भ्रमण वर्षअघि नै घटे पर्यटक

⇒२०१९ मा ११ लाख ५२ हजार, अघिल्लो वर्षभन्दा १.७५ प्रतिशत कम ⇒ विमानस्थल बन्द तथा जेट र एयर एसियाको उडान बन्द नै मुख्य कारण |
२० लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो वर्ष (२०१८)को तुलनामा १.७५ प्रतिशले कम हो ।अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी थियो । यसरी हेर्दा सन् २०१८ को पर्यटक आगमन हालसम्मको उच्च देखिएको छ । सन् २०१९ मा पनि नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी दक्षिणी छिमेकी मुलुक भारतबाट २ लाख ९ हजार ६११, दोस्रोमा उत्तरी छिमेकी चीनबाट १ लाख ६९ हजार ५४३ रहेका छन् ।
यस्तै, तेस्रोमा अमेरिकाबाट ९३ हजार १९६, चौथोमा बेलायतबाट ६१ हजार १३९, पाचौँमा श्रीलंकाबाट ५५ हजार ८६९ र थाइल्याण्डबाट ४१ हजार ६५३ रहेका छन् ।विभागले यो संख्या हवाईमार्ग र स्थलमार्गबाट नेपाल भित्रिएको पर्यटकको प्रारम्भिक संख्या भएको जनाएको छ । विभागले भनेको छ, “तथ्यांक केलाइरहेका छौं र केही तलमाथि समेत हुनसक्ने भए पनि संख्यामा त्यति ठूलो फेरवदल भने हुनेछैन ।” सन् २०१८ मा भारतीय पर्यटकको संख्यामा २ लाख ४ हजार ८३ जना पुगेको थियो ।
दोस्रोमा चिनियाँ पर्यटक १ लाख ५३ हजार ६ सय २ जना रहेको थियो ।तेस्रोमा अमेरिकी पर्यटक ९१ हजार ७ सय ८९ जान र चौथोमा श्रीलंकाबाट ७० हजार ६ सय १० जना र पाँचौमा वेलायतबाट ६३ हजार ८६ जना पर्यटक नेपाल भित्रिएका थिए । सरकारले सन् २०२०मा ‘नेपाल भ्रमण वर्ष–२०२०’मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहीअनुरुप सरकारले भ्रमण वर्षको प्रचारप्रसार तीव्र पारेको छ । यस्तै, देशको एकामात्र अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएको छ भने निमार्णाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा ल्याएर भ्रमण वर्षको लक्ष्य पूरा गर्न सरकार लागिपरेको छ ।
यस्तै, नेपाल वायुसेवा निगमले छिमेकी मुलुक चीन, जापानको नारिता, साउदी अरबमा उडान भर्ने जनाएको छ भने निजी क्षेत्रको हवाईसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनका आधा दर्जन सहरलगायत उडान गर्ने जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतको भिस्तारा, स्पाईस, इन्डिगो र कुवेतको जजिरा एयरले काठमाडौंमा उडान गदैंछ । सरकारले यस वर्ष प्रतिपर्यटक दैनिक ६५ डलर खर्च गर्ने र बसाई अवधि १४ दिन पु-याउने लक्ष्य राखेको छ । सन् २०१८को तथ्यांकअनुसार एक पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेको र १२ दिनको औसत बसाइ रहेको सरकारी तथ्यांक छ ।
नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत दिपकराज जोशीले भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन आगमनमा वृद्धि भइरहेको र आगामी वर्ष अझ बढेर जाने नबताउँछन् । उनले एकमात्र अन्तर्राट्रिय विमानस्थल स्तरोन्नतिका कारण १० घण्टासम्म बन्द भएको तथा धेरै पर्यटक ल्याउने भारतको जेट एयरसहित मलेसियाको एयर एसिया बन्द हुँदा गत वर्ष आगमन प्रभावित बने पनि चालू वर्षमा सुधार हुँदै जाने बताए ।
जोशी भन्छन्, “त्रिभुवन विमानस्थल अब २१ घण्टा सञ्चालनमा आएको छ र विभिन्न एयरलाईन्स कम्पनीले काठमाडौं उडान थप गरेको तथा गौतमवुद्ध विमानस्थल पनि सञ्चालनमा आउने भएकाले हामी २० लाख पर्यटकको लक्ष्य यस वर्ष पूरा गर्नसक्छौं ।”सन् २०१९को ११ महिनाको तथ्यांकअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थलको स्तरोन्नतिका कारण अन्तर्राष्ट्रिय यात्रु घटेको र आन्तरिक हवाई यात्रु बढेको जनाएको छ ।