वित्तीय साक्षरताबाट आर्थिक समृद्धि

वित्तीय साक्षरता भनेको सामान्य अर्थमा आम्दानी, खर्च, बचत र लगानी तथा कर्जालाई व्यवस्थित ढङ्गबाट व्यवस्थापन गर्नु हो । नेपालको परिदृश्यमा हेर्ने हो भने सीमित मानिसमा मात्रै वित्तीय साक्षरता अथवा ज्ञान रहेको पाइन्छ । ज्ञान भएर पनि कतिपयले यसलाई व्यवहारमा लागू गर्न सकिरहेका छैनन् । ग्रामीण क्षेत्रको तुलनामा सहरबजारमा धेरै मानिसमा वित्तीय ज्ञान रहेको पाइन्छ, तर ग्रामीण क्षेत्रमा त शून्य नै छ भन्दा पनि फरक पर्दैन ।
ग्रामीण क्षेत्रका धेरै मानिसमा आम्दानी र खर्च साथै बचत र लगानीसम्बन्धी ज्ञान नहुँदा विकासका लागि आवश्यक हुने पुंजी त्यत्तिकै खेर गइरहेको छ भने उनीहरूको आफ्नै आर्थिक उन्नति र राष्ट्रको आर्थिक समृद्धिमा योगदानसमेत पुग्न सकिरहेको छैन । खर्च गरेर बा“की रहेको बचतलाईसमेत विलासी वस्तुहरूमा खर्च गरिरहेका छन् । सेयर बजारका साथै अन्य क्षेत्रमा लगानीसम्बन्धी ज्ञान नहुनाले पनि अलि–अलि भएको बचत परिचालन गर्न सकिरहेका छैनन् । खर्च गर्दा कुन क्षेत्रमा गर्ने ? कस्ता वस्तुहरूमा खर्च गर्ने ? फजुल खर्चलाई कसरी नियन्त्रण गर्ने ? यस्तो ज्ञानको अभावले गर्दा देशका ग्रामीण क्षेत्रका साथै सहरी क्षेत्रका निम्न वर्ग, निम्न मध्यम वर्ग र मध्यम वर्गका मानिसहरूको जीवनस्तर माथि उठ्न सकिरहेको छैन । खर्च गरेर बा“की रहेको बचत भएको स्रोतलाई समेत लगानी सम्बन्धी सामान्य ज्ञानसमेत नहुँदा त्यत्तिकै अनुत्पादक क्षेत्रमा लगानी भइरहेको छ वा त्यत्तिकै थन्केर बसिरहेको छ ।
ग्रामीण क्षेत्रका जो अधिकांश १९ देखि लगभग ५० वर्षका मानिसहरू वैदेशिक रोजगारीमा छन्, वैदेशिक रोजगारीबाट प्राप्त भएको रेमिट्यान्सले त देशलाई फाइदा नै पुगेको छ, तर वैदेशिक रोजगारीबाट घरपरिवारमा प्राप्त भएको रकमलाई कहा“ लगानी गर्ने ? लगानीका क्षेत्रहरू कुन–कुन हुन् ? कुन क्षेत्रमा लगानी गर्दा दीर्घकालीन रूपमा फाइदा हुन्छ ? आफूसँग भएको पु“जीलाई कसरी परिचालन गरी फाइदा लिन सकिन्छ ? लगानी गर्न न्यूनतम कति पु“जी आवश्यक पर्छ ? वित्तीय क्षेत्रसम्बन्धी यस्ता धेरै ज्ञान हुनु सबैका लागि आवश्यक छ । जसरी विदेश जानुभन्दा पहिला आफूले गर्ने कामसम्बन्धी ज्ञान र सीप सिकेर गए गतिलै काम र राम्रै दाम लिन सकिन्छ, त्यसरी नै विदेश जानुअघि आफू र आफ्नो परिवारले वित्तीय साक्षरतासम्बन्धी ज्ञान लिन सकेको खण्डमा कुन क्षेत्रमा लगानी गर्ने भन्ने चिन्ता हराउनुका साथै विदेशमा बगाएको पसिनाको सदुपयोग भई कुनै दिन पनि पश्चात्ताप गर्नुपर्ने छैन भन्ने जानकारी हुनु आवश्यक छ । त्यसैले लगानीका क्षेत्रहरू पहिचान गर्नसमेत वित्तीय ज्ञानको आवश्यकता पर्छ ।
विदेशबाट भएको आम्दानी र ग्रामीण क्षेत्रका जनताले कृषिबाट आम्दानी गरेको केही रकमलाई कुन क्षेत्रमा लगानी गर्नुहुन्छ नि भनी सोध्यो भने खासै उत्तर छैन । कसै–कसैले त लगानी भनेको के हो भनी सोध्ने अवस्थासमेत रहेको छ । कसै–कसैले भन्नुहुन्छ— घडेरी किनी घर बनाउने । कसैले भन्नुहुन्छ— २१ इन्चको टेलिभिजन छ, ४० इन्चको एलइडी छोराछोरीले रहर गरिरहेका छन्, १२५ सीसीको मोटरसाइकल बेची २५० सीसीको किन्ने, महँगो मोबाइल किन्ने, सुन खरिद गर्ने । यस्तै–यस्तै प्रकारका उत्तर आउने गर्छ । के यिनै मात्र हुन त लगानीका क्षेत्र ? पक्कै होइनन् । त्यसैले ग्रामीण क्षेत्रका जनता साथै सहरी क्षेत्रमा रहेका निम्न वर्ग र मध्यम वर्गका जनतालाई विलासी वस्तुमा भएको खर्च लगानी होइन । उनीहरूले लगानीका क्षेत्र र खर्चका क्षेत्र छुट्ट्याउन नसक्नु साथै आफूस“ग भएको सानो पुँजीलाई पनि सेयरको माध्यमबाट कसरी लगानी गर्न सकिन्छ, फजुल खर्चलाई कसरी नियन्त्रण गर्ने र दीर्घकालीन रूपमा लाभ हुने क्षेत्रहरू पत्ता लगाई कसरी लगानी गर्ने भन्ने बचत र लगानीसम्बन्धी ज्ञान हुनु आवश्यक छ ।
वित्तीय साक्षरताको माध्यमबाट खर्च न्यूनीकरण गर्न सकिन्छ र बचत वृद्धि गरी लगानीका क्षेत्रहरूमा बढाउन सकिन्छ, जसले गर्दा ग्रामीण क्षेत्रका साथै वैदेशिक रोजगारीबाट प्राप्त भएको रकम उत्पादनशील क्षेत्रमा उपयोग गर्न सकिन्छ । उद्योगधन्दा, विद्युत्, पर्यटनका क्षेत्रहरूमा लगानी वृद्धी भई त्यस क्षेत्रको विकास हुन सक्छ । विकासका लागि आवश्यक पर्ने पु“जीको स्रोत आफ्नै देशबाट थोरै भए पनि परिपूर्ति हुन सक्छ । स्वदेशी पुँजीको परिचालन हुनु भनेको देश समृद्धिको बाटोमा लम्कनु हो, जसको प्रतिफलस्वरूप रोजगारीका अवसरहरू स्वदेशमै सिर्जना हुने छ, जसको परिणामस्वरूप वैदेशिक रोजगारका लागि विदेश जानेकोहरूको संख्या क्रमशः घट्दै जानेछ भने अकातिर फजुल खर्च र विलासी वस्तुहरूमा हुने खर्चमा नियन्त्रण आई व्यापारघाटालाई क्रमशः घटाउँदै लैजान सकिनेछ । वित्तीय साक्षरताको माध्यमबाट व्यापारघाटालाई न्यूनीकरण गर्दा देशबाट बिदेसिने वैदेशिक मुद्रालाई पनि सञ्चित गर्न सकिन्छ, जसलाई विकासका लागि आवश्यक हुने पुँजीगत वस्तुमा लगानी गरी दिगो विकास गर्न सकिन्छ । ग्रामीण क्षेत्रका सहरीक्षेत्रका निम्न आयस्थर भएका लगानीकर्ताहरूलाई समेत समेटी लगानीको मूलधारमा ल्यान सकिन्छ । त्यसबाट आउने लाभांशले परिवार सञ्चालन गर्न र छोराछोरीको शिक्षादीक्षामा समेत सहयोग हुन सक्छ भने भविष्यमा कुनै पनि बेला पर्न सक्ने आर्थिक समस्या सजिलै टार्न सक्छन् ।
वित्तीय साक्षरतालाई आर्थिक समृद्धिको आधार बनाउन सकिन्छ, त्यसैले सरकार, विभिन्न गैरसरकारी संघसंस्थाहरूले पनि आफ्ना क्षेत्रका सदस्यहरूलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान दिनु र लिनु आवश्यक छ । एउटा सामान्य किसानले पनि वर्ष दिनभरिमा आफ्नो खर्च र आम्दानीको म्युुचुअलबाट वार्षिक कति बचत हुन्छ र यसलाई कुन क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने ज्ञान प्राप्त गर्न सक्छ । त्यसैले वित्तीय साक्षरतालाई आर्थिक समृद्धिको आधार हो भन्दा दुईमत नहोला । वित्तीय साक्षरताको माध्यमबाट पुँजी निर्माण गरी आर्थिक विकासको मेरुदण्ड बनाउन सबैले योगदान दिन सकेको खण्डमा हामी नेपालीको शिर सगरमाथाझैं आर्थिक रूपमा उच्च रहन सक्छ । अब पनि हामीले वित्तीय साक्षरताका लागि ढिला गर्ने समय छैन । राजनीतिक दलहरूले लिएको आर्थिक समृद्धिको नारालाई मूर्तरूप दिन पनि वित्तीय साक्षरतालाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।
सरोज बराल