दसैं र नेपालको अर्थतन्त्र

हिन्दू धर्मावलम्बी नेपालीहरूको प्रमुख चाड दसैं नजिकिएको छ । दस दिनसम्म मनाइने राष्ट्रिय पर्वका रूपमा रहेको दसैंले धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा निकै महत्व राख्छ । सँगसँगै, नेपालको सन्दर्भमा दसैंले अर्थतन्त्रलाई बहुआयामिक रूपमा चलायमान र गतिशील तुल्याउने मात्र नभई नकारात्मक रूपमा पनि उत्तिकै प्रभाव जमाउने प्रमुख पर्वका रूपमा समेत देखिन थालेको छ ।
आर्थिक दृष्टिकोणबाट हेर्दा दसैं खुसीयालीको पर्व मात्र नभई सुस्ताएको बजारलाई चलायमान बनाउने पर्व पनि हो । दसैंको समयमा औपचारिक रूपमा नै ठूलो मात्राको रकम एकैपटक अर्थतन्त्रमा प्रवाह हुने गर्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत खर्च असोज र कात्तिक महिनामा हुने गरेको तथ्यांक छ । यी महिनाहरूमा दसैंतिहारलगायतका ठूला चाडहरू पर्ने गर्छन् । दसैंको समयमा सरकारी, निजी र अनौपचारिक क्षेत्रमा रोजगाररत सबैले दसैं खर्च एवं बोनस पाउने भएकाले यसबाट पनि अरबौं रुपैयाँ अतिरिक्त आम्दानीका रूपमा बजारमा भित्रिने गर्छ । सरकारी कर्मचारीहरूका लागि मात्रै दसैंअघि चाडपर्व खर्चको भुक्तानीका रूपमा १५ अर्ब हाराहारी रकम खर्च हुने गरेको तथ्यांक छ । यसबाहेक निजी क्षेत्रबाट पनि योभन्दा निकै ठूलो हिस्सा कर्मचारीहरूको दसैं खर्चका रूपमा बजारमा पुग्ने गर्छ ।
देशको कुल जनसंख्याको एकतिहाइभन्दा बढी हिस्सा दसैंतिहारका समयमा मुलुकको एक भागबाट अर्को भागमा आवतजावत गर्ने भएकाले सिंगै मुलुक हरेक हिसाबले चलायमान भइरहेको हुन्छ । अर्कातर्फ आवतजावतका क्रममा यातायातका क्षेत्रमा मात्रै ८ अर्बभन्दा बढीको कारोबार हुने यस क्षेत्रका व्यवसायीहरूको अनुमान छ । चाडपर्व मनाउन र आफन्तजनहरूसँग भेटघाटका लागि खासगरी सहरवासीहरू ग्रामीण भूभागतिर जाने भएकाले सहरको आम्दानी गाउँमा पुग्ने माध्यम र अर्थतन्त्रका लाभहरू सीमान्त वर्गसम्म पुग्ने अवसरका रूपमा समेत दसैं रहेको छ । दसैंको समयमा आमनागरिकलाई नयाँ वा सुकिला नोटको मोह पनि उत्तिकै रहने गर्छ ।
यस वर्ष केन्द्रीय बैंकले सुकिला नोट सटही गर्न सक्ने व्यवस्था मिलाएको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्षको दसैंतिहारमा अरबौं रुपैयाँबराबरका नयाँ वा सुकिला नोटहरू बजारमा पठाउने गरेको छ । दसैंको समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने विप्रेषणको रकम पनि ह्वात्तै बढ्ने गर्छ । विगत वर्षहरूको तथ्यांक हेर्दा औपचारिक माध्यमबाट वार्षिक रूपमा भित्रिने विप्रेषण रकमको ठूलो हिस्सा यही सिजनमा देशमा भित्रिने गरेको अवस्था छ । यसरी हेर्दा दसैंको आसपासमा अर्थतन्त्रमा ठूलो मात्रामा नगद चलायमान हुने र खर्चको मात्रा पनि उत्तिकै बढ्ने गरेको अवस्था छ । दसैंतिहारको तीन सातामा नेपालीहरूले कुल उपभोगको झन्डै २५ प्रतिशत खर्च गर्ने अनौपचारिक तथ्यांक छ । यति धेरै उपभोग खर्च चाडपर्वमा नै हुनु भनेको अर्थतन्त्रमा विरलै हुने घटनाका रूपमा लिने गरिन्छ ।
दसैंको आरम्भसँगै धेरै चलायमान हुने अर्को मुख्य क्षेत्र व्यापार पनि हो । दसैंको शुभारम्भ हुनुभन्दा निकै दिनअघिदेखि नै साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र सपिङ मलहरू छुट, आकर्षक उपहारलगायतका सुविधा एवं सहुलियतहरूसहितका विज्ञापनले झकिझकाउ भइरहेका हुन्छन् । पत्रपत्रिका, सामाजिक सञ्जाललगायत आमसञ्चारका माध्यमहरू व्यापारिक छुट र सहुलियतका आकर्षक विज्ञापनहरूले ढाकिने गर्छन् । एक हिसाबले दसैंको समय मानिसहरूका लागि खरिददारीको मौसमका रूपमा रहेको हुन्छ । व्यापारिक स्थलहरूमा देखिने भीडभाड र कोलाहलले पनि यसको पुष्टि गरिरहेको हुन्छ ।
दसैंको समयमा नयाँ लत्ताकपडा, गरगहना, खानपानका लागि आवश्यक उपभोग्य सामग्रीहरूदेखि लिएर सवारी साधन, भाँडाकुँडा, विद्युतीय सामानजस्ता अनेकन् वस्तुको किनमेलमा मानिसहरू जुट्ने गर्छन् । फलफूल, मरमसलादेखि लिएर थुप्रै घरायसी सामानको कारोबार दसैंको समयमा चुलिने गर्छ । पछिल्ला वर्षहरूमा विशेष गरी सहरी क्षेत्रहरूमा दसैं, तिहारलाई नयाँ सामान जोड्ने पर्वका रूपमा समेत मनाउन थालिएको पाइन्छ । व्यापारीहरूको भनाइमा नुनदेखि सुनसम्म वर्षभरिको मुख्य कारोबार हुने सिजन भएकाले वर्षभरिमा हुने व्यापारको ठूलो हिस्सा कारोबार दसैंतिहारको समयमा नै हुने गर्छ । यसबाट नेपालको व्यापारिक क्षेत्रमा ठूलो कारोबार हुने ‘पिक सिजन’का रूपमा दसैं रहेको छ ।
दसैंतिहारजस्ता चाडपर्वले अर्थतन्त्रलाई व्यापक रूपमा चलायमान गराउने र थुप्रै सकारात्मक प्रभाव छोड्ने भए पनि यसका नकारात्मक पाटा पनि उत्तिकै छन् । दसैंतिहारको समयमा ठूलो मात्रामा खर्च हुने गरे पनि यसको अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्छ । एक हिसाबले दसैं उपभोगको पर्वका रूपमा रहेको छ । खर्चको ठूलो मात्रा उत्पादनमूलक क्षेत्रमा नभई उपभोगमा खर्चिने स्थिति अर्थतन्त्रका लागि हितकर हुन सक्दैन । अर्कातर्फ, पछिल्लो समयमा ‘राम्रो लगाउने र मीठो खाने पर्व’का लागि खरिद गरिने, लगाउने एवं खाने अधिकांश वस्तु आयातित हुन थालेका छन् । दसैंमा गरिने खर्च र यससम्बद्ध धेरै क्रियाकलापले आयातलाई प्रश्रय दिइरहेको देखिन्छ ।
राम्रो लगाउने नाममा लत्ताकपडामा ठूलो रकम खर्च हुने तर स्वदेशी उत्पादनले बजारलाई भर नगर्ने भएकाले यसमा गरिने अधिकांश खर्च बिदेसिने गर्छ । पछिल्ला वर्षहरूमा खानपानका सामग्री पनि विदेशी नै हुन थालेका छन् । विगतमा दसैंका लागि भनेर खसीबोका, हाँस, कुखुरा आदि पालिने र मासुका रूपमा उपयोग गरिने प्रचलन थियो । हालका दिनहरूमा कृषि पेसाप्रति विभिन्न कारणबाट मानिसमा देखिएको विकर्षणका कारण देशभित्रको मासुजन्य उत्पादनले आन्तरिक बजार मागको १५ प्रतिशत हिस्सामात्रै धानिरहेको तथ्यांक छ ।
यसको अर्थ, दसैंमा मासुका लागि खसी, बोका, च्यांग्रा, कुखुरालगायतका जनावरमात्रै ८५ प्रतिशत आयातित रहने गर्छन् । कृषिप्रधान भनिएको मुलुकमा धान, चामललगायतका दैनिक खाद्यवस्तुदेखि लिएर जिरा, धनियाँ र लसुन–प्याजसमेत भारत एवं चीनबाट आयात गरी उपभोग गर्नुपर्ने र चाडबाड मान्नुपर्ने स्थितिमा हामी पुगिसकेका छौं । विप्रेषण आयमार्फत यो सिजनमा देशमा भित्रिएको रकमको पनि अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्छ । दसैंतिहारको समयमा ठूलो मात्रामा हुने उपभोग खर्चले हरेक कोणबाट आयातलाई बढावा दिइरहेको हुन्छ । यस किसिमको अवस्थाले दसैंतिहारजस्ता पर्वहरू देशमा चुलिएको व्यापारघाटालाई अझै उचाइमा पुर्याउने पर्वका रूपमा स्थापित भइरहेका छन् ।
चाडबाडको समयमा हरतरहले बजारमा मुद्राको आपूर्ति बढेसँगै अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार नै बजार मूल्यसमेत बढ्ने गर्छ । दसैंको आसपासमा एकैपटक ठूलो मात्रामा नगद प्रवाह भएसँगै उपभोक्ताको क्रयशक्ति बढ्ने र यसबाट बजारको कारण सँगसँगै फेरिएको उपभोग प्रवृत्तिले समेत मूल्यवृद्धि माथि चाप पर्ने गर्छ । यसबाट गरिब एवं सीमान्तकृत नागरिकलाई चाडपर्व मान्ने ध्याउन्न र देखासिकीका कारण अझै गरिबीतर्फ धकेलेका अनेकौं दृष्टान्त छन् । ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ भन्ने प्रचलित नेपाली उखानले समेत यस खालको अवस्थाको उजागर गरिरहेको छ । मुद्राको ठूलो मात्रा बजारमा एकैपटक भित्रने र मागमा व्यापक बढोत्तरी भई बजार मूल्य पनि ह्वात्तै बढ्ने अवस्था स्वस्थ अर्थतन्त्रको द्योतक होइन ।
यस किसिमका नकारात्मक पाटालाई ठेगान लगाउन र दसैंलाई मुलुकी अर्थतन्त्रको हितमा उपयोग गर्नका लागि विभिन्न सुधार आवश्यक छन् । दसैंतिहारको समयमा ठूलो मात्रामा खर्च हुने र यसको अधिकांश हिस्सा उपभोग खर्चमा नै सीमित हुने स्थितिमा सकेसम्म न्यूनतम खर्चमा मितव्ययी हिसाबले चाडबाड मनाउने परम्परालाई स्थापित गरिनुपर्छ । दसैंमा हुने खर्चको केही अंशलाई मात्रै बचत गर्न र पुँजी निर्माणमा लगाउन सकिएमा यसबाट अर्थतन्त्रमा सोझै सकारात्मक प्रभाव पर्ने भएकाले यसतर्फ सबैलाई प्रेरित गरिन जरुरी छ ।
उपभोग खर्चको ठूलो हिस्सा आयातित सामानमा बिदेसिने गरेको स्थितिलाई मध्यनजर गर्दै सम्भव भएसम्म स्वदेशी उत्पादनको उपभोग गर्नेतर्फ ध्यान पुर्याइनु आवश्यक छ । मुलुकभित्र कृषिजन्य उत्पादन एवं औद्योगिक उत्पादनलाई वृद्धि एवं विस्तार गर्न सकिएमा स्वदेशी वस्तुको उपभोगमा खर्च भई अर्थतन्त्रमा गुणात्मक योगदान पुग्न सक्ने तथ्यलाई गम्भीरताका साथ लिन पनि ढिला भइसकेको छ । नेपालको सन्दर्भमा दसैं, तिहारजस्ता ठूला चाडहरूमा हुने खर्चको आधा अंशमात्रै स्वदेशभित्र राख्न सक्ने वातावरणको सिर्जना गर्ने हो भने यसले नेपाली अर्थतन्त्रमा महसुस गर्न सकिने गरी सकारात्मक प्रभाव पर्ने निश्चित छ ।
दसैं, तिहारजस्ता परम्परागत चाड हाम्रो संस्कृति र सभ्यतासँग जोडिएका रमाइला एवं राष्ट्रिय रूपमा परिचायक पर्वहरू हुन् । यस्ता पर्व मनाइनु र संस्कृतिको जगेर्ना गरिनु निश्चय नै सकारात्मक कदम हो । तर, यसखालका पर्वहरू मनाइरहँदा यसभित्रका आर्थिक पक्षहरूलाई पनि मध्यनजर गरिनु आवश्यक छ । संस्कृतिको जगेर्ना गर्दै दसैं, तिहार मनाउने क्रममा गरिने ठूलो खर्चका कारण अर्थतन्त्रमा देखिएका र देखिन सक्ने यावत् नकारात्मक प्रभावबाट मुलुकी अर्थतन्त्रलाई मुक्त राख्दै यसका सकारात्मक पाटाहरूलाई पक्षपोषण गर्न सके दसैंलाई देशको आर्थिक हितमा समेत उपयोग गर्न सकिने अवस्था रहन्छ । विजयको चाड मानिने दसैंले अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव र धमिला परिदृश्यहरूलाई पराजित गर्दै आर्थिक समृद्धिको खुड्किलो चढ्ने पर्वका रूपमा स्थापित हुन सकोस्, सबैलाई दसैंको शुभकामना !