Logo

यात्रा-अनुभव

जहाँ समय बोल्छ र प्रविधि बाँच्छ

विकास भन्नाले हामी धेरै कुरा बुझ्न सक्छौँ— आर्थिक प्रगति, सामाजिक रूपान्तरण, प्राविधिक उन्नति, शिक्षा र नागरिक चेतनाको अभिवृद्धि । यी सबै कुरा कसरी सम्भव हुन्छन् भन्ने कुराको गहिरो उत्तर मैले जापान भ्रमणपछि पाएको छु । जब मैले जापान पुगेर टोकियोको रेल स्टेसनमा मिनेट पनि फरक नपरीकन ठीक समयमा रेल आइपुगेको देखेँ, कागजको टुक्रासमेत सडकमा भेटिनँ, नागरिकलाई अनुशासित, शिष्ट र जिम्मेवार देखेँ, त्यसपछिको मेरो बुझाइ फेरिएको हो । यस लेखमा म जापानको विकासको कथा सम्झँदै छु, जुन मैले आफ्नै आँखाले देखेँ, अनुभव गरेँ र सिकेँ ।

दोस्रो विश्वयुद्धमा जापान पूर्ण रूपमा ध्वस्त भएको थियो । हिरोसिमा र नागासाकीमाथि आणविक बम खसालिएपछि देशको संरचना मात्र होइन, जनमानसमा पनि ठूलो प्रभाव परेको थियो । भनिन्छ, त्यही बिन्दुबाट जापानले आफ्नो विकासको यात्रा सुरु गर्‍यो ।

मैले हिरोसिमा पिस म्युजियममा त्यहाँका बमपीडितको फोटो, उनीहरूको कथा र शान्तिको सन्देश पढ्दा मेरो मन भित्रैसम्म छोयो । उनीहरूले शान्तिलाई अँगाले, अमेरिकासँग प्रतिशोध होइन सहयोग मागे । राष्ट्रको पुनर्निर्माणमा शिक्षा, विज्ञान र अनुशासनलाई प्राथमिकता दिए । अमेरिकासँगको सहयोग, औद्योगीकरणको सही योजना, जनताको प्रतिबद्धता र संस्थागत अनुशासनले जापानले आफूलाई आश्चर्यजनक रूपमा विकास गर्‍यो ।

जापानको शिक्षा प्रणाली केवल प्रमाणपत्र केन्द्रित होइन, यो नैतिकता, व्यावहारिकता र जीवनोपयोगी सीप विकासमा केन्द्रित छ । युनेस्कोका अनुसार, जापानको साक्षरता दर ९९ प्रतिशत छ । अन्तर्राष्ट्रिय विद्यार्थी मूल्यांकन कार्यक्रम एक अन्तर्राष्ट्रिय मूल्यांकन हो, जसले अनिवार्य शिक्षाको अन्त्यतिर पुगेका विद्यार्थीलाई परीक्षण गर्छ । यसले गणित, विज्ञान र वित्तीय साक्षरतामा विद्यार्थीले प्राप्त ज्ञान र सीपलाई जीवनमा आउने यथार्थ समस्या समाधान गर्न कत्तिको प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन् भन्ने कुरा मापन गर्छ । यसको मूल्यांकनका अनुसार सन् २०२२ मा जापान गणित र विज्ञानमा शीर्ष पाँच मुलुकमा पर्छ । सन् २०२२ को ट्रान्सपेरेन्सी इन्टरनेसनलको रिपोर्टअनुसार जापानको भ्रष्टाचार सूचकांक ७३ थियो, जुन विश्वकै कम भ्रष्ट मुलुकहरूमध्ये पर्छ । जनताले सार्वजनिक सम्पत्तिलाई स्वच्छ राख्ने संस्कार, नागरिकको अनुशासन र स्वाभिमान अतुलनीय लाग्यो । सार्वजनिक ठाउँमा समेत फोहोर फाल्ने डष्टबिन समेत राखिएको छैन । आफ्नो फोहोर आफैँले व्यवस्थित गर्न सिकाएको छ ।

मैले जापान भ्रमणका क्रममा एक प्राथमिक विद्यालयमा विद्यार्थीहरूले आफैँले कक्षा सफा गर्दै गरेका, समूहमा खानेकुरा बाँड्दै गरेका र ध्यानपूर्वक शिक्षकको निर्देशन पालना गरिरहेको दृश्य देखेँ । विद्यालयमा नियमित रूपमा नागरिकका नैतिक मूल्यका पाठहरू हुन्छन् । बुबाआमा, गुरुजन, समाज र देशप्रतिको कर्तव्यका कुरा बाल्यकालदेखि नै सिकाइन्छ ।

टोकियो युनिभर्सिटीको एउटा कार्यशालामा भाग लिँदा मैले देखेँ कि विद्यार्थीहरू अनुसन्धानमुखी र समस्या समाधानमा केन्द्रित छन् । प्रयोगशाला, स्मार्ट बोर्ड, डिजिटल पाठ्यक्रम, अन्तरक्रियात्मक कक्षाहरूले जापानी शिक्षालाई विश्वस्तरमा पुर्‍याएको छ ।

विश्व बैंकको सन् २०२३ को प्रतिवेदनका अनुसार प्रविधि र नवप्रवर्तनको क्षेत्रमा जापानले वार्षिक रूपमा कुल गार्हस्थ्य उत्पादनको ३.२ प्रतिशत रकम अनुसन्धान र प्रविधिमा खर्च गर्छ । विश्व बौद्धिक सम्पत्ति संगठनको प्रतिवेदनअनुसार जापानले सन् २०२२ मा ३ लाखभन्दा बढी पेटेन्ट दर्ता गरेको छ ।

अनुशासन जापानी जीवनशैलीको मेरुदण्ड हो । मैले टोकियोको व्यस्त सडक पार गर्दा पनि मानिसहरू आ–आफ्नो लेनमा मात्र हिँडिरहेका र ट्राफिक बत्तीको पालना गरिरहेका देखेँ । बाटोमा हिंड्दा पनि अरूलाई छोइन्छ कि, अरूलाई डिस्टर्ब हुन्छ कि भनेर सावधानीपूर्वक हिँडिरहेको देखेँ । सार्वजनिक यातायातका साधन चढ्दा पहिले अरूलाई प्राथमिकता दिने, अनुशासनपूर्वक लाइनमा बस्ने त्यहाँको संस्कार बनिसकेको रहेछ ।

समयको मूल्य कति हुन्छ भन्ने कुरा जापानमा प्रत्यक्ष अनुभव गरेँ । रेल, बस, मेट्रो आदि सबै सेवा समयमै चल्छ । सार्वजनिक ढिलाइलाई लाज मानिन्छ । कुनै रेल १ मिनेट ढिला हुँदासमेत कर्मचारीले माफी माग्छन् । कर्तव्यप्रतिको निष्ठा के हो भन्ने राम्रो अनुभूति भयो ।

प्रविधि र नवप्रवर्तनमा जापानले नवयुगमा प्रवेश गरेको रहेछ । जापानले प्रविधिलाई केवल सजिलोको साधनमात्र बनाएको छैन, यो मानिसको अभिन्न अंग बनिसकेको छ । जापानी कम्पनीहरू हिटाची, तोसिबा, सोनी, फुजित्सुले रोबोटिक्स, स्मार्ट इलेक्ट्रोनिक्स र एआईले अग्रता लिएका छन् ।

दैनिक जीवनमा प्रविधि कति उपयोगी छ भन्ने कुरा टोकियोको डिस्नेल्यान्डमा देखेँ । टोकियोको डिस्नेल्यान्ड संसारका सबैभन्दा ठूला डिस्नेल्यान्डमध्ये पर्छ । त्यहाँको प्रविधि बजारमा थ्रीडी प्रिन्टिङ, ह्युमनाइड रोबोट, स्मार्ट घर प्रविधिहरू देखेँ, प्लेन राइडिङ, सार्वजनिक शौचालयमा स्वचालित सफाइ, ट्राफिक प्रणालीमा सेन्सरयुक्त निर्देशन, स्कुल र अफिसमा स्मार्ट कार्ड प्रणालीले काम सजिलो बनाएको छ । जापानमा प्रयोग भएको प्रविधिमा समावेशिता देख्न सकिन्छ । वृद्धवृद्धाको सेवा गर्ने रोबोट, दृष्टिविहीनहरूका लागि आवाज दिने सिग्नल र अपांगमैत्री पूर्वाधारले देखाउँछ कि प्रविधि मानवीय सेवाका लागि हो ।

जापानको आर्थिक पाटो भनेकै यसको औद्योगिक क्षमता हो । नागरिकले मेड इन जापान लेखेका सामग्रीहरू सम्मानपूर्वक उपयोग गर्छन्, आफ्नो देशको उत्पादन भनेर गौरव गर्छन् । टोयोटा, होन्डा, निकोन, क्यानन, यामाहा यी ब्रान्डहरूले विश्वभर जापानी गुणस्तरको सन्देश फैलाएका छन् । मैले टोयोटा मोटर कम्पनीको संग्रहालयमा हेर्दा देखेँ कि कसरी साना सुधारहरूले ठूलो उत्पादन ल्याउँछ । उनीहरूको काइजन र जस्ट इन टाइम सिद्धान्तले उत्पादन लागत घटाउँछ, गुणस्तर बढाउँछ । कुनै पनि कुरा बनाउँदा हातले मात्र बनाउँदैनन्, त्यसमा आत्मा हालेर बनाउँछन् । हरेक साना उद्योगले समेत विश्वस्तरीय गुणस्तरीय सामग्री उत्पादन गर्छन् ।

भ्रमणकै अवधिमा जापानको टोकियो सहरको समुद्रि तट क्षेत्रमा सुनामी आउँदै छ भनेर पूर्वसूचना जारी भयो । सुनामीका कारणले कहीँ पनि मानवीय क्षति भएन । सुनामीपछि भूकम्प आउन सक्छ भनेर सबैलाई सचेत र पूर्वसूचना जारी गरिएको थियो । जापानको भवन कोड, आपत्कालीन अभ्यास, सूचना प्रणाली अत्यन्तै प्रभावकारी छन् ।

जापानीहरूको एउटा प्रमुख विशेषता हो—विनम्रता । झुक्नु उनीहरूको आदर व्यक्त गर्ने शैली हो । ग्राहक, अतिथि, शिक्षक, ज्येष्ठ नागरिक सबैप्रति उनीहरूको व्यवहार प्रशंसनीय छ ।

जापान अत्यन्तै सफा देश हो । मैले टोकियोको पार्क, गार्डेन, सडक सबै ठाउँमा हरियाली र फोहोर व्यवस्थापनको उत्कृष्ट उदाहरण देखेँ । फोहोर छुट्ट्याएर जम्मा गर्ने, पुनःप्रयोग गर्ने र कम्पोस्ट बनाउने प्रणाली अत्यन्त प्रभावकारी छ । सार्वजनिक ठाउँमा समेत फोहोर फाल्ने व्यवस्था गरेको छैन । आफ्नो फोहोर आफ्नै घरमा लगेर व्यवस्थित गरेर विसर्जन गर्नु भन्ने सन्देश हो यो ।

टोकियोको अर्को रोचक स्थानचाहिँ मलाई सिबुया स्टेसननजिकैको सिबुया क्रस लाग्यो । यो क्रस (जेब्रा क्रस)बाट दैनिक २४ लाख मानिसले बाटो काट्दा रहेछन् । एकचोटि बाटो काट्दा २५ सय मानिसले बाटो काट्दा रहेछन् । यो निकै अनौठो दृश्य हो । अझ मलाई थप रोचक यही क्रसनजिकै रहेको ‘हाचिको’ (कुकुर)को मूर्तिको कथा लाग्यो । १९२३ मा जन्मिएको हाचिको हरेक दिन आफ्ना मालिक प्राध्यापक उएनो हिदेसाबुरोलाई छाड्न सिबुया स्टेसनसम्म आउँथ्यो । हाचिको दुई वर्षको हुँदा एक दिन उसको मालिकको पढाउँदा पढाउँदै मृत्यु भयो । त्यो दिन पनि हाचिको मालिकलाई लिन स्टेसन गयो तर निराश भएर फर्किनुपर्‍यो । त्यो दिनपछि हरेक दिन हाचिको स्टेसन गयो अनि निराश भएर फर्कियो । यसरी लगातार प्रत्येक दिन नौ वर्ष नौ महिना पन्ध्र दिन स्टेसनमा आफ्नो मालिकलाई लिन आएर माया अनि ममताको अद्भुत उदाहरण प्रस्तुत गर्‍यो । हाचिकोकै सम्झनामा अहिले त्यही स्टेसनबाहिर उसको मूर्ति छ । त्यो मूर्तिसँग फोटो खिचाउने मानिसहरूको भीड छ ।

जापानले आफ्नो सांस्कृतिक सम्पदा, शुद्धता र सुव्यवस्था प्रयोग गरेर पर्यटनलाई विकासको आधार बनाएको छ । पर्यटन स्थलहरू एकदमै व्यवस्थित र संरक्षित छन् । क्योटोका १५ सय वर्षभन्दा पुराना प्राचीन मन्दिर र परम्परागत वास्तुकला, हिउँ पर्व, स्किइङ र प्राकृतिक दृश्य तथा माउन्ट फुजीको धार्मिक तथा साहसिक पर्यटन हेर्न र सिक्नलायक ठाउँहरू रहेछन् । सन् २०२० मा झन्डै ४ करोड विदेशी पर्यटकले जापान भ्रमण गरेका रहेछन् ।

आफ्नो भविष्य खोज्न झन्डै २ दशकअघि जापान पुगेको काकाको छोरो मैले किनमेल गर्न गएको एउटा व्यापारिक मलमै भेट्न आयो । उसको कामका बारेमा सोधपुछ गर्दा बिहान १० बजे देखि साँझ ६ बजेसम्ममा बीचमा खाना-खाजा खाने समय छोडेर घडीको सुईसँगै मेसिनजस्तै चल्नुपर्ने बतायो । कामको थकान महसुस हुन नपाउने गरी काम गर्नुपर्ने रहेछ ।

म जापान पुगेर फर्किंदा केवल तस्बिर वा स्मृति लिएर फर्किएको छैन, मैले एक विकसित राष्ट्रको आत्मा अनुभव गरेर आएको छु । जापानले देखाएको बाटोबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । विकास भन्नाले केवल आर्थिक प्रगति होइन, सामाजिक मूल्य, शिक्षा, अनुशासन, नवप्रवर्तन र नागरिक चेतनाको समुचित संयोजन हो । संकटबाट उठेर नयाँ यात्रा सुरु गर्न सकिने रहेछ । आत्मसम्मान, कर्तव्य र दूरदृष्टिले राष्ट्र निर्माण हुन्छ । सहकार्य र दीर्घकालीन सोचले मात्र दिगो विकास सम्भव हुन्छ । मलाई लागेको छ, जापानको विकास विश्वका सबै राष्ट्रका लागि प्रेरणाको स्रोत हो ।

प्रतिक्रिया दिनुहोस्