Logo

कर्णालीमा आर्थिक रुपले सक्रिय जनशक्ति ४१ प्रतिशत मात्रै

जुम्ला-कर्णालीको कुल जनसंख्या करिब १७ लाख ७० हजार रहेको तथ्यांक छ । त्यतिमध्ये प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेटमा उल्लेख भए अनुसार आर्थिक रुपमा सक्रिय अर्थात व्यवपार व्यवसायमा लागेको जनशक्ति ४१ प्रतिशत मात्रै रहेको छ । जसका कारण आर्थिक विकासको सूचकांकमा सबै प्रदेश भन्दा पछि रहेको छ । ५९ प्रतिशत अर्थात कर्णालीको कुल जनसंख्याको दोब्बर जनशक्ति आर्थिक रुपमा सक्रिय छैनन् ।
मुलुकमा ३९ दशमलव ९ प्रतिशत जनशक्ति आर्थिक रुपमा सक्रिय भएको अवस्थामा कर्णालीमा ४१ प्रतिशत रहेको छ । कर्णालीमा कृषिमा आधारित जनशक्तिको वर्षभरी रोजगारी उपलब्ध नहुँदा उर्जाशील जनशक्तिको श्रम गन्तव्य भारत हो । तथापी प्रदेश सरकार गठन भइसकेपछि आर्थिक रुपमा सक्रिय जनशक्ति बढ्दै जानुपर्नेमा लक्ष्य अनुसार हुन सकेको छैन् ।
आर्थिक रुपमा सक्रिय जनशक्तिले भारतमा पसिना बगाउने, यता जमिन बाँझो रहनेले कर्णालीको विकास अझै पछि धकेलिएको विज्ञ कुसेन्द्र महत बताउँछन् । उनले कर्णालीको आर्थिक विकासका लागि आर्थिक रुपमा सक्रिय जनशक्तिलाई काम दिन आवश्यक रहेको बताए । तर, कर्णालीका ७९ वटै स्थानीय तह र प्रदेश सरकारले उत्पादनमुखी बजेट ल्याउन सकेको छैन । त्यसैगरी आर्थिक रुपमा सक्रिय युवालाई रोजगारी दिएर आर्थिक विकास हासिल गर्न समेत सकेको छैन ।
कर्णालीमा आर्थिक उत्पादनका क्षेत्रहरु पनि प्रशस्त छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, “दक्ष जनशक्ति पनि नभएका हैनन्, कृषि, पर्यटन, जडिबुटी, उद्योग कलकारखानामा उपयुक्त लगानी नहुँदा आर्थिक रुपमा सक्रिय जनशक्ति घट्दै गएका हुन् ।” आर्थिक रुपमा सक्रिय भएपनि कर्णालीको हजारौंको जनशक्ति नियमित रुपमा पलायन भइरहेको छ ।
तर पनि सरकार युवामैत्री बजेट तथा कार्यक्रम जोड दिएको छ । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले युवा जनशक्तिलाई आर्थिक गतिविधिमा सक्रिय गराउन कृषिको व्यावसायिक योजना कार्यान्वयनमा ल्याएको बताए । उनले नर्सरी व्यवसयाय, स्याउ खेती, केशर खेती सिमी खेतीका लागि अनुदानको व्यवस्था गरेको उल्लेख गरे । कर्णालीमा संभावना धेरै भएर पनि रोजगारीका अवसर छैनन् । कृषि, पर्यटन, जटिबुटी लगायतका क्षेत्रमा लगानी अभावकै कारण सयौ युवा खाडी र कालापहाड धाउन बाध्य छन् ।
पाँच हजार युवा रोजगार बन्दै
कर्णाली सरकारले चालू आर्थिक वर्षमा करिब पाँच हजार युवालाई रोजगार दिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रम मार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी संघसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालिमबाट ती युवाले रोजगारी पाउने भएका हुन् ।
कर्णालीका १० वटै जिल्लाका बेरोजगार युवाहरुको सम्मान सहभागिता रहनेगरी रोजगारीका कार्यक्रम सुरु गर्न लागिएको हो ।
यता, सिटीइभिटीका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । “चालू आर्थिक वर्षमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौ ।” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्