प्राचीन धार्मिक धरोहरः भृंगारेश्वर महादेव

भृंगारेश्वर महादेव नेपालमा भएका महादेवहरूमध्ये अति प्राचीन महादेवको मन्दिर हो । गोपाल राजवंशावलीअनुसार नेपाल उपत्यकामा भृंगारेश्वर महादेवको प्रादुर्भाव पशुपतिनाथभन्दा अगाडि भएको हो भन्ने उल्लेख भएको पाइन्छ । भृंगारेश्वर महादेव शिवलिङ्ग चतुषष्ठिः स्वयम्भू सिद्धिज्योतिर्लिङ्गमध्ये एक स्वयम्भू सिद्धज्योतिर्लिङ्ग हो । यसरी यो मानवनिर्मित नभई आफैँ उत्पन्न भएको ज्योतिर्लिङ्गको रूपमा मानिएको पाइन्छ ।
भृंगारेश्वर महादेवलाई विभिन्न नामः भृङ्गारेश्वर, भृंगेश्वर, भृंगेश, भीमभृंगेश्वर, भृंगीश्वर र सुवर्णेश्वर आदिले पुकारिएको पाइन्छ । ती नामहरूको यथास्थानमा उल्लेख रहे तापनि लिच्छविकालीन अभिलेखमा भीमार्जुनदेव र विष्णु गुप्तको अभिलेख भृङ्गार ग्राम पाञ्चली उल्लेख भई भृंगार मात्र उल्लेख भएको पाइन्छ भने शिवदेव द्वितीयको अभिलेखमा स्पष्ट रूपमा भृंगारेश्वर भनी उल्लेख भएको छ । नेपालमा प्राप्त वंशावलीमा सबैभन्दा पुरानो वंशावली गोपाल राजवंशावलीमा भृंगारेश्वरका नाम उल्लेख भएको हुँदा भृंगारेश्वरको नाम नै अगाडि आएको प्रमाणित हुन्छ ।
ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा अवस्थित भृंगारेश्वर महादेवको मन्दिर ललितपुरको मंगलबजारबाट करिब ४ किलोमिटर टाढा रहेको छ । लगनखेलबाट विभिन्न सवारी साधनबाट सजिलैसँग मन्दिर परिसरमा पुगी भृंगारेश्वर महादेवको दर्शन गर्न सकिन्छ । भक्तजनहरूको इच्छाअनुसारको फल दिने र मोक्ष प्रदान गर्ने भृंगारेश्वर महादेव, अति पूजनीय महादेवको दर्शन, पूजापाठ गर्नाले पूर्वजन्मको पापबाट समेत पखाली मुक्ति मिल्छ भन्ने विश्वास छ । भृंगारेश्वर महादेवको सेवा गर्नाले भक्तजनको कल्याण गर्ने, भय हराउने तथा भक्तजनहरूलाई इच्छाअनुसारको फल दिने र मोक्ष प्रदान गर्ने, संसारको सागरको ठूलो भय हर्ने, सम्पत्तिको स्थान भएका, सत्पद भएका, गहिरो आनन्द दिने, पुण्य दिने, ऐश्वर्य दिने, लोकको हित गर्ने, परम्पद प्रदान गर्ने, शिवलोकवास गराउने, श्राप हरण गर्ने, आजन्म गरेको पापबाट मुक्त गर्ने भनी विभिन्न पुराण, अभिलेख तथा ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ ।
गुम्बज शैलीमा निर्मित यस मन्दिरको गजुर ढलौटमा सुनको जलप लगाइएको, इँटाको गारो, चारैतिर ढोका भएको सुन्दर मन्दिर रहेको छ । श्री भृंगारेश्वर महादेवको चारैतर्फ करिब २१ फिट लम्बाइ, १.५ फिट चौडाइ र २० इन्च उचाइ भएको कालो ढुंगाको सत्तरीमा पुरानो मन्दिरको टुँडाल खम्बाहरू उद्याउन चिह्न कोरिएका चारवटा ढुङ्गा छन् । श्री भृंगारेश्वर महादेवको पहिलेको मन्दिर वि.सं. १९९० को महाभूकम्पबाट पूर्ण रूपले भत्केको हुँदा पुनः निर्माण गरिएको पाइन्छ । यसभन्दा अगाडि ललितपुरका राजा विष्णु सिंहले आफ्ना पिता राजा कुसुमसिंहलाई समर्पण गरी ने.सं. ६७४ (वि.सं. १६१०) मा निर्माण गरेको विभिन्न अभिलेखमा उल्लेख छ । वि.सं. १९९० को महाभूकम्प पहिला यो मन्दिर प्यागोडा शैलीको भएको र पछि पुनः निर्माण गर्दा गुम्बज शैलीमा निर्माण भएको पाइन्छ । हाल सो मन्दिरलाई पुनः प्यागोडा शैलीमै बनाउने डिपिआरसमेत तयार भएको भृंगारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समितिले जनाएको छ ।
कुनै एक दिन स्थानीय व्यक्तिले श्री भृंगारेश्वर महादेवको पूजाका लागि लगेको ताम्रपत्रले अकस्मात् लिङ्गमा छुन जाँदा तत्काल उसको ताम्रपत्र सुवर्ण रूपमा परिवर्तित भयो र सो घटना देख्दा पुजारी चकित भए । त्यही दिन मध्यरातमा कुशको औँठी लगाई मेरो पूजा गर्नु, औँठी सुवर्णमा परिवर्तित हुनेछ भन्ने श्री भृंगारेश्वर महादेवका स्वप्नादेशनुसार कुशको औँठी लगाई पूजा गर्दा तत्काल कुशको औँठी सुवर्ण रूपमा परिवर्तित भएको देखी पुजारी खुसी भई झन् श्री भृंगारेश्वर महादेवको दत्तचित्त एकाग्रताका साथ पूजा गर्दै जाँदा कालान्तरमा पछि एक दिन पुजारी मन्दिर आउनुअगावै श्री भृंगारेश्वर महादेवको शिवलिङ्ग सुवर्णलिङ्गको रूपमा परिवर्तित भइरहेको मन्दिर आउँदा पुजारीले देखे । लोभले पुजारी मठमा गई बन्चरो ल्याई दक्षिणतर्फ हेरी सुवर्णलिङ्गमा बन्चरो प्रहार गरी त्यो स्पर्शमणिको अंश झिक्न लाग्दा उक्त लिङ्गबाट त्यो स्पर्शमणिको अंश उडी पश्चिमतर्फको चोइटो नख्खु प्रदेशमा र पूर्वतर्फको चोइटो महादेव पाखोमा विलीन भएको भन्ने किंवदन्ती रहेको छ ।
यस मन्दिरको इशान कोणमा ३२ हात गहिरो इनार रहेको छ । सो इनारलाई ज्ञानवापीकुण्ड वा ज्ञानकुण्ड भनिन्छ । ज्ञानवापीकुण्ड वा ज्ञानकुण्डको जल बिहान नित्य पूजाको बेला स्वयं पुजारीले शिवलिङ्गलाई स्नान गराई जलजहरीमा राखिएको सोही जल सन्ध्याकालीन आरतीको समयमा भक्तजनहरूलाई छर्कने प्रथा अझसम्म पनि यथावत् रूपमा चल्दै आएको छ । साथै, सो जल ग्रहण गर्नेहरूले रोग–व्याधिबाट मुक्ति पाउने जनविश्वास रहेको छ । त्यस्तै, महादेवको पूर्वपट्टि सरस्वतीको मूर्ति छ । उक्त मूर्तिमा श्रीपञ्चमी (वसन्त पञ्चमी) का दिन गाउँका बालबालिकालाई अक्षराम्भ सुरु गर्न पूजा गर्ने, विद्यार्थीहरू आ–आफ्नो पढाइ सफल होस् तथा महिलाहरू आफ्नो काम पूर्ण होस् भनी सरस्वतीलाई तेल घसी वरदान माग्ने चलन रहेको छ । त्यस्तै, मन्दिरको दक्षिणपट्टि कीर्तिमुख भैरवको मूर्ति, भैरवको मूर्तिनजिक नारायणको मूर्ति, उमा महेश्वरको मूर्ति, मन्दिरको दक्षिण द्वारअगाडि दायाँ–बायाँ सेतो सालिकग्राम आकारको शिवलिङ्ग, महादेव मन्दिरको दक्षिण र पश्चिम कोणमा हिन्दूहरूको पवित्र धाम चारधाम जगन्नाथ, रामेश्वर, केदारनाथ र बद्रीनाथको मूर्ति, पश्चिमपट्टि ठूलो बसाहाको प्रतिमा, उत्तरपट्टि जलकुण्ड, उत्तरपूर्वमा जलाशयन बढानीलकण्ठ नारायणरूपी भृंगुनारायणको भव्य मूर्ति आदि विभिन्न अन्य प्रतिमाहरू रहेका छन् ।
त्यस्तै, भृंगारेश्वर महादेवको मन्दिरको ठीक अगाडि रहेको सत्तल पाटीको पश्चिमपट्टिको भित्ताको कुनामा एउटा पूजनीय प्वाल रहेको छ । सो प्वाललाई हनुमानको रूपमा पूजाअर्चना गर्ने गरिन्छ । मूलतः बच्चाहरू रुन्चे भएमा, सातो गई तर्सने, डराउने भएमा र बारम्बार बिरामी हुने भएमा ज्यामिर, कागती, बिमिरा आदि फलफूललाई चक्का–चक्का गरी नर्कटालाई सानो–सानो टुक्रा गरी माला उनेर हनुमानलाई पूजा गर्ने प्रचलन रहेको छ ।
वर्षायाममा देशमा धान रोप्ने समयमा वर्षा नभएमा गाउँवासी तथा छिमेकी गाउँलेहरूले यस भृंगारेश्वर महादेवको मन्दिरमा महादेवलाई दूधको जलधाराले स्नान गरी होम, पूजापाठ गरेपछि वर्षा हुन्छ भन्ने जनविश्वास समेत रहेको छ । यस मन्दिरमा श्रीकृष्ण जन्माष्टमी, कार्तिक कृष्णपक्ष औँसी, लक्ष्मी पूजा, फागुन कृष्णपक्ष चतुर्दशी महाशिवरात्रि तथा प्रत्येक पूर्णिमाका दिन विशेष पूजाआजा तथा भजनकीर्तन हुने गर्छ र यसबेला भक्तजनहरूको भीड लाग्ने गर्छ । तसर्थ, यस भृंगारेश्वर महादेवको मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने ठूलो सम्भावना रहेको छ ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौँ शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै आएको पाइन्छ ।
देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेशमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक तथा ऐतिहासिक पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ ।
तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक तथा सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ, जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ धार्मिक पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ । धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस आर्थिक समृद्धिसमेत हासिल गर्न सकिने सम्भावना रहेको छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।