अख्तियारद्वारा बहालवाला र पूर्व विशिष्ठसँग बयान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित, बहालवाला सचिवद्वय अर्जुनकुमार कार्की र गजेन्द्र ठाकुर तथा पूर्व प्रहरीप्रमुख उपेन्द्रकान्त अर्यालसँग भ्रष्टाचारको आशंकामा बयान लिएको छ । क्षेत्री, पण्डित र कार्कीसँग ट्रान्सफरमर घोटालाका विषयमा तथा अर्याल, ठाकुर र काठमाडौं महानगरका सुरक्षा विभागका डीएसपी राजुनाथ पाण्डे र धनपति सापकोटालाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन थालेको हो ।
चीनको हुवेई सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीमा निर्माण भएका ट्रान्सर्फमर खरिदमा अनियमितता भएको प्रकरणमा लामो समय चुप रहेको आयोगले क्षेत्रीसहित पूर्व ऊर्जासचिव कार्की र पण्डितसँग आइतबार बयान लिएको हो । दुवै कम्पनीबाट आयात गरिएका ट्रान्सफर्मर गुणस्तरहिन देखिएपछि विदेशी कम्पनीका प्रतिनीधिसहित तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित ६० जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बारम्बार बिग्रन थालेपछि भएको अनुसन्धानले ट्रान्सफर्मरमा बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा बाहिर तामा र भित्र आल्मुनियम भएको तथ्य खुलेपछि ट्रान्सफर्मर प्रकरण चर्किएको थियो । मुद्दा विचाराधीन अवस्थामै रहेको बेला प्राधिकरणको बोर्डले दुवै कम्पनी आर्विट्रेसन (मध्यस्थकर्ता मा जाने निर्णय गरेको गरेकोमा अहिले अख्तियारले बयान लिएको थियो । आर्बिट्रेसनमा जाने निर्णयलगत्तै मध्यस्थकर्ता नियुक्त गरेर र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको ठहर आयोगको छ । दुई बोर्ड बैठकबाट निर्णय भएकोमा पहिलो बोर्डको अध्यक्ष पण्डित र दोस्रोमा राजेन्द्रकिशोर क्षेत्री थिए भने प्राधिकरणको कार्यकारी निर्देशक कार्की थिए । अख्तियार स्रोतका अनुसार, दुवै बोर्ड बैठकमा सञ्चालक सदस्यहरुलाई समेत अख्तियारले बयानका लागि बोलाउन लागेको छ ।
नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा पठाएका ट्रान्सफर्मरहरु जलेर फर्केपछि परीक्षण गर्दा गुणस्तरहीन थालेपछि प्राधिकरण सञ्चालक समितिले तत्कालीन सञ्चालक सदस्य मुकेश काफ्लेको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले २०६७ साल २२ पुसमा २०६४ सालपछि प्राधिकरणले खरिद गरेका अधिकांश ट्रान्फर्मरहरु गुणस्तरहिन भएको प्रतिवेदन दिएको थियो । नयाँ प्राधिकरण सञ्चालक समितिले पुनः अर्का तत्कालीन सञ्चालक डा. केपी दुलालको संयोजकत्वमा छानवीनका लागि अर्को समिति गठन गरियो । उनले २०६३÷०६४ सालदेखि ०६७÷०६८ सम्म खरिद गरिएका करिब ५ हजार ट्रान्सफर्मरहरु गुणस्तरहीन भएको २०६८ चैतमा प्रतिवेदन दिएका थिए । प्रतिवेदनले विभिन्न Ôमताका झण्डै ४ हजार ६ सय ५७ ट्रान्सफर्मर गुणस्तरहिन भएको उल्लेख गरेकोमा हालसम्म सो अवधिमा आयात भएका चार लटको फाइल मात्र अख्तियारले अनुसन्धान गरेको छ भने अन्य फाइलबारे अनुसन्धान हुन सकेको छैन । अझ जेके होल्डिङ र सेनयाङ डोङजेङ इलेक्ट्रिसिटी इक्युपमेन्ट कम्पनी लिमिटेडबाट खरिद गरिएका ट्रान्सफर्मरमा बाहिर र भित्र दुवैतिर आल्मुनियम भेटिएपनि यसबारे समेत अख्तियारले अझै अनुसन्धान अघि बढाएको छैन ।
यस्तै, आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक उपेन्द्रकान्त अर्याल र सरकारका सचिव गजेन्द्र ठाकुर तथा काठमाडौ महानगरपालिका सुरक्षा विभागका डीएसपी राजुनाथ पाण्डे र धनपति सापकोटालाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानवीनका लागि बोलाएको छ । अख्तियारको पत्रपछि तीनै जना आइतबार अख्तियार पुगेका थिए । अर्याल, पाण्डे र सापकोटासहित पूर्वमुख्यसचिव क्षेत्री, पुर्व सचिवद्वय कार्की र पण्डितविरुद्धको उजुरीमाथि प्रमुक्त आयुक्त दीप बस्नेत र आयुक्त सावित्री थापा गुरुङसहितको समूहले छानबिन गरिरहेको अख्तियार स्रोतले जनाएको छ ।