पोखरालाई पर्यटकीय हब बनाउनु पर्छः मन्त्री भट्टराई «

पोखरालाई पर्यटकीय हब बनाउनु पर्छः मन्त्री भट्टराई

पोखरा-गत वर्षको सडक महोत्सव सुरु हुनु केही साता अघि देखि नै आलोचित भएकोमा यस वर्ष भने महोत्सव सुरु भएका दिनदेखि स्थानीयले गुनासो गर्न थालेका छन् । गत वर्ष महोत्सवको अवसरमा ५० प्रतिशत होटलमा मूल्य वृद्धि हुन सक्छ भनी सार्वजनिक गरिएको हुँदा आलोचित भएपनि यस वर्ष पोखरा २३, २४ र १८ मा बाटोनै अवरोध भएको भन्दै स्थानीयले गुनासो गर्र्न थालेका हुन् ।
त्यसैगरी महोत्सवमा राखिएका स्टलहरुले मूल्युस्ची बिना खाध्यवस्तु बिक्री वितरण गरेका छन् । यस वर्षदेखि मूल्यसूची अनिवार्य गरिएको रेवान पोखराले जनाए पनि महोत्सव उद्घाटनको दिनमा अधिकांश रेष्टुरेण्टसहितका स्टलमा मूल्यसूची राखिएको थिएन । फेवा पर्यटन विकास समितिका अध्यक्ष रामकुमार राईले सडक महोत्सवको नाममा आफूहरुले सास्ती भाग्नु परेको गुनासो गरेका छन् । “पोखरामा सडक महोत्सव चलिरहँदा मुख्य बजारमा आउ जाउ गर्ने बाटोमा रोक लगाएसँगै हामीलाई धेरै असर परेको छ” उनले भने, “हामीलाई सहज ढंगले जाने तथा आउने वातावरण मिलाउनु प-यो ।” अघिल्ला वर्षमा डिहिकोपाटनबाट हल्लनचोक हुँदै सेतीबगर, मापेतर्फ जाने भित्री बाटो भए पनि यस वर्ष धेरै पसलहरु सञ्चालन भएसँगै सडकै जाम हुँदा आवात जावातमा समस्या भएको थापाले बताए ।
पोखरा महानगरपालिका–१८ का वडा अध्यक्ष रणबहादुर थापाले सडक महोत्सवको नाममा आफुहरु प्रभावित भएको बताए । उनले भने “सडक महोत्सवको नाममा हामीलाई नाकावन्दी भयो, सेतीबगर, पामे, चापाकोट, ठुला खेत लगायतका क्षेत्रमा जाने स्थानीयलाई हल्नचोकबाटै प्रहरी लगायर रोकिए पनि हामी नाकावन्दीको मारमा प¥यौं ।”
यसैबीच, २१ औं पोखरा सडक महोत्सवको शनिबार पोखरामा एक समारोहबीच उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पोखरा पर्यटकीय हबको रुपमा विकास गर्ने बताए । उनले थप पर्यटनका पूर्वाधार निर्माण गर्न आग्रह पनि गरे । मन्त्री भट्टराईले पोखरा हवाई उडान र पर्यटकीय हब (केन्द्र) को रुपमा विकसित हँुदै गएकाले चाँडै नै रातिको समयमा पनि पर्यटकहरुलाई सेवा दिने गरी तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
उनले भने “पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान भएसँगै यहाँ राति आउने पाहुनाको स्वागतार्थ पोखराले स्वागत सत्कार गर्न सक्नु पर्छ ।”
यो क्षेत्रका पर्यटकीय सम्भावना भएका क्षेत्रलाई अगाडी बढाउने सिलसिलामा सरकारको तर्फबाट सहयोग हुने बताउँदै मन्त्री भट्टराईले प्रदेश र स्थानीय तहमा नयाँ पर्यटकीय गन्तव्य खोज्न आग्रह गरे । सन् २०२१ बाट विदेशी पर्यटकहरु सिधै पोखरामा आउने हुँदा पोखरामा पर्यटनका अन्य भौतिक पूर्वाधारमा धेरै र ठूलो लगानी गर्नुपर्ने मन्त्री भट्टराईले खाँचो औलाए । पोखरेलीको माग बमोजिम रत्नमन्दिर र हिमागृह पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नेपाल ट्रस्ट समक्ष खुल्ला गर्न परिपत्र समेत गरिसकेको उनले उल्लेख गरे ।
गण्डकी प्रदेश सांसद राजीव पहारीले रत्नमन्दिर र हिमागृह जति सक्दो छिटो पर्यटकीय गन्तव्यको रुपमा खुल्ला गरिनुपर्ने बताए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा सडक महोत्सव पोखराको एउटा ब्राण्ड नै बनेको बताउँदै पोखरामा आन्तरिक पर्यटकसहित वार्षिक रुपमा १० लाख भन्दा बढी पर्यटक आउने गरेको दाबी गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोख्रेलले रत्नमन्दिर र हिमागृह पार्कको रुपमा खुल्ला गरिनुपर्ने माग गरे ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा शनिबारदेखि सडक महोत्सव सुरु भएको हो । पुस १६ गतेसम्म पोखराको लेकसाइडस्थित करिब ३ किलोमिटर सडक क्षेत्रमा चल्ने उक्त महोत्सवमा विभिन्न जनजातिका खाना, नेपाली कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्