Logo

एउटै हृतपिण्डका दुई असम हिस्सा

विश्वका झन्डै २ सय ५ वटा अल्पविकसित, विकासोन्मुख, विकासशील र विकसित मुलुकका माझ हामी पनि निकट भविष्यमा विकासशील मुलुकको परिचय लिएर उदाउँदै छौँ । हामीसँग भएका विकासका तमाम उन्नत मानकहरूले गर्दा हाम्रो पहिचान पनि एउटा उन्नत राष्ट्रका रूपमा फड्को मार्दै छ । निश्चित रूपमा देश–विदेशमा छरिएर बसेका लाखौँ लाख सोझा–साझा नेपालीहरूका इन्द्रधनुषी आशा, आकांक्षा तथा अपेक्षाहरू (एक्सपेक्टेसन्स) स्वतःस्फूर्त तरिकाले पर्यटकीय राजधानी पोखराको धम्पुस वा धनकुटातिरको मिल्के डाँडामा लटरम्म फुल्ने रंग–बिरंगी लालीगुराँसझैँ बनेर फक्रिरहेका छन् ।

भारी बोक्दा आफ्नो पिठ्युँमा भारी अड्याएर पाट वा चोयाबाट बनेको थाप्लोमा लाउने चेप्टो पातो भएको नाम्लोभित्र अटाएको वैदेशिक ऋणको उक्लिँदो अंकगणित थाहै नपाई मक्ख पर्ने हामी नेपालीहरूको गौरव बढेको छ । नेपालमा करिब ६० हजारभन्दा बढीले आफ्नो जीविका भारी बोकेर चलाउँछन् । भारतको उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, कोलकाता, मुम्बई, चेन्नाईजस्ता ठूला सहरहरूमा नेपाली कुल्ली–लोडर भएर काम गर्ने धेरै छन् । भारतमा मौसमी श्रम गर्ने र भरिया भएर काम गर्ने नेपालीहरू डेढदेखि २ लाखसम्म रहने गरेको अपुष्ट स्रोतले बताउँछ । अर्थात्, गरिब नेपालीहरूको संख्या उल्लेख्य छ ।

नेपाल लिभिङ स्ट्यान्डर्ड सर्भेका अनुसार अनुमानित ५.९ लाख वा ६ लाख नेपालीहरू गरिबीको रेखामुनि बाँचेका छन् । नेपाल सरकारको ज्येष्ठ नागरिक सुरक्षा भत्ताले गर्दा गाउँघरका वृद्ध गरिब आमा–बाहरूलाई ठूलै राहत पुगेको छ । मान्नैपर्छ, तैपनि अधिकांश पालिकामा भारतीय सरकारी सेवा र नेपालको निजामती वा सोसरहका सेवाबाट अवकाश प्राप्तहरूले समेत सामाजिक सुरक्षा भत्ता लिने गरेको वा पालिकाहरूले नै मृत व्यक्तिको नामको भत्ता पचाउने गरेको दृष्टान्त पनि पाइन्छ । नेपाल सरकार यस्ता कुराहरूको अनुगमन गर्न सक्तैन तर सुशासनका गफ पनि फलाक्न छोड्दैन ।

हामी विकासशील राष्ट्र त भयौँ रे, तर सुदूरपश्चिमका स–साना बालबालिका अझै पनि जोखिमपूर्ण तुइन तरेर विद्यालय जाने गर्छन् । भिरालो राजमार्ग वा मुख्य मार्गहरूमा निरन्तर भइरहने पहिरो, भूक्षय र प्राविधिक कारणहरूले गर्दा घटिरहने अनपेक्षित दुर्घटना एवम् जनधनको नियमित क्षति, देशभित्रका खोलानालाहरूले बगाएर भत्कने पुल र पाटीहरू, सुनौला धानको भण्डार भनेर चिनिने तराई–मधेसमा घट्ने खडेरीका घटनाहरू, पहाडी भेगमा काम गर्ने हातको अभावमा बाँझो लडिरहेका गरा र खेतहरू, अझै कहीँकहीँ त करोडौँको लागतमा निर्मित पानीबिनाका पक्की कुलोहरू, कालोपत्रे गरिएका सडकहरू दुई–चार दिनमै खाडल परेर सवारी साधन गुड्ने त कहाँ हो कहाँ, मानिस पनि हिँड्न नसक्ने गरी हिलाम्मे बन्ने, कहीँ कुनै ठाउँमा विकास निर्माणको कुनै परियोजना स्वीकृत भयो भने स्थानीय हुनेखाने र नेताहरूले मिलेर— वन सखाप ! जनचेतनाको बढ्दो संकेतका रूपमा सहर–बजारहरू सफासुग्घर त देखिन्छन्, तर थाहा नपाउने गरी वृद्धि हुँदै गइरहेको वायु प्रदूषण र जलवायु परिवर्तनका प्रकोपका कारण अनेकौँ हिमाली क्षेत्रले समेत पर्यटनका लागि अवसर गुमाउँदै गइरहेको सत्य–तथ्यलाई कहाँ लुकाउने ? हिमालहरू जलवायु परिवर्तनका कारण नाङ्गा चट्टानमा परिणत हुँदै गइरहेका छन् । हिमालका हिमनदीछेउछाउका कान्लाहरूबाट नाली बनेर अविरल बग्न बाध्य छन् ।

सगरमाथामा आरोहीहरूको बढ्दो चाप घटाउन सरकारले अनेकौँ हिमाललाई निःशुल्क चढ्न पाउने बनाइदिएको छ । खुम्बु क्षेत्रमा रहेका हिमाली सम्पदाहरू त्यहाँका बासिन्दाको जैविक सम्पदाबाट जैव–संस्कृति (बायो–कल्चर) बन्दै गइरहेको छ । यो एउटा सुखद र खुसीको विषय हो । ती बासिन्दाहरूले पर्यटक र आरोहीहरूका निम्ति गुम्बा–गुम्बामा गई रंग–बिरंगी लुङ्ता (गुम्बे झन्डा) टाँग्दै आफ्ना इष्टदेवहरूको पूजा गर्छन्, नाच्छन्, गाउँछन् र सबैको भलो होस् भन्ने कामना गर्छन् । परदेशमा रोजगारी गरेर युवाहरूले स्वदेशमा रकम विप्रेषण गरेकाले चुस्त रहेको देश यहाँका प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक विविधताले आकर्षित भएर वर्षैपिच्छे नेपाल भ्रमणमा आउने पर्यटकहरूले खर्च गरेको रकमबाट एनकेन अर्थतन्त्रको पाङ्ग्रा घुम्ने गरेको देश विस्तारै कस्तो भविष्यतिर लम्कँदै छ, त्यो अनिर्वचनीय वा अकथ्य छ ।

जनस्तरमा सरकारको धेरै आलोचना भयो भन्दैमा जनताको फोन वार्तासमेत रेकर्ड गर्ने, सामाजिक सञ्जालहरूमा प्रतिबन्धात्मक नियम र जनस्तरमा कानुनहरूको निर्माण गरी लागू गर्ने र सिंहदरबारमा राज गर्ने सबै सधैँ पानीभित्रको ओभानै भएर बस्ने ? न्याय परिषद्का निर्णयहरू मन्त्रिपरिषद्बाट अनिवार्य रूपले अनुमोदन गरिनुपर्ने ? संविधानले नै छुट्ट्याएर परिभाषित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सहयोग र समन्वय हुनुपर्छ नै, तर आफ्नो स्वायत्तता गुमाएर होइन । त्यसले शासन–प्रणाली अथवा सरकारलाई ‘अथोरिटेरियनिज्म’ तर्फ डोर्‍याउन मद्दत पुर्‍याउने पक्का छ । हिजोआज घरघरमै चर्चामा आइरहने विषय हो, सरकारको नेतृत्वले मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीबाट नेपालका प्रम केपी ओलीलाई पठाइएको दुईदिने भारत (बोधगया) भ्रमणको निमन्त्रणा, प्रधानमन्त्रीलगायत उहाँको टोलीले भदौ ३१ र असोज १ गते भारतको सद्भावना भिजिट गर्नेछन् । मन्त्रालय र सचिवालयहरू प्रधानमन्त्रीको भ्रमणलाई सरल र सहज बनाउन गृहकार्यमा जुटिरहेका होलान् ।

द्विपक्षीय वार्ताका लागि एजेन्डाहरू निर्माण भइरहेका होलान् । एउटा विकासशील देशको सरकार प्रमुख छिमेकी शक्तिशाली देशका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जाँदा आफ्नो देशभित्रका तमाम देशभक्त राजनीतिक दलहरूले सडक र सदन दुवैमा जोडदार आवाज उठाउँदै आइरहेका आवाजलाई समेत प्रमले त्यहाँ अवश्य सुइँको दिनेछन् भन्ने देशवासीहरूको मनसाय रहनु अत्यन्तै स्वाभाविक कुरो हो ।

नेपाली जाति आफ्नो वीरता र स्वाभिमानका लागि विश्वविख्यात छ । नेपाल कहिल्यै कसैको उपनिवेश न रह्यो, न रहन्छ । छिमेकी मुलुकसँग हाम्रो सम्बन्ध पञ्चशीलका आधारमा (एकअर्काको प्रभुत्व र क्षेत्रीय अखण्डताको सम्मान, एकअर्कामाथि आक्रमण नगर्ने, एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हितको सोच राख्ने, शान्तिपूर्ण सहअस्तित्वको पालना गर्ने) बनेको छ । भारतसँगको हाम्रो मैत्रीपूर्ण पारिवारिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध पञ्चशीलकै सिद्धान्तहरूमा आधारित छन् ।

यस्तो सम्बन्ध पारस्परिक वैमनस्यता र क्रूरतम युद्धले नथाकेको आजको विश्वकै लागि एउटा उदाहरण पनि हो । एउटा विशेष कुरो नेपाली मनहरूलाई छोइराखेको के छ भने यसपटक प्रम मोदीले हाम्रा प्रमलाई कुकुर उपहारमा दिने रे ! यसभन्दा अघि तत्कालीन नेपालका प्रम प्रचण्डलाई १५ वटा मुर्रा भैँसी उपहार टक्र्याएका थिए मोदीजीले । यसपालि कुकुर टक्र्याउनुका पछाडि के विशेष होला, यहाँका जनता अत्यन्तै जिज्ञासु भएको देखिएको छ । कमरेड अध्यक्ष प्रचण्डलाई त मोदीजीले ठाडो टीको लगाइदिएर, गेरुवस्त्र पहिराएर हिन्दूस्तानका एकसे एक मठमन्दिरहरूको अवलोकनसमेत गराएका थिए । यसपालिको प्रम ओलीको कार्यक्रम कस्तो बनेको छ ? केही थाहा हुन सकेन, तापनि उहाँलाई कुकुर उपहार दिनुभन्दा बरु सीमाक्षेत्रमा अतिक्रमित नेपाली भू–भाग फिर्ता दिएर पठाइदिए हामी नेपाली धेरै खुसी हुने थियौँ ।

हाम्रा भारतीय समकक्षी बन्धुहरूले वर्षौं पहिले दुवै देशका प्रख्यात विद्वान् व्यक्तिहरूको समूह इपिजी बनाएर दुवै देशको सम्बन्धलाई इस्पातिलो बनाउँदै जाने संकल्प गरेका थिए । समूह बन्यो पनि, समूहले प्रतिवेदन पनि तयार पार्‍यो । तर, त्यो प्रतिवेदन नेपालमा भ्रष्टहरूको फाइल खोल्न कुनै माइकालालको आँट नभएझैँ त्यहाँ पनि भारतीय संसद्भित्रको कुनै कोठामा धूलो सँगालेर बसेको होला । त्यता पनि हाम्रो सरकारको ध्यान जाओस् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रा दुवै देशका वायुसेवाहरूको उडानलाई नियमित गराउन सकियोस् ! निःसन्देह भारतले नेपालप्रति लाएका गुणहरू अद्वितीय छन् । विकास–निर्माणदेखि देशको अर्थतन्त्रलाई अगाडि बढाउन विगतमा भएका भारतीय सहकार्य र लगानी अविस्मरणीय रहेको जिकिर गरिराख्नुपर्ने विषय होइन । तथापि, इतिहास साक्षी छ, दुई देशका सरकार प्रमुखहरूको पारस्परिक भेटघाटको अवसरमा नेपाल सानो मुलुक भएकाले यहाँका उद्यमी, व्यापारी एवं सर्वसाधारण जनताले आफ्ना हरेक प्रयासमा भारतको सहयोग, समर्थन र सद्भावना पाइरहने विषयलाई ढुक्क भएर लिने गर्छन् ।

नेपाल र भारतमा माकुराको जालोझैँ विस्तारित माफिया (आपराधिक संगठन) को सञ्जालले गर्दा भारतजस्तो विशाल शक्तिराष्ट्रसँग गाँसिएको भए तापनि नेपालका कैयौँ भाग अझै प्राक्कालीन बन्दै जान बाध्य भइरहेका छन् । बेला–बेला हामी दुवैले सहिष्णुतासमेत गुमाउनु नपरेको होइन । यद्यपि, हाम्रा सनातनी व्यवहार, आचरण र साझा संस्कारहरूले गर्दा, हाम्रा प्राचीन आस्था, संस्कृति र कला–साहित्यका परम्पराहरूले गर्दा, परिस्थितिवश झेल्नुपरेका हाम्रा कैयौँ घामछायाका कारणले गर्दा हामी दुनियाँको रफ्तारमा एकनासले हिँड्न असमर्थ भयौँ । तिमी आकाश छेड्दै अन्तरिक्षमा पुग्यौँ— हामी अझै टोलाएको अवस्थामा रहेको अनुभूति गरिरहेका छौँ । हामीले युगौँदेखि खिया लाग्न नदिई सुरक्षित राखेका हाम्रा प्राचीन प्रागैतिहासिक, वैदिक, पौराणिक र सांस्कृतिक धरोहरलाई कुनै भेदभावबिना जीवन्त राख्न निरन्तर प्रयास गरिराखेका छौं । नबिर्सौं, नेपाल–भारत सम्बन्ध दुई देशबीचको सम्बन्ध मात्र होइन, यी दुई देश आदिकालदेखि एउटै हृतपिण्डका दुई असम हिस्साहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्