Logo

विकास सहकार्यको भविष्य

विश्वभरिका विकास संस्थाहरूले नयाँ यथार्थको सामना गरिरहेका छन्, त्यो हो— सार्वजनिक वित्तीय सहयोग घट्दै छ तर समुदायहरूको आवश्यकता अझ जटिल बन्दै गएको छ । विकास साझेदार संस्थाहरूका लागि एकातिर यो चुनौती हो भने अर्कातिर यो एउटा अवसर पनि हो । विकास साझेदार संस्थाहरूले नयाँ परिस्थितिमा महत्वाकांक्षा घटाउनुको सट्टा यसलाई सदुपयोग गरेर आफ्नो दृष्टिकोणलाई अझ स्पष्ट बनाउने, प्रभावलाई गहिरो बनाउने र दिगो तथा स्थानीय नेतृत्वमा आधारित विकासमा आफ्नो प्रतिबद्धता अझ बलियो बनाउने अवसरका रूपमा लिनुपर्छ ।

विकास साझेदार संस्थाहरूको काम एउटा सरल तर शक्तिशाली सिद्धान्तमा आधारित छ, त्यो हो— विकास स्थानीय तहबाटै अर्थात् भित्रबाटै नेतृत्व गरिनुपर्छ । नेपाललगायत अफ्रिकी मुलुकको लामो अनुभव र हालैको मध्यपूर्व क्षेत्रको संलग्नताले विकास साझेदार संस्थाहरूलाई पाठ सिकाएको छ कि साँच्चिकै विकासको कामको प्रभाव बजेटको आकारले होइन, स्थानीय स्वामित्वको बलले नापिन्छ ।

यो दृष्टिकोण नाइजरमा सफलतापूर्वक व्यवहारमा लागू भएको छ, जहाँ विकास साझेदार संस्थाहरूले युवाहरूका लागि व्यावसायिक मार्गदर्शन सेवा डिजाइन र एकीकृत गर्न सहयोग गरेका छन् । पूर्वनिर्धारित मोडेल थोपर्नुको सट्टा त्यहाँ स्थानीय सरकार, शिक्षण संस्था र तालिम केन्द्रहरू मिलेर साँच्चिकै आवश्यकतामा आधारित सेवा प्रवाह गरेका छन् । सन् २०१८ देखि संस्थागत रूपमा स्थापित यस अवधारणाले आज पनि देशभरि युवाहरूलाई कार्यक्रमले समेटेको छ । यो एउटा प्रमाण हो कि स्थानीय साझेदारहरूसँग मिलेर बनाइएका समाधानहरू दिगो र टिकाउ हुन्छन् ।

विकासका दृष्टिकोणले जुन क्षेत्र पछाडि परेको छ, जुन स्थानमा अस्थिरता र संकट दिनचर्याको हिस्सा बनेका छन्, विकास साझेदार संस्थाहरूले अल्पकालीन राहत मात्र होइन, दीर्घकालीन विकासमार्फत आवश्यकतालाई सम्बोधन गर्नुपर्छ । विकास साझेदार संस्थाहरूको कार्य आपत्कालीन सहयोगलाई सीप विकास, रोजगारी सिर्जना र प्रणाली सुदृढीकरणसँग जोड्नुपर्छ, किनभने सहनशक्ति केवल तात्कालिक सहयोगबाट होइन, समुदायले पुनर्निर्माण गर्न सक्ने, अनुकूल हुन सक्ने र आत्मनिर्भर बन्न सक्ने क्षमताबाट आउँछ ।

विकास परियोजनाहरूले यही दृष्टिकोणलाई कार्यान्वयनमा ल्याउनु जरुरी छ । उदाहरणका लागि युवाहरूले आफ्नो सार्वजनिक विद्यालयको पुनर्निर्माण आफैँ गर्नुपर्छ, त्यो पनि आफ्नै सक्रियता र समुदाय–केन्द्रित पहलका रूपमा । गम्भीर आर्थिक र संस्थागत संकटबीच पनि, परियोजनाले युवाहरूलाई सीप मात्र होइन, उद्देश्य र एकताको भावना पनि प्रदान गर्नुपर्छ । युवाहरूले आफ्नो सार्वजनिक विद्यालयको पुनर्निर्माण आफैँ गर्दा यो केवल मर्मत मात्र होइन, यो संकटका बाबजुद हामी उठ्न सक्छौँ, पुनर्निर्माण गर्न सक्छौँ र त्यो पनि सँगै मिलेर गर्न सक्छौँ भन्ने भावना विकसित हुनुपर्छ ।

विकास साझेदार संस्थाहरूले आफ्नो किसिमले आफूलाई सजिलो हुने किसिमले काम गर्नु हुँदैन । कार्यक्रममा स्थानीय साझेदारहरूलाई जोड्ने, राष्ट्रिय रणनीतिसँग समन्वय गर्ने र कार्यक्रमहरूबीच ज्ञान र उपकरण सार्वजनिक गर्नुपर्छ । यस्तो बहुआयामिक कार्य¬–दृष्टिकोणले केवल अस्थायी समाधान होइन, स्थायित्व, समावेशिता र दीर्घकालीन प्रभावतर्फको बाटो तयार गर्छ ।

विश्वभरि नै सार्वजनिक वित्तीय सहायता घट्दै जाँदा नयाँ प्रकारका साझेदारहरू सक्रिय हुँदैनन्, जसले सामाजिक उद्देश्यलाई आर्थिक सान्दर्भिकतासँग जोड्ने इच्छा राख्छन्, अर्थात् सामाजिक कामलाई आर्थिक उद्देश्यसँग जोड्छन् । विकास साझेदार संस्थाहरू यस्ता साझेदारहरूको प्रयासलाई मार्गदर्शन गर्न र जोड्न सक्षम हुनुपर्छ । बलियो प्राविधिक सीप र स्थानीय सन्दर्भको गहिरो बुझाइका साथ, विकास साझेदार संस्थाहरूले समुदायको आवश्यकतासँग मेल खाने र साझेदारको अपेक्षालाई पनि सम्बोधन गर्ने समाधानहरू विकास गर्नुपर्छ ।

विकास साझेदार संस्थाहरूले कुनै तालिम कार्यक्रमको योजना गर्छन् भने तालिमले ग्रामीण जनसमुदायको नेतृत्व विकास र जीवन जिउने कलामा परिवर्तन आउनु जरुरी छ । विकास साझेदार संस्थाहरूले गर्ने सहयोगले स्थानीय प्रयाससँग हातेमालो गर्नुपर्छ, विकास साझेदार संस्थाहरूको सहयोगले परिवर्तन त्यतिबेला सम्भव हुन्छ जब लगानी कहाँ गर्ने भन्ने लाभग्राहीले निर्णय गर्छ ।

थोरै स्रोतबाट धेरै काम गर्नुको अर्थ लक्ष्य घटाउनु होइन । यसको अर्थ हो, जे काम गरिन्छ त्यसमा ध्यान दिनु, स्मार्ट साझेदारी बनाउनु र स्थानीय समुदायको क्षमतालाई विश्वास गर्नु । विकास सहकार्यको भविष्य त्यस्ता समाधानहरू सह–निर्माणमा निहित छ, जुन स्थानीय सन्दर्भमा जन्मेका हुन्, स्थानीय नेतृत्वमा अगाडि बढ्ने हुन् र दिगो हुनका लागि बनाइएका हुन् ।

विकास साझेदार संस्थाहरू यस दृष्टिकोणमा प्रतिबद्ध हुनु जरुरी छ । अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप परिवर्तन भइरहँदा स्थानीय रूपमा विकास साझेदार संस्थाहरू केवल अनुकूल भइरहेका मात्र छैन, नयाँ बाटो निर्माण गर्न सघाइरहेका छन्, जुन अझ समावेशी, अझ सहनशील र अझ प्रभावकारी हुनेछ भन्ने विश्वास सृजना गर्ने सक्ने हुनुपर्छ ।

विकास सहकार्यको भविष्य परम्परागत दातामूलक सहयोगबाट साझेदारीमा आधारित, दिगो र स्थानीय नेतृत्वमा आधारित सहकार्यतर्फ अगाडि बढ्दै छ । आजको विश्वमा विभिन्न उत्कृष्ट मोडल र सिद्धान्तहरू विकसित भएका छन्, जसले विकास प्रक्रिया थप समावेशी, प्रभावकारी र परिणाममुखी बनाउँछन् ।

सबैभन्दा पहिले, दक्षिण–दक्षिण सहयोग एक महत्वपूर्ण मोडल हो जहाँ विकासशील राष्ट्रहरूबीच सीप, प्रविधि र अनुभवको आदानप्रदान गरिन्छ । यस्तै, त्रिपक्षीय सहयोगमा तीन पक्षको सहकार्य हुन्छ, विकासशील देश, दाता देश र अन्तर्राष्ट्रिय साझेदार । यसले स्रोत र ज्ञानलाई समन्वय गर्न सजिलो बनाउँछ । त्यसैगरी सम्बन्धित राष्ट्र निर्देशित विकास सिद्धान्तअनुसार, विकास सहयोग प्राप्त गर्ने देश स्वयंले आफ्ना प्राथमिकता निर्धारण गर्छ, जसले सहायता प्रभावकारिता बढाउँछ । यसको उदाहरण नेपालले आफ्ना कृषि र शिक्षासम्बन्धी रणनीतिमा देखाएको छ । साथै बहु–सरोकारवाला साझेदारीमा सरकार, निजी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरू सबैले मिलेर काम गर्छन्, जसले साझा लक्ष्य प्राप्त गर्न मद्दत पुर्‍याउँछ ।

विकास सहकार्यको अर्को रोचक ढाँचा विकेन्द्रित सहकार्य हो, जहाँ स्थानीय सरकार र स्थानीय संघसंस्थाले आपसमा प्रत्यक्ष साझेदारी गर्छन् । पछिल्लो समयमा संयुक्त वित्तीय संयोजन वा मिश्रित वित्तीय लगानी एक नवीन मोडल हो जसमा सार्वजनिक र निजी क्षेत्रको लगानीलाई विशेष गरी जोखिमयुक्त वा कम फाइदा हुने तर सामाजिक रूपमा महत्वपूर्ण क्षेत्रमा विकास परियोजनाहरूमा लगानी गरिन्छ, जहाँ सरकारी, बहुपक्षीय वा दातृ संस्थाहरूले पहिलो चरणको जोखिम लिन्छन् वा अनुदान, सस्तो ऋण वा ग्यारेन्टी प्रदान गर्छन् ताकि निजी क्षेत्रको लगानी आकर्षित गर्न सकियोस् ।

विकासका काममा जहाँ सार्वजनिक र निजी स्रोतहरू एकै ठाउँमा ल्याएर दिगो लगानी प्रवाह गरिन्छ र स्थानीय क्षमता परिचालन निकै प्रभावशाली छ, जसले व्यक्तिको क्षमताको विकासलाई नै विकासको केन्द्रमा राख्छ । सहभागिताको सिद्धान्तले समुदाय र लाभग्राहीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्छ, जुन विकास परियोजनाको दीर्घकालीन सफलताका लागि अत्यावश्यक मानिन्छ ।

अनुदानसम्बन्धी पेरिस घोषणापत्र र अक्रा एजेन्डाले विकास सहकार्यमा पाँच प्रमुख मान्यता ल्यायो— नागरिकको हक, समन्वय, परिणाममुखी, पारदर्शिता र पारस्परिक जवाफदेहिता । अहिलेको समयमा अधिकांश परियोजना यही परिवर्तनको तर्कमा आधारित हुन्छन्, जसले योजना, कार्यान्वयन र मूल्यांकनमा स्पष्टता ल्याउँछ ।

विकास सहकार्यका आगामी दिनहरूमा स्थानीयकरण, जलवायु–मैत्री सहकार्य, निजी क्षेत्रको संलग्नता, डिजिटल प्रविधिको प्रयोग, लैङ्गिक समानता र आप्रवासनमैत्री नीति प्राथमिक विषय बनेका छन् । यसले देखाउँछ कि विकास अब केवल पैसाको सवाल होइन, यो साझा उत्तरदायित्व, नवप्रवर्तन र दिगो समाधानको खोजी हो ।

नेपाललगायतका विकासशील मुलुकहरूमा विकासका धेरै पहल दातृ निकायहरूको सहयोगमा अघि बढाइएका छन् । अनुदान, ऋण वा प्राविधिक सहायताजस्ता बाह्य स्रोतहरूले पूर्वाधार निर्माण, आकस्मिक राहत र क्षमता विकासमा उल्लेखनीय भूमिका खेलेका छन् । तर विज्ञहरू भन्छन्, यस्तो सहयोगले अस्थायी टेको त दिन सक्छ, तर दीर्घकालीन र दिगो विकासका लागि यो एक्लै पर्याप्त छैन ।

दिगो विकासका लागि राज्य र समुदायको पूर्ण स्वामित्व, स्थानीय स्रोतको परिचालन र उत्तरदायित्वपूर्ण शासन आवश्यक हुन्छ । उनका अनुसार विकासको सफलताको मापन बाह्य सहायता प्राप्तिको आधारमा होइन, आन्तरिक स्रोतको परिचालन, नागरिक सहभागिता र पारदर्शी कार्यान्वयनको आधारमा हुनुपर्छ । वास्तविक विकास जनताको आवश्यकता र प्राथमिकतामा आधारित हुनुपर्छ । यसका लागि स्थानीय सरकार, सामुदायिक संस्था र सरोकारवालाहरूले योजनाको स्वामित्व लिनु आवश्यक हुन्छ । जब विकास कार्यक्रमहरू भित्रैबाट सुरु हुन्छन्, तब मात्र ती कार्यक्रमहरू प्रभावकारी र जनउत्तरदायी बन्न सक्छन् ।

स्थानीय स्रोत संकलनजस्तै आन्तरिक राजस्व, सामुदायिक लगानी र दक्ष जनशक्तिको प्रभावकारी उपयोगले विकास कार्यलाई दीर्घकालसम्म टिकाउन सकिने विज्ञहरूको भनाइ छ । साथै, आन्तरिक उत्तरदायित्व प्रणाली, पारदर्शिता र नागरिक निगरानी सुनिश्चित गर्न सकेमा भ्रष्टाचार घट्ने र स्रोतको सही उपयोग हुने अपेक्षा गरिन्छ ।

विकासको सन्दर्भमा अन्तर्राष्ट्रिय सहयोगलाई पूर्ण रूपमा अस्वीकार गर्न खोजिएको होइन, तर विश्लेषकहरू भन्छन्, यदि हामी निरन्तर बाह्य स्रोतमा भर पर्न थाल्यौँ भने हाम्रो नीति निर्माण, प्राथमिकता निर्धारण र स्वाधीन निर्णय क्षमतामा क्षति पुग्न सक्छ । अतः अहिलेको आवश्यकता भनेको आत्मनिर्भर सोच, सुदृढ संस्थागत संरचना र स्थानीय स्रोतको अधिकतम परिचालन हो । यही हो, दिगो र सशक्त नेपालको आधार ।

प्रतिक्रिया दिनुहोस्