Logo

हकप्रद सेयरको लहर

पछिल्लो समय कम्पनीहरूले धमाधम हकप्रद सेयर जारी गर्ने गरिरहेका छन् । हकप्रद सेयर जारी गर्ने कम्पनीमा जलविद्युत र बीमा कम्पनीहरू रहेका छन् । त्यसो त बीमा कम्पनीका लागि आफ्नो पुँजी बढाउन चटारो भइरहेको छ । बीमा प्राधिकरणले बीमा कम्पनीलाई पुँजी बढाउन निर्देशन दिएका कारण पुँजी बढाउनुपर्ने भएको हो । जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ सय ५० करोड पुँजी पुर्‍याउनुपर्ने भएको छ । जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन इन्स्योरेन्स कम्पनीले मात्र पुँजी पुर्‍याइसकेका छन् । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स बनेको थियो । अधिकांश बीमा कम्पनीले पुँजी बढाउनुपर्ने भएको छ । अहिले बीमा कम्पनीले पँुजी बढाउने एजेन्डासहित वार्षिक साधारणसभा बोलाउने गरिरहेका छन् भने केहीले विशेष साधारण सभा बोलाएका छन् ।

कतिपय बीमा कम्पनीले पुँजी बढाउनका लागि मर्जर पनि गरिरहेका छन् । तर पनि केही कम्पनीले बीमा प्राधिकरणले तोकिएबमोजिमको पुँजी पुर्‍याउन सकिरहेका छैनन् । पछिल्लो समय बीमा कम्पनीका लागि पुँजी बढाउन सकस नै भइरहेको छ भनेर बताउँछन् सराकारवालाहरू । कतिपय बीमा कम्पनीले पुँजी बढाउने विकल्पका रूपमा हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेका छन् भने केही कम्पनीले बोनस सेयर वितरण गरेर पुँजी पुर्‍याउने तयारी गरिरहेका पनि छन् । त्यसो त प्रिमियममा आइपिओ जारी गर्ने बीमा कम्पनीले प्रिमियमबाट आएको रकमलाई बोनस सेयरका रूपमा वितरण गर्ने गरिरहेका पनि छन् भन्दा पनि फरक नपर्ला ।

त्यसो त अधिकांश लगानीकर्ता भने कम्पनीहरूले हकप्रद सेयरबाट भन्दा पनि बोनस सेयरबाट पुँजी बढाउनुपर्ने बताइरहेका छन् । पुँजी बढाउनका लागि सिटिजन्स लाइफ इन्स्योरेन्सले एक वर्षमा दुईपल्ट लाभांशको समेत घोषणा गरेको थियो । तर, बीमा प्रधिकरणले रद्द गरेको छ । एक वर्षमा दुईचोटि लाभांश वितरण गर्न पाइँदैन । कतिपयको भनाइमा हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्दा होस् वा मर्जर गर्दा होस्, लगानीकर्ताले नोक्सानी बेहोर्नुपर्ने भइरहेको छ । यस कारणले पनि अधिकांश लगानीकर्ताको भनाइ बोनस सेयरले नै पुँजीवृद्धि गर्नुपर्ने रहेको छ । तर पनि बोनस सेयरबाट पुँजी वृद्धि गर्न सकस रहेको बताउँछन् सरोकारवालाहरू । यस कारणले पनि बीमा कम्पनीले हकप्रद सेयर तयारी गरिरहेको बताउँछन् उनीहरू ।

पछिल्लो समय कतिपय जलविद्युत कम्पनीले पनि हकप्रद सेयर जारी गरिरहेका छन् । कतिपय कम्पनीले हकप्रद सेयर जारी गरिसकेका छन् भने कतिपयले जारी गर्नका लागि सेबोनमा पाइपलाइनमा रहेको सरोकारहरू बताउँछन् । त्यसैगरी कतिपय कम्पनीले हकप्रद सेयरको मुख्य एजेन्डाका साथ साधारणसभा गर्ने गरिरहेका छन् । पछिल्लो समय हकप्रद सेयर जारी गर्ने कम्पनीमा धेरैजसो जलविद्युत र बीमा कम्पनीहरू रहेका छन् । कतिपय कम्पनीले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्‍याउनका लागि हकप्रद सेयर जारी गर्ने गरेका छन् भने कतिपय जलविद्युत कम्पनीले आफ्नो ऋण तिर्न भनेर हकप्रद सेयर जारी गर्ने गरेका छन् । यहाँ हकप्रद सेयर आवश्यता कि बाध्यता भन्ने प्रश्न पनि उठ्छ । ऋण चुक्ता गर्न हकप्रद सेयर जारी गर्ने गरेकोमा कतिपय सेयरधनीले असन्तुष्टि पनि जाहेर गरिरहेका छन् । कम्पनीको ऋण तिर्नैका लागि हकप्रद सेयर जारी गरेर सेयरधनीलाई प्रेसर दिनु ठीक नभएको सरोकारवालाहरू बताउँछन् ।

हकप्रद सेयर जारी गर्ने गरेका कतिपय जलविद्युत कम्पनीको नेटवर्थ १ सयभन्दा तल छ । १ सयभन्दा तल रहेका सेयरको १ सय रुपैयाँ तिरेर हकप्रद सेयर भर्नुपर्ने अवस्था छ सेयरधनीका लागि । नखाऊँ भने दिनभरको सिकार, खाऊँ भन्ने कान्छा बाउको अनुहारजस्तै भएको छ । त्यसो त हकप्रद सेयरको निष्कासनले सेयर बजारमा पनि असर गर्ने गरेको बताउँछन् सरोकारवालाहरू । भारी मात्रामा कम्पनीले हकप्रद सेयर जारी गरिरहँदा सेयर बजारमा समेत गिरावट आउने गरेको छ । हकप्रद सेयर जारी गरिसकेका जलविद्युत कम्पनीको सेयर मूल्य बजारमा घट्दै छ । भारी मात्रामा हकप्रद सेयर जारीपछि सेयर बजारमा बिक्रीको चाप बढ्ने गरेको छ । बिक्रीको चाप बढेपछि सेयरको मूल्यमा गिरावट आउने त स्वाभाविक नै हो । पछिल्लो समय लगानीकर्ताको मनोबल पनि खस्किँदो अवस्थामा छ । सेयर बजारप्रति लगानीकर्ता आत्मविश्वास बढाउन सकिरहेका छैनन् । अर्कातिर नयाँ–नयाँ लगानीकर्ताको प्रवेश पनि हुन सकिरहेको छैन ।

सेयर बजारमा नयाँ–नयाँ कम्पनीका सेयर थपिँदै छन् भने हकप्रद सेयर पनि थपिँदै छ । यसले सेयर बजारमा नकारात्मक असर पर्ने गरेको छ । जानकारहरूको भनाइमा अब केही वर्ष आइपिओ-एफपिओ हकप्रद सेयर र बोनस सेयरको स्वीकृति दिन स्थगन गर्नुपर्ने देखिन्छ भने कम्पनीले पनि आफ्ना सेयरधनीलाई लाभांशको रूपमा केही वर्षका लागि बोनस सेयरभन्दा नगद लाभांश दिन जोड गर्नुपर्ने देखिन्छ । यो सेयर बजारका लागि उपयुक्त पनि हुनेछ । धेरैजसो सेयरधनीको आकर्षण नगद लाभांशमा भन्दा पनि बोनस सेयरमा रहेको देखिन्छ । सेयर बजारका जानकारहरू भने लाभांशमा बोनस सेयरभन्दा पनि सेयर बजारका लागि नगद लाभांश राम्रो हुने बताउँछन् । हकप्रद सेयरले जस्तै बोनस सेयरले पनि सेयर बजारमा सेयरको संख्या बढाउँछ । यसको असर सेयरको मूल्यमा पर्ने गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्