Logo

ऊर्जा क्षेत्रमा नयाँ ऊर्जा

 
माथिल्लो कर्णाली आयोजना निर्माणमा विगतदेखि नै केही आन्तरिक समस्या देखिएकाले सहजीकरणमा सरकारको प्रभावकारी भूमिका अपेक्षित छ ।

नेपालमा उत्पादित बिजुली चाँडै मागभन्दा बढी हुने देखिन्छ । विद्युत् माग बढ्नै नसकेको अवस्थामा उत्पादन भने बढिरहेकै छ । पाइपलाइनका केही योजना सम्पन्न हुनेबित्तिकै नेपालमा बिजुली बढी हुने निश्चितजस्तै देखिन्छ तर आन्तरिक बजार भने त्यति ठूलो छैन । जलस्रोतको धनी देश भए पनि नवीकरणीय ऊर्जाको प्रमुख स्रोत विद्युत्को उत्पादन लागत र बजार मूल्य दुवै अत्यधिक भएकाले यस क्षेत्रमा लगानीको आकर्षण पनि पहिलेजस्तो देखिँदैन । लगानीकर्ताको आकर्षण बढ्न नसक्नुको अर्को मुख्य कारण हो, भरपर्दो बाह्य बजारको अन्योल । नेपालका छिमेकी मुलुकमा ऊर्जाको माग बढी नै भए पनि त्यहाँको बजारबारे अन्योल धेरै नै छन् । यही विषय टुंगो लाग्न नसक्दा केही वर्षदेखि यस क्षेत्रमा लगानी सुस्त छ ।
जलविद्युत् क्षेत्रमा लगानीको अन्योल बढिरहेकै बेला सुखद समाचार बाहिर आएको छ । भारतीय लगानीकर्ताले उत्पादन गर्ने माथिल्लो कर्णालीको बिजुली भारत हुँदै बंगलादेशसम्म पु¥याउने केही वर्षयताको प्रयासले सार्थकता पाउने देखिएको छ । बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी क्याबिनेट कमिटी (सीसीपीपी) ले माथिल्लो कर्णालीको बिजुली किन्न त्यहाँको ऊर्जा विकास बोर्ड (बीपीडीबी) लाई सहमति दिएसँगै नेपालको ऊर्जा क्षेत्रमै नयाँ ऊर्जा सिर्जना भएको छ । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बंगलादेशले किन्ने निर्णय गरेसँगै अब नेपाल भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत् व्यापारको लागि ढोका खुल्ने निश्चित भएको छ । त्रिदेशीय विद्युत् व्यापार नेपालका लागि अभूतपूर्व अवसरसँगै नयाँ अवसरको सिर्जना पनि हो ।
त्यसो त नेपाली बिजुलीका लागि भारत नै सबैभन्दा ठूलो बजार पनि हो भने भौगोलिक दूरीका हिसाबले त्यति टाढा नरहेको बंगलादेशमा पनि बिजुली बेच्न सकियो भने नेपालको विद्युत् व्यापार विविधीकरण भई मुलुकको ऊर्जा क्षेत्रको दिगो विकास सम्भव छ । ठूलो जनसंख्या भएको र उत्साहजनक ढंगले आर्थिक विकास गरिरहेको बंगलादेशसँग विद्युत् व्यापारसँगै अन्य क्षेत्रमा पनि साझेदारी गर्न सकिने सम्भावना छन् र विद्युत् व्यापारसँगै ति क्षेत्रका ढोका पनि खुल्नेछन् । नेपालमा उत्पादित बिजुलीको एकमात्र बजार भारत हुनुपर्ने अवस्थाभन्दा बंगलादेशलगायत अन्य मुलुकमा समेत बिजुली बेच्न सकियो भने खरिमा भारतीय एकाधिकार अन्त्य भई उचित मूल्य पाउन सकिन्छ । यद्यपि, बिजुली भनेको कुनै पनि उद्योग वा व्यवसायका लागि कच्चा पदार्थसरह हो । कच्चा पदार्थ नै निर्यात गरेर संसारका कुनै पनि मुलुक धनी भएका छैनन् । यसैले पनि बिजुलीको आन्तरिक खपतमै जोड दिनुपर्छ र जुन देशमा प्रतिव्यक्ति विद्युत् खपत बढी छ सोही मुलुक समृद्ध मानिने भएकाले पनि यसतर्फ नेपालले विशेष जोड भने दिइरहनुपर्छ ।
अर्कातर्फ माथिल्लो कर्णाली आफैंमा भने आन्तरिक रूपमा केही समस्या रहेको आयोजना पनि भएकाले अब त्रिदेशीय विद्युत् साझेदारीको अवसरलाई चाँडोभन्दा चाँडो परिणाममुखी बनाउन सरकारले यो आयोजना निर्वाध सम्पन्न हुने वातावरण बनाउनुपर्छ । आयोजना समयमै बन्न सकेन र निकासीको लक्ष्य पूरा हुन सकेन भने नेपाल र नेपालीप्रतिकै विश्वासको संकट उत्पन्न हुनसक्नेतर्फ पनि सरकार सचेत बन्नुपर्छ । यसमा कानुनी अड्चनमात्र नभइ भौतिक निर्माणकै गाँठा फुकाउन पनि सरकारको भूमिका उत्तिकै अपेक्षित छ ।

प्रतिक्रिया दिनुहोस्