पाकिस्तान : सयौं बुद्धिष्ट धरोहर, पूर्वाधार विकासमा छलाङ «

पाकिस्तान : सयौं बुद्धिष्ट धरोहर, पूर्वाधार विकासमा छलाङ

इस्लामिक देश पाकिस्तानमा सयौं बुद्धिष्ट धरोहर छन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, यो साँचो हो । पाकिस्तानको विभिन्न स्थानमा गरी सयौं यस्ता धरोहर छन् । पाकिस्तानको विभिन्न प्रान्तको मुख्य बुद्धिस्ट धरोहरमध्ये तक्सिला (तक्षशिला)मा रहेको धर्मराजिका स्तुप, तखत भाइ, भोटिभ स्तुप, सिंगरदार स्तुप, अमलुकदरा स्तुप र स्वातमा रहेको बुद्ध मूर्तिलगायत मुख्य हुन् ।
पछिल्लो समय एक नयाँ बुद्धिष्ट धरोहर बमला क्षेत्रमा फेला परेको छ । त्यहाँ १७ सय वर्ष पुरानो बुद्ध मूर्ति फेला परेको हो । निद्रा मुद्रामा रहेको यो धरोहर सबैको लागि आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ ।
बुद्धिस्ट धरोहरमध्ये पञ्जाब राज्यको टक्सिला (तत्कालिन तक्षशिला)मा रहेको धर्मराजिका स्तुपलाई युनेस्कोले सन् १९८० मै विश्व सम्पदा सूचीमा सूचीकृत गरेको त्यहाँ उल्लेख छ । जबकि भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनी सन् १९९७ मा मात्रै विश्व सम्पदामा सूचीकृत भएको थियो ।
टक्सिला पाकिस्तानको राजधानी इस्लामाबादबाट करिब ३५ किमि दूरीमा छ । ईसापूर्व २०० देखि सन् ५०० बीचमा निर्मित टक्सिलाका अधिकांश पुरातात्विक महत्वका बुद्धिष्ट धरोहरहरू टक्सिला म्युजियमको वरपर रहेका छन् ।
टक्सिला क्षेत्र निकै महत्वपूर्ण रहनुको कारण तत्कालिन समयमा बुद्ध शिक्षा, कला, संस्कृतिको प्रचार त्यहाँबाट हुनु रहेको बताइन्छ । तक्सिला क्षेत्रको वरपर ३० किमि क्षेत्रमा मात्रै ५० पुरातात्विक महत्वका क्षेत्र छन् र सबै बुद्ध जीवनीमा आधारित रहेको युनेस्को इस्लामावादका अधिकृत जवाद अजिज बताउँछन् ।
अजिजका अनुसार टक्सिला क्षेत्रको धर्मराजिका स्तुप, भिर माउण्ड, सिरकाप, जन्डिअल टेम्पल, जाउलिअन मोनाष्ट्री रहेका छन् । टक्सिला क्षेत्रमा भेटिएका महत्वपूर्ण तथा पुरातात्विक महत्वका बुद्धिष्ट धरोहरसँग आधारित वस्तुहरूलाई टक्सिलाको म्युजियममा सुरक्षित राखिएको छ । वार्षिक लाखौं पाकिस्तानी नागरिक म्युजियम र टक्सिलाको बौद्धिष्ट धरोहर अवलोकन गर्न आउने गरेको अजिजले बताए ।
त्यस्तैगरी अर्को महत्वपूर्ण बुद्धिष्ट सर्किट तखत–आई–भाई हो । इस्लमाबादबाट १७० किमि टाढा यो स्थान रहेको छ । ५ सय मिटर अग्लो डाँडामा यो स्थान छ । १००० ईसापूर्वदेखि सातांै शताब्दीसम्म तत्कालिन समयमा उत्तरी पाकिस्तान र अहिलेको अफगानिस्तानको केही भाग समेटेर गन्धहार राज्य फैलिएको थियो । जहाँ ग्रिक र बुद्धिष्ट अनुयायीहरूले मिलेर महायाना धर्म बनाएका थिए । भिक्षु मारानन्तले उत्तर पाकिस्तानबाट चीन हुँदै बुद्ध शिक्षा फैलाउन चौथो शताब्दीतिर कोरिया उपमहाद्धिपसम्म पुगेको बताइन्छ । युनेस्कोले तखत–आई–भाइलाई गान्धारा क्षेत्रको ठूलो बौद्धिक धरोहरको रुपमा १९८० मा विश्व सम्पदामा सूचीकृत शिक्षाका लागि अति नै महत्वपूर्ण यो क्षेत्र रहेको छ । यहाँ दुई स्तुपसहित अन्य धेरै महत्वपूर्ण वस्तु छन् । यहाँ सम्राट अशोकसमेत पुगेर स्तुप बनाएको बताइन्छ । यसको वरपर अन्य पुरातात्विक महत्वका क्षेत्र पनि रहेका छन् ।
अन्य धेरै बुद्धिष्ट धरोहरहरू पाकिस्तानका विभिन्न क्षेत्रमा छन् । सबैभन्दा बढी टोप मनकियाला क्षेत्रमा छन् । त्यस्तै कटास राजमा समेत बौद्ध स्तुप रहेको छ । कटास राज हिन्दू, बौद्ध र जैन धर्मको लागि प्रख्यात सम्पदा स्थल रहेको छ ।
पेशाबर सहर नजिकमा मात्रै कम्तिमा ५ सय बुद्धिष्ट धरोहर रहेका छन् । यति धेरै बुद्धिष्ट धरोहरहरू पाकिस्तानमा रहे पनि प्रबद्र्धन, सम्बद्र्धन र प्रचारप्रसारका अभावले पछि परेका छन् । पाकिस्तानी नागरिक बाहेक विदेशीहरू नगन्य रुपमा त्यहाँ पुग्ने गरेका छन् ।
पाकिस्तानमा बुद्ध धर्म मान्नेहरूको संख्या १४ सय ९२ जति छ । २००० को दशकमा धेरै विदेशीहरू पाकिस्तानको भ्रमणमा जाने गरेका भए पनि सन् २०११ मा अमेरिकामा भएको आक्रमणपछि भने विदेशी पर्यटक आगमन संख्या अत्यधिक घटेको छ । पाकिस्तानको पञ्जाब क्षेत्रमा रहेको मुख्य बुद्धिष्ट धरोहर टक्सिलासहित अन्य धरोहरको प्रर्बद्धन, सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले गत सोमबारमात्रै पञ्जाब सरकारले ‘आर्थिक उन्नतिका लागि पर्यटन’ नामक योजना सुरु गरेको छ । ५५ मिलियन अमेरीकी डलर बराबरको योजनामा विश्व बैंकको ५० मिलियन डलर ऋण सहयोग छ भने ५ मिलियन पञ्जाब सरकारको रहेको विश्व बैंकका टास्क टिम लिडर तथा वरिष्ठ प्रकोप व्यवस्थापन विज्ञ कमरान अकबरले बताए । अकबरका अनुसार यो योजना ५ वर्षभित्रमा सम्पन्न हुनेछ । विश्व सम्पदामा सूचीकृत पाकिस्तानका बुद्धिष्ट, हिन्दू, जैन, सिख र मुस्लिमको गरी ८ सम्पदा क्षेत्रमा काम गर्ने अकबरले बताए । “यो योजना सम्पन्नसँगै यहाँका धरोहरको सम्बन्ध छिमेकी देशका अन्य सम्पदासँग पनि जोडी पर्यटक आगमन भित्र्याउन मद्दत पुग्नेछ,” अकबरले भने ।
यो आयोजना पूरा भएपछि सम्पदाहरूको संरक्षण, प्रवद्र्धन र प्रचारमा थप मद्दत पुग्ने र यसले यो क्षेत्रमात्र नभई सिंगो पाकिस्तानको पर्यटन विकासमा टेवा पुराउने विश्व बैंक पाकिस्तान कार्यालयकी ग्रामीण विकास विज्ञ माहा अहमदले बताइन् । वर्तमान पाकिस्तानदेखि अफगानिस्तानसम्म तत्कालिन गान्धार राज्य रहेको र ईशापूर्व ३ सयदेखि ४ सय वर्षअगाडि सम्राट अशोकले नै यस क्षेत्रमा बुद्ध उपदेश प्रचारप्रसार गर्न, स्तुप मन्दिर, बुद्ध मूर्तिहरू बनाउन आफ्ना दूतहरू परीचालन गरेको बुझिन्छ ।
सोही क्रममा पाकिस्तानको धेरै क्षेत्रमा धेरै स्तुप र मन्दिरहरू बनाइएको बुझ्न सकिन्छ । उतिबेला गान्धार राज्यपछि टुक्रिँदै टुक्रिँदै केही भाग पाकिस्तानमा र केही भाग अफगानिस्तानमा परेको छ । अफगानिस्तानमा समेत बुद्धिष्ट धरोहरहरू रहेका छन् भने त्यहाँको बामियानमा विश्वकै सबैभन्दा अग्लो बुद्ध मूर्ति रहेको थियो, जसलाई पछि त्यहाँ युद्धको क्रममा ध्वस्त भएको थियो ।
तत्कालिन समयमा अफगानिस्तानसम्म भारतीय उपमहाद्धिप क्षेत्र रहेको र सम्राट अशोकलगायतले बुद्ध उपदेश फैलाउँदै जाँदा गान्धार क्षेत्रसम्म पुगेको बुझ्न सकिन्छ ।
पाकिस्तानसँग बुद्ध भगवानको कुनै साइनो सम्बन्ध नभए पनि बुद्धका अनुयायीहरूले बुद्धशिक्षा उपदेशको प्रचार गर्ने क्रममा पाकिस्तानमा बुद्धिष्ट धरोहर निर्माण भएको सजिलै बुझ्न सकिन्छ । बुद्धिष्ट धरोहर भएका नाताले अन्तर्राष्ट्रिय बुद्ध सर्किटमा पाकिस्तानको यो क्षेत्रलाई जोडेर सहकार्य गर्न जरुरी रहेको बुद्ध सर्किट क्षेत्रमा काम गर्दै आएका पर्यटन विज्ञ विक्रम पाँडेले बताए ।

हिमाली क्षेत्रमा उत्तिकै आकर्षण
पाकिस्तानको हिमाली क्षेत्र (उत्तरी पाकिस्तान)मा पर्यटकहरूको उत्तिकै आकर्षण रहेको छ । हिमाल चढ्नेहरू मात्र नभई त्यहाँ पदयात्रामा जाने, विभिन्न हिमाली साहसिक खेल, जल बिहारलगायत आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको पाकिस्तानको पर्वतिय तथा साहसिक खेलकुद तथा हिमाल आरोहणसम्बन्धि विभिन्न गतिविधी गर्दै आएको अल्पाईन क्लब अफ पाकिस्तानका उपाध्यक्ष उपाध्यक्ष आयाज सिग्रीले बताए । पाकिस्तानमा सबै खाले पर्यटनको सम्भावना रहेको र हिमाली क्षेत्रमा झन् बढी पर्यटकहरूको आकर्षण रहेको पर्यटन व्यवसायी तथा द म्याड ह्याटर्शकी प्रबन्ध निर्देशक अनिका अलिले बताइन् ।
उत्तरी पाकिस्तानका हिमाली क्षेत्रमा विश्वकै दोश्रो उच्च शिखर माउन्ट केटुसहित ८ हजार मिटरमाथि रहेका हिमालहरू ब्रोड पिक, जि वान, जि टु, तथा नागा पर्वत (किलर पिक) रहेको र त्यहाँ पर्वतारोहणसहित अन्य हिमाली साहसिक खेल गतिविधीमा आकर्षण बढिरहेको अल्पाईन क्लब अफ पाकिस्तानका अध्यक्ष अब्बुज जफर सादिकले बताए ।

कति पर्यटक जान्छन् पाकिस्तान भ्रमणमा ?
सन् १९९५ मा ३ लाख ७८ हजार बाह्य पर्यटकले पाकिस्तानको भ्रमण गरेका थिए । यो संख्या बढ्दै सन् २००० मा ५ लाख ५७ हजार र सन् २०१० मा ९ लाख ७ हजार र सन् २०११ मा ११ लाख ६७ हजार पर्यटकले पाकिस्तानको भ्रमण गरेको तथ्यांक छ । तर, सन् २०११ को अक्टोबरमा अमेरिकामा आतंकवादीको हमलापछि त्यसको सिधै प्रभाव पाकिस्तानमा पर्यो । जुन कारणले कति देशले पाकिस्तानलाई भ्रमण गर्न नहुने डेन्जर देशको लिस्टमा राख्न पुगे । ५ वर्षसम्म पर्यटक निकै घट्न पुग्यो । २०१२ मा ९ लाख ६६ हजार, २०१३ मा ५ लाख ६५ हजार २ सय १२, २०१४ मा ५ लाख ३० हजार, ०१५ मा ५ लाख ६३ हजार पर्यटक आगमन भएकोमा त्यसपछि भने वृद्धि हुन थालेको छ । सन् २०१६ मा ९ लाख ६५ हजार पर्यटकले पाकिस्तान भ्रमण गरेकोमा २०१७ मा १७ लाख ५० हजार पर्यटक पुगेका छन् । तथ्यांकले पाकिस्तानी पर्यटन विस्तारै तंगिँ्रदै गएको देखाएको छ । पाकिस्तान सरकारले सन् २०२५ सम्म कुल जिडिपीमध्ये साढे नौ बिलियन पर्यटन क्षेत्रको योगदान रहने प्रक्षेपण गरेको छ ।

पूर्वाधार विकासमा छलाङ
पाकिस्तानलाई एक दशकअघि आएको भूकम्प, आतंकवादले नराम्ररी ठगेको देश भन्दा फरक पर्दैन । तर विश्वमञ्चमा आतंकवादलाई पश्रय दिने देश भनेर मिडियाले आरोप लगाउने पाकिस्तान नियतिबाटै ठगिएको रहेछ । तर नियतिले ठगे पनि पाकिस्तानले पूर्वाधार विकास धमाधम गरिरहेको छ । देशैभर राष्ट्रिय राजमार्गमा चौडा फराकिला सडक बाटो निर्माण छन् । सडक सञ्जाल जताततै फैलिएको छ । प्रमुख शहरहरूमा मेट्रो ट्रेन सञ्चालनका लागि कार्य निर्माण भैरहेको छ । ईस्लामाबाद सहरमा त मेट्रो बस (अरेन्ज बस) सञ्चालनका लागि छुट्टै सडक लेन नै बनाइएको छ ।

सम्पदाको प्रबद्र्धन, संरक्षणमा पहल सुरु
दक्षिण एशियाली राष्ट्र पाकिस्तानमा रहेका बुद्धिष्ट धरोहरहरूको सम्पदा, संरक्षण र पर्यटनलाई नेपाल र भारतको बुद्धिष्ट सर्किटहरूसँग समन्वय गरी एकीकृत रूपमा कसरी अघि बढाउन सकिन्छ र पर्यटकहरू बढी भन्दा बढी एकापसका देशमा पठाउन सकिन्छ भन्ने उद्देश्यसहित विश्व बैंक र युनेस्कोको आयोजनामा पाकिस्तानमा ‘बुिद्धष्ट सर्किट पर्यटनको पुनर्ताजगी विषयक’ कार्यशाला गोष्ठी पाकिस्तानको इस्लामाबाद र लाहोरमा आयोजनासमेत भएको छ ।
गोष्ठीमा पाकिस्तानमा रहेका विश्वसम्पदामा सूचीकृत बृद्धिष्ट सम्पदाहरूको कसरी प्रबद्र्धन गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेको थियो । युनेस्को पाकिस्तानका निर्देशक बिबेकी जेन्सनले पर्यटनको सम्भावना पाकिस्तानमा प्रचुर रहेको र पर्यटन क्षेत्रबाटै आर्थिक अवस्था सुदृढ हुन सक्ने जनाउँदै बुद्ध सर्किट बनाई यसको प्रबद्र्धन, प्रचार गरी बढी पर्यटक भित्र्याउन सकिने बताइन् ।
सो क्रममा नेपाल तथा भारतको बुद्धिष्ट साइटको बारेमा पर्यटनविद् तथा लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै नेपालमा भूकम्प र त्यसपछिको प्रभावका बारेमा पर्यटन विभागका निर्देशक कोशनाथ अधिकारी, नेपाल पर्यटन बोर्डका अधिकृत गोपाल ओली, मिडिया कन्सलटेन्ट शरद प्रधान, नाट्टा नेपालका वरिष्ठ उपाध्यक्ष अच्यृत गुरागाईं, साट्टा लुम्बिनीका अध्यक्ष चन्द्र बहादुरथापा लगायतले नेपालको पर्यटन क्षेत्र र यहाको विकासक्रममा बारेमा बताएका थिए । गोष्ठीमा नेपाल, श्रीलंका, पाकिस्तानका सरकारी निकायका प्रतिनिधि र पर्यटन व्यवसायी, दातृ निकाय विश्व बैंक, युनेस्कोका प्रतिनिधिहरू सहभागी थिए ।

मनोरञ्जन शर्मा

प्रतिक्रिया दिनुहोस्