काँडेझाडी भालेवास पर्यटकीय गन्तव्य बन्दै «

काँडेझाडी भालेवास पर्यटकीय गन्तव्य बन्दै

 एक दुई वर्ष पहिले काँडेझाडी र सिद्धार्थ राजमार्गमा आवतजात गर्ने सवारी यात्रीहरूको मलमूत्र बिसर्जन गर्ने उपयुक्त स्थानका रूपमा रहेको भालेबास पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा परिणत हुँदै गएको छ । तानसेन नगरपालिका–८ र १० को सीमामा पर्ने डुम्रेखोला र सिद्धार्थराजमार्गको काखमा रहेको भालेवासमा युवा उद्यमी केशव कार्कीको पहलमा धार्मिक तथा पर्यटक आर्कषण गर्ने खालका संरचना निर्माण भएसँगै जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । 
कार्कीले यहाँ विभिन्न भगवानहरूको स्वरुप, ताल, चिल्ड्रेन पार्क, ढुंगा, घोडचढी लगायतको सुविधासहित धार्मिक तथा पर्यटकीय स्थानमा झाडी र खोला किनारलाई उपयोग गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेको हो । त्यसै खेर फालिएको सार्वजनिक जग्गामा धार्मिक तथा पर्यटकीय स्थानको उपयोगका लागि ३३ कोटीधामको परिकल्पना गरी पार्क र धार्मिक अनुष्ठान गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको उद्यमी केशव कार्की बताउँछन् । खोला किनारमा खेर गएको सार्वजनिक जग्गालाई ३३ कोटी पाल्पा धाम तथा पर्यटकीय स्थल बनाउन स्थानीय केशवले पछिल्लो धार्मिक तथा पर्यटकीय स्थान बनाउन लागेका हुन् । केशवले खोला किनारमा फालिएको ढुंगाहरूमा धेरै मूर्ति आकृति भएको देखेपछि यसलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउने अभियान सुरु गरेका थिए । त्यहाँ ७० मिटरको एउटै ढुंगा छ जहाँ ३३ कोटी देवी देउताको मूर्ति, तिनको वाहन र मन्दिर बनाउने लक्ष्य रहेको र धार्मिक तथा पर्यटकीयस्थल बन्ने सम्भावना पनि भएको कार्कीले बताए । 
भालेवासमा अहिले धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माणमा करिब २ करोड खर्च भइसकेको कार्की बताउँछन् । उनले यहाँ ३३ कोटी देवी देवताको आकृति, ५ फिट उचाइ र १२ फिट लम्बाई भएको ढुंगाको हात्ती, कछुवा मानव, हनुमानको मूर्ति, शिव लिङ्ग, शिव पार्वती र गणेशको मूर्ति, सेल्फी फुल, रातो भाले, बोटिङ मार्ग, चिल्ड्रेन पार्क, घोडा सफारी, रक्तकालीको मूर्ति, रक्तकाली झरना, पिकनिक स्पोर्ट आदि निर्माण मा उक्त रकम खर्चेको बताए ।
 अब खेर गएको खोलोको भालेवासलाई जिल्लाको नयाँ पर्यटकीय गन्तव्य बनाउने चाहना छ, कार्कीले भने त्यसका लागि अझै ३ करोड लगानी भई कुल ५ करोड खर्च हुने अनुमान छ । बच्चादेखि वृद्धासम्मका लागि मनोरञ्जन दिन नेपालकै नमुना पर्यटकीय केन्द्र बनाउने कार्कीको चाहना छ । पार्क निर्माणमा जिल्लाका सरकारी तथा गैरसरकारी संघ–सस्था, स्थानीय बासिन्दा र व्यक्तिगत लगानी लगाएको कार्कीले बताउँछन् । 
पहिले यहाँ झाडी र झाङ्गमात्रै थियो, दुई वर्ष पहिलेको अनुभव सुनाउँदै तानसेनका दीपक विश्वकर्माले भने गत वर्ष हाम्रो अंकल लडेर यही झाडीमा पर्नुभएको थियो, समयमै थाहा नपाएर निकाल्न नसक्दा उहाँको निधनसमेत भएको थियो, अहिले कार्कीको पहलमा त्यही झाडी यस्तो पर्यटकलाई आकर्षण गर्ने स्थान बनेको छ, त्यसको लागि उद्यमी कार्कीलाई धन्यवाद दिनै पर्छ । पर्यटकीय गन्तव्य निर्माणका लागि यहाँ तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही र वडा नंं. ८ र १० का जनप्रतिनिधिले पनि राम्रो सहयोग गरेका कारण झाडीलाई व्यवस्थित पर्यटकीय पार्कका रूपमा विकास गर्न सकिएको कार्की बताउँछन् । अहिले सिद्धार्थ राजमार्गमा यात्राको क्रममा दैनिक दजनौं यात्रुहरू गाडी रोकेरै भए पनि पार्कमा भ्रमण गर्ने र घुम्ने गरेको कार्कीले बताए ।
  केशव कार्की पहिले इन्धन खोज्न खाडीमा होइन झाडीमा जाऔं भन्ने नारासहित सजिवन, बकाइनो र सल्लाको खोटो तेलबाट गाडी गुडाएर त कहिले च्याउको व्यावसायिक खेती गरेर नेपालमै चर्चा कमाउँदै आएका छन्, युवा उद्यमी र युवालाई नै अनुकरणीय नमुनाका रूपमा पाल्पाका कार्की अहिले देश तथा विदेशमा परिचित भएका छन् ।  

अमृत अधिकारी

प्रतिक्रिया दिनुहोस्