बेलहिया नाकामा एकैदिन ४४५ कोरियन आए

स्थलमार्गको बेलहिया नाका हुँदै शनिबार दक्षिण कोरियाका ४ सय ४५ पर्यटक एक साथ नेपाल भित्रिएका छन् ।
कुनै पनि एकै देशका विदेशी पर्यटक एकै स्थलमार्गबाट एकै समयमा धेरै संख्यामा भित्रिएको यो पहिला पटक हो ।
उनीहरूको भ्रमणको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी कपिलवस्तुको तिलौराकोट, कुदान, नवलपरासीको रामग्राम स्तुपा र तानसेन पाल्पा रहेको भ्रमणको स्थानीय रूपमा व्यवस्थापक रहेका लुम्बिनीस्थित कोरियन बिहारका मुख्य गुरु थोम युनले बताए ।
कोरियामा रहेको जेटीएस(ज्वाइन्ट टुगेदर सोसाइटी) संस्थामार्फत उनीहरू बुद्ध जन्मस्थल आएका हुन् । उनीहरू भ्रमणका लागी लुम्बिनी आउँदै गरेको जानकारी एनआरएन कोरीया सस्थाका प्रतिनिधिहरूले एनआरएन आईसीसी मेम्बर(अमेरीका) तृष्णा शर्मालाई गराएका थिए । शर्मा भैरहवाकी हुन् र उनीको पहलमा सिमानाकामा स्वागतलगायतको कार्यक्रम भएको थियो ।
कोरियनहरू १० वटा बसमा बिहान ९ बजेदेखि आउन सुरु गरेका थिए । सिमानाकास्थित अध्यागमन कार्यालय परिसरमा उनीहरूलाई बिभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले फूलमाला, खादा, ढाकाटोपी लगाई स्वागत गरेका थिए ।
बुद्धजन्मस्थल लुम्बिनी आउन पाएकोमा निकै खुसी लागेको टिमकी मिडिया संयोजन मि चोंगले बताइन् । मेरा लुम्बिनी भ्रमण दोस्रो पटक हो, एक वर्षअघि आएकी थिए, मलाई बारम्बार आउन मन लाग्छ, चोंगले भनिन् ।
५१ वर्षीय क्योंग ओक गृहीणी हुन् । बुद्ध धर्म मान्ने उनी पहिलो पटक लुम्बिनी आएकी हुन् । बुद्ध जन्मिएको स्थान आउन पाएकोमा निकै उत्साहित रहेको उनको भनाइ छ ।
भारतीय अध्यागमन कार्यालयमा त्यहाँका अधिकारीहरूले निकै ढिला गरेपछि अत्तालिएका उनीहरू नेपाली भूमि प्रवेश गर्ने बित्तिकै पाएको न्यानो स्वागतले उनीहरू उत्साहित भएको कोरियन निकट दोभाषे तथा अंकुर नेपाल संस्थाका संस्थापक गम्भीर गुरुङले बताए ।
सिमानाकामा पञ्चकन्याहरूले पर्यटकहरूलाई स्वागत गरेका थिए । त्यहा सिद्धार्थ होटल संघ, नेपाल(सान), सोसाइटी अफ टुर एन्ड ट्राभल सोसाइटी नेपाल(सोट्टो नेपाल) प्रदेश ५, जेसिआई सिद्धार्थ लेडी, बेलहिया गाउँ समाजलगायत दर्जन बढी सस्थाका प्रतिनिधिहरूले उनीहरूलाई स्वागत गरेका थिए
सिमानाका बेलहियामा भने उनीहरूलाई निजी क्षेत्रको संघ–संस्था बाहेक अन्य कुनै सरकारी निकायको उपस्थिति थिएन् स्वागतका लागि । नत कुनै नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी प्रचार सामग्री राखिएको थियो ।
स्थलमार्ग भएर सबैभन्दा बढी बिदेशी पर्यटक भित्रने बेलहिया नाकामा सरकारले भ्रमण वर्षको अवसरमा पर्यटकहरूलाई नेपालमा स्वागत छ भनेर कुनै प्रचार सामग्री समेत नराखिनु दुःखद् कुरा भएको एनआरएन आईसीसी तृष्णा शर्माले बताइन् ।
आफूहरू विदेशमा रहे पनि एक जनाले कम्तीमा ३ जनालाई नेपाल भ्रमण गर्न आग्रह गरिरहेको भन्दै स्वदेशमा पनि पर्यटकहरूलाई आउने वातावरण बनाउन आग्रह गरिन् ।
सिद्धार्थ होटल संघ नेपाल(सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ(सिपी)ले निजी क्षेत्रले आफूले सकेको प्रयास गरिरहेको बताउँदै सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । यति ठूलो संख्यामा एकै साथ पर्यटक भित्रनु आफैंमा राम्रो कुरा भएको भन्दै यिनीहरू आफ्नो देश फिर्ता गएपछि थप पर्यटकहरू यही कोरियनमार्फत आउन सक्छन्, यस्तो वातावरण देशमा बनाउनुपर्छ, श्रेष्ठले भने ।
सिमानाकामा सबै पर्यटकलाई सोटो नेपालले चियाको व्यवस्था गरेको थियो । उनीहरू सबैलाई सुरक्षित तरिकाले स्कटिङसहित लुम्बिनी पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक महेश बस्नेतले बताए ।