भेडा पाल्न छाडिएसँगै राडीपाखी व्यवसाय संकटमा प्रकाश पाक्साँवा «

भेडा पाल्न छाडिएसँगै राडीपाखी व्यवसाय संकटमा प्रकाश पाक्साँवा

चरन क्षेत्रको अभावमा तेह्रथुमको ग्रामीण भेगका किसानले भेडा पाल्न छाडेका छन् । योसँगै राडीपाखी व्यवसायसमेत संकटमा परेको छ । छथर गाउँपालिका–५ ओख्रेका भेडापालक कृषक रोमा ठकुरीले चरन अभावका कारण व्यवसाय छाड्ने सोचमा रहेको बताउँछन् । एक दशक अघी जिल्लाको ग्रामिण क्षेत्रमा प्रशस्त रुपमा भेडापालन गर्दै आएका किसानले पछिल्लो समय चरन अभावका कारण व्यवसाय छाड्दै गएका छन् ।
केही वर्ष अघिसम्म जिल्लाको लेकाली भेगमा ठूलो संख्यामा भेडा पाल्ने गरिन्थ्यो । भेडाको मासु, ऊन, दूध र घ्यूबाट किसानले राम्रो आम्दानी गर्दै आएका थिए। भेडाको दूध गाईभैंसीको भन्दा पोसिलो मानिन्छ । त्यसैगरी भेडाको घ्यू औषधिको रूपमा पनि प्रयोग गरिन्छ । आगोले पोलेको घाउमा र चोट लागेको खत मेटाउन भेडाको घ्यू प्रयोग गरिने भएकाले ग्रामीण क्षेत्रमा यसको महत्व धेरै छ । भेडाको उनबाट गुणस्तरीय राडीपाखी बनाउन सकिने भएकाले उच्च पहाडी क्षेत्रका मानिसको प्रतिष्ठासँग भेडापालन व्यवसाय जोडिएको छ । तर चरन क्षेत्रको अभावमा भेडापालक किसान भेडीगोठ रित्याउन बाध्य छन् ।
“भेडाका लागि फराकिलो चरन क्षेत्र चाहिन्छ,” ठकुरीले भनिन्, “चरन क्षेत्रको अभावले भेडा गोठ मासिएका छन् ।” एउटै गोठमा धेरै संख्यामा भेडा पाल्ने गरिन्छ । बाँधेर घाँस दिँदा भेडा नफस्टाउने र असम्भव हुने भएकाले भेडाका लागि चरन क्षेत्र अनिवार्य हो । भेडाको मासु र त्यसको ऊनबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसानले दोहोरो फाइदा लिने गरेका थिए । धेरै संख्यामा दुहुना भेडा भएको अवस्थामा दूधबाट पनि राम्रो आम्दानी हुन्थ्यो । आयआर्जनको हिसाबले राम्रो मानिएको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावमा लोप हुँदै गएपछि किसान चिन्तित छन् । ऊन अभावले गर्दा राडीपाखी व्यवसाय पनि संकटमा परेको छथर गाउँपालिका–२ की छत्रमाया लिम्बुले बताइन ।
पाँच वर्षअघीसम्म राडीपाखी बुनेर राम्रो आम्दानी लिँदै आएकी लिम्बुले भेडाको उन नपाउँदा व्यवसाय नै छाडेकी छन् । हातैले बुनेको राडीपाखीको माग बजारमा अझै उच्च रहेको उनले बताइन् । गाउँघरका मात्र नभएर सहर बजारका मानिसको रोजाइमा पनि भेडाको ऊनबाट बनेको राडी पर्ने गरेको छ । हेर्दा राम्रो देखिने र टिकाउ हुने भएकाले राडीपाखीप्रति मानिसको मोह उत्तिकै रहँदै आएको छ ।

प्रकाश पाक्साँवा

प्रतिक्रिया दिनुहोस्