Logo

कोरोना भाइरसले विश्वव्यापी वृद्धि प्रभावित पार्न सक्ने : आईएमएफ

न्युयोर्क-चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्न सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले बताएकी छन् । तीव्र र द्रुत दरमा झरेको आर्थिक वृद्धिदर कोरोनाको संक्रमणको प्रभावबाट थप समस्या आउने उनको भनाइ थियो ।
दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन आएकी आईएमएफका व्यवस्थापन निर्देशक क्रिस्टालिना जर्जिएभाले भनिन्, “आर्थिक वृद्धिदरमा कटौती हुन सक्ने यो दर करिब ०.१ देखि ०.२ प्रतिशतको अवस्थामा हुने तत्कालको अनुमान रहेको छ ।”
करिब १ हजार ६ सय व्यक्तिको ज्यान लिइसकेको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्नेछ अहिल्यै पूर्ण अनुमान गरिहाल्न सक्ने अवस्था भने नभएको उनको तर्क थियो ।
जर्जिएभाले भनिन्, “म सबैसँग अनुरोध गर्छु कि अहिल्यै निष्कर्षमा नजाऔँ । अनिश्चितता अझै बाँकी छ । हामी परिदृश्यहरूसँगै काम गर्छौं, अनुमानका भरमा मात्रै होइन । आगामी १० दिनमा मलाई सोध्नुहोस्, यसबारे स्वाभाविक नतिजा भन्न सकौँला ।”
आईएमएफको जनवरीको प्रक्षेपणमा सन् २०२० का लागि आर्थिक वृद्धिदरको पूर्व अनुमानलाई सच्याउँदै ३.४ प्रतिशतको वृद्धि दरलाई ३.३ प्रतिशतमा झारेको थियो । सन् २०१९ मा आर्थिक वृद्धिदर २.९ प्रतिशत कायम भएपछि आईएमएफले आफ्नो अनुमानलाई पुनरावलोकन गरेको थियो ।
विश्व अर्थतन्त्रमा यस दशककै सबैभन्दा कम वृद्धिदर सन् २०१९ मा कायम भएको थियो ।
महामारीको पूर्ण प्रभावको आँकलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले स्वीकार गरिन् ।
उनले थपिन्, “आर्थिक प्रक्षेपणलाई परिवर्तन गरिहाल्नु अहिल्यै कठिन छ, किनकि हामीलाई यो भाइरसको प्रकृति के हो भनेर अझ राम्ररी थाहा छैन । हामीलाई थाहा छैन कि चीनले कति छिटो यसलाई नियन्त्रणमा ल्याउनेछ । यो बाँकी विश्वमा फैलिनेछ वा छैन हामीलाई अहिले थाहा छैन ।”
चीनमा यसको नियन्त्रणमा ढिलाइ भयो र विश्व यसबाट थप प्रभावित भयो भने पक्कै पनि वृद्धिदरमा तीव्र कटौती हुने उनको धारणा थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभांका र पूर्व बेलायती प्रधानमन्त्री थेरेसा मेसमेत पनि उपस्थित रहेको दुबई फोरममा उनले भनिन, “हामी अहिले कम उत्पादकता वृद्धि, कम आर्थिक वृद्धि, कम ब्याजदर र कम मुद्रास्फीतिमा अडिएका छौं ।”

प्रतिक्रिया दिनुहोस्