स्थानमा रहेका व्यक्तिहरूको आयमा सुधार हुन गई गरिबी निवारणमा थप सहयोग पुग्छ । अर्को महत्वपूर्ण विषय रहेको छ, राजनीतिक स्थिरता । यसको अभावमा कुनै पनि कार्यक्रमको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिँदैन ।
देशको आर्थिक, सामाजिक, सांस्कृतिक सबै प्रकारको विकास गर्न सर्वप्रथम त राजनीतिक स्थिरताको खाँचो रहन्छ । राजनीतिक स्थिरता भएमा मात्र हरेक कार्यक्रम सहज रूपले लक्षित स्थान र वर्गसम्म लैजान सकिन्छ । राजनीतिक स्थिरताको अभावमा एउटा सरकारले ल्याएको राम्रा कार्यक्रम पनि बिनाकारण रोकिन्छन् । सरकार परिवर्तनसँगै उच्च तहका कर्मचारीको सरुवा हुने परिपाटीले पनि योजनाहरू समयमा सम्पन्न हुन सक्दैनन् । हाम्रो सन्दर्भमा भने यो एक प्रकारको संस्कृति नै बनेको देखिन्छ । हामीले आफ्नो स्रोत–साधनहरूको प्रयोगले मात्र गरिबी निवारणका कार्यक्रमहरू अगाडि बढाउन सक्दैनौँ । तसर्थ, विभिन्न दातृराष्ट्र तथा संस्थाहरूको आर्थिक सहयोगको आवश्यकता रहन्छ । त्यस्ता सहयोग प्राप्त गर्नका लागि पनि देशमा राजनीतिक स्थिरताको खाँचो रहन्छ ।
गरिबी निवारण गर्ने कार्य सरकार एक्लैको प्रयासले मात्र सम्भव छैन, यसका लागि विभिन्न गैरसरकारी संघ–संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोग चाहिन्छ । तिनीहरूलाई विश्वासमा लिनका लागि पनि देशमा राजनीतिक स्थिरता हुनु जरुरी हुन्छ । गैरसरकारी संस्थाहरूलाई निर्धक्क भएर काम गर्ने वातावरणको सिर्जना गर्न पनि राजनीतिक स्थिरता अनिवार्य हुन्छ । विश्व बैंक, एसियाली विकास बैंक, युएनडिपीजस्ता अन्तर्राष्ट्रिय निगम वा संस्थाहरूले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गरिरहेका छन् । यस्ता संस्थाहरूले गरिबी निवारणका लागि पनि बर्सेनि लगानी गरी काम गर्र्दै आएको हुनाले उनीहरूलाई साथसाथै लिएर कार्य गर्नुपर्ने भएकाले यसमा पनि ध्यान दिनुपर्छ ।
यसैगरी दैनिक प्रशासनमा हुने ढिलासुस्ती, भ्रष्टाचार आदि पनि हामीले हटाउनुपर्छ । विदेशी दाताहरूले आफूले लगानी गरेको रकमको सदुपयोग भएको छ या छैन भनेर ध्यान दिएका हुन्छन् । तसर्थ उनीहरूबाट आएको रकमको पारदर्शिता समेतमा विशेष ध्यान दिनुपर्छ । हाम्रो विकासमा यस्ता दातृ राष्ट्रको योगदान ठूलो रहेकाले पनि हामी यस्ता कार्यक्रमको परिचालनमा ज्यादा नै गम्भीर भएर प्रभावकारी रूपले कार्य सम्पादनमा ध्यान पुग्नुपर्छ । समग्रमा हामीले गरिबी निवारणका लागि गरिरहेका विभिन्न प्रयासलाई उपलब्धिमूलक बनाउनका लागि हरेक सम्बन्धित निकाय विशेष चनाखो भएर काम गर्नुपर्छ, तबमात्र लक्ष्य प्राप्तिमा अपेक्षित प्रगति गर्न सकिन्छ ।