Logo

शिकारमा प्रतिस्पर्धा घट्दै

 शिकार खेलेर मनोरञ्जन लिने चलन विगतदेखि नै चल्दै आएको छ । इतिहासका राजा महाराजा वन्यजन्तुको शिकार खेलेर मनोरञ्जन लिन्थे । अहिलेको जस्तो मनोरञ्जनको अन्य कुनै पनि माध्यमहरु थिएनन् । राजाहरु दरबार छोडेर शिकारका लागि कैयौं दिन जंगलमै बिताउने गरेको कुरा इतिहासमा उल्लेख छ । शिकार भेटेपछि खुसी हुन्थे । जंगलमा जे पायो, उनीहरुको शिकार गर्दा राजा महाराजलाई कुनै युद्ध नै जिते जस्तो प्रशन्न हुने गरेको इतिहास छ । भगवान पनि जंगलमा शिकार खेलेर रमाउने गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
भगवानदेखि राजामहाराजा मात्रै होइन, गाउँका जिम्माल मुखियाहरु पनि जंगलमा नै शिकार खेलेर मनोरञ्जन लिन्थे । बाघ मार्नेलाई बहादुर भनेर गाउँमा बाजा गाजासहित अबिर माला लगाएर गाउँ घुमाइन्थ्यो ।
राणाशासन कालमा शिकार नियन्त्रणका केही कानुनी प्रावधानहरु त भए तर उनीहरुका लागि त्यो नियम लागू हुन्थेन । लागू हुन्थ्यो त केवल सर्वसाधारणका लागि । शिकार गर्नुलाई बहादुरीको रुपमा लिइन्थ्यो । समयको विकाससँगै वन्यजन्तु अधिकारका कुराहरु आए । वन्यजन्तुको छुट्टै ऐन २०२९ र नियमवाली २०३० ले वन्यजन्तु शिकारलाई कडाइ रुपमा नै प्रतिबन्ध गरायो । इतिहासमा झैं खुलेर वन्यजन्तुको शिकार गर्न पाइँदैन । गैरकानुनी रुपमा अझै पनि गुलेलीले चराहरु मार्ने र मनोरञ्जन लिने, अन्य वन्यजन्तुहरुको शिकार गरेर तस्करी गर्ने लगायतका घटनाहरु त रोकिएको छैन नै । सरकारले ढोरपाटन शिकार आरक्षमा नाउर, झारल लगायतका वन्यजन्तु शिकार गर्न पाउने व्यवस्था गरेको छ ।
शिकारीलाई शिकारको मोहले तान्दै विदेशबाट नेपालसम्म ल्याउँछ । प्राकृतिक रुपमा रमाइलो तर असहज ठाउँमा शिकार गर्न शिकारी रमाउँछन् । असहज ठाउँमा शिकार गर्नुमा उनीहरु आफ्नो बहादुरी ठान्छन् । सरकारको अनुमति पाएपछि उनीहरु शिकार गर्छन् र सजाउनका लागि अखेटोपहार लैजान्छन् ।
ढोरपाटनमा शिकार गरेर मनोरञ्जन लिन अमेरिका, जर्मन, अष्ट्रेलियालगायतका विकसित देशका नागरिकहरु आउने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसार विगतमा शिकार गर्न पर्यटकहरु जहाज चार्टर गरेर नेपाल आउने गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चार्ज महँगो भएको भन्दै भारतको लखनउमा पार्किङ गर्न लैजान्छन् । यसबाट प्रष्ट हुन्छ, सम्पन्न व्यक्तिमा शिकारको मोह अझै छ ।
सरकारले विदेशी नागरिकका लागि नाउरको एक लाख र झारलका लागि ५० हजार रुपैयाँ न्यूनतम राजस्व तोकेको छ । अनुमतिका लागि भएको कडा प्रतिस्पर्धामा महँगो मूल्यसमेत तिर्न राजी हुन्छन्, शिकारी पर्यटकहरु । अमेरिकी नागरिक क्रिस्टोफर अल्लेन जेक्सनले झारल शिकार अनुमतिका लागि १३ लाख रुपैयाँ तिर्न राजी भए । जेक्सनले २०७३ चैत ८ गते शिकार अनुमति पाएका थिए । गत वर्ष अर्का अमेरिकन जेम्स केल्भिन लाइन्सले पनि एउटा एउटा झारल शिकार अनुमतिका लागि १३ लाख रुपैयाँ बुझाउन राजी भएका थिए । बेल्जियमका इड्डी फेलिक्स एम डेन्कर्सले झारलका ८ लाख ७५ हजार रुपैयाँ बुझाएर शिकार अनुमति लिए ।
तर विभागको तथ्यांकअनुसार यो वर्ष शिकारमा प्रतिस्पर्धा घटेको छ । अघिल्लो वर्ष जस्तो शुल्कमा प्रतिस्पर्धा छैन । यो सिजनमा नाउरका १० वटा कोटा भएकोमा ७ वटाको लागि निवेदन प-यो । यस्तै झारलका लागि ६ वटाको सूचना माग गरेकोमा ५ वटाको लागि मात्रै निवेदन आएको छ ।
अघिल्लो वर्ष नाउरका लागि १३ लाखसम्म तिर्न राजी भएका शिकारीले यो वर्ष भने नाउरका लागि कम्तीमा १ लाख ६५ हजारदेखि बढीमा १ लाख ९० हजारसम्म राजस्व बुझाएका थिए । झारलको लागि ८५ हजारदेखि १ लाख १० हजारसम्म राजस्व बुझाएका छन् । शिकार अनुमतिका लागि भएको प्रतिस्पर्धाका कारण सरकारले तोकेको भन्दा बढी राजस्व तिर्न शिकारी राजी हुने गर्थे । तर यो वर्ष ‘चार्म’ घटेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार अधिकांश शिकारीहरु नाउरको शिकार गर्न बढी रुचाउँछन् । शिकारको मोहले संसारको कुनाकाप्चाबाट समेत शिकारीलाई ढोरपाटनसम्म तान्छ । अनुमतिका लागि भएको प्रतिस्पर्धाका कारण न्यूनतम राजस्वभन्दा बढी मूल्य तिर्न शिकारी राजी हुन्छन् । शिकार खेल्न आउने शिकारीले बन्दुक र गोली आफैं ल्याउनुपर्ने हुन्छ । त्यसका लागि गृह मन्त्रालयले अनुमति दिने गरेको छ ।
विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो ।
ढोरपाटन शिकार आरक्षका कायममुकायम प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले अघिल्ला वर्षहरुको तुलनामा शिकारीबीच हुने प्रतिस्पर्धा घटेको बताइन् । “अघिल्लो पटकको जस्तो प्रतिस्पर्धा नै देखिँदैन । करिब १३ लाख ५१ हजार राजस्व बुझाएर नाउरको शिकार गर्न राजी हुने शिकारी पर्यटक यस पटक १ लाख ९० हजार सम्म मात्रै राजस्व बुझाउन राजी भए,” उनले भनिन्, “यसले शिकारमा प्रतिस्पर्धा कम भएको देखाउँछ ।”
विकसित देशका सम्पन्न व्यक्तिहरु शिकारका लागि आउने गरेको उनले जानकारी दिइन् । “शिकारका लागि विश्वका खतनाक तर रमाइला ठाउँमध्ये ढोरपाटन पनि एक हो । वर्षमा २ पटक अनुमतिका लागि आह्वान गरिन्छ, अनि अनुमति लिन प्रतिस्पर्धा हुन्छ,” उनले भनिन् ।
सापकोटाका अनुसार लाइसन्स प्राप्त पेशेवर कम्पनीमार्फत् आउनुपर्ने, हातहतियारका लागि अनुमति लिनुपर्नेलगायतका शिकारका प्रक्रिया छन् ।
विभिन्न शिकार एजेन्सीमार्फत् ढोरपाटन शिकार आरक्षमा शिकार गर्नका लागि नाउर र झारलको कोटा निर्धारण गरी कोटाअनुसार विभिन्न ‘हन्टिङ एजेन्सी’मार्फत् टेण्डर प्रक्रियाबाट शिकार गराउँदै आइएको छ । शिकार गर्न आउने पर्यटकले पानी पिउने बेला, साँझ–बिहान वा शारीरिक सम्पर्क भएका बेलाबाहेक अन्य समयमा आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा मात्र नाउर वा झारलको शिकार गर्न पाउनेछन् ।
नेपाल ट्राभल एक्सपेडिसनका सञ्चालक अमृत थापाले व्यवसायीहरुले नै धेरै बुकिङ गर्न नचाहेका कारण यसवर्ष धेरै प्रतिस्पर्धा नभएको बताए । “हामीले २ वर्ष पहिले बाट नै बुकिङ गर्नुपर्छ । हामीलाई धेरै रिस्क छ, एउटा शुल्कमा ब्ुकिङ गरेको हुन्छौं, पछि अर्को शुल्क कायम हुन्छ प्रतिस्पर्धाका कारण । अनि कतिपय पर्यटकहरु आउँदैनन् हामीलाई घाटा हुन्छ,” उनले भने, “हाम्रो शुल्क भन्दा पाकिस्तानमा शुल्क धेरै कम छ । झारलका लागि न्यूजिल्याण्ड जान्छन् । यहाँ महँगो हुन थाल्यो ।”
शिकारका लागि शिकारी २१ दिनमात्रै बस्न पाउँछन् । शिकारका निश्चित कोटाका कारण प्रतिस्पर्धा बढी छ । असोजदेखि मंसिर र माघदेखि वैशाखसम्म गरी वर्षमा दुई वटा सिजनमा शिकार खेलिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमा गएर शिकार गरेकोे रेकर्ड कायम गर्छन् र यसैलाई आफ्नो पौरख सम्झन्छन् पर्यटकहरु । सौखिन शिकारीहरु नेपालका सिकार अनुमति पाएको कम्पनीहरुमार्फत् आउँछन् । शिकार कम्पनीहरुले राष्ट्रिय निकुञ्ज विभागबाट नाउर, झारल र शिकार गर्ने ब्लक (क्षेत्र) को लाइसेन्स लिएका हुन्छन्न् । हालसम्म ७ वटा कम्पनीहरुले लाइसेन्स पाएका छन् । यस्ता कम्पनीहरुले शिकार खेलाउन विदेशी पर्यटक नेपाल ल्याउँछन् ।
शोखका कारण पनि शिकारीहरुले कसरी शिकार भेटाउने र शिकार गर्ने भन्ने ध्याउन्नमै महिनौं जंगलमा बिताउने गरेका छन् । शिकार गरेको जनावरको टाउको शिकारीले आफ्नो देशमा लैजाने अनुमति हुने भएकाले त्यही टाउको प्रतियोगितामा प्रदर्शनमा गर्ने गरिएको शिकार आरक्ष कार्यालयले जनाएको छ । शिकारमा आएका अधिकांश शिकारीहरुले शिकार गरेरै जाने भएपनि कतिपय भने रित्तो हात पनि जानुपर्छ ।

 
विदेशी शिकारीको रोजाइमा ढोरपाटन
नेपालको एकमात्र शिकार आरक्ष हो ढोरपाटन । यसकारण यो आरक्ष विदेशी शिकारीहरुको आकर्षणको स्थल बन्न सफल भएको छ । ढोरपाटनमा शिकार गर्न आउनेमा सबैभन्दा बढी रुसी नागरिक रहेका छन्  । स्पेन, स्वीडेन, डेनमार्क, नर्वे, अमेरिकालगायत मुलुकबाट पनि शिकारका लागि यहाँ आउछन् । यहाँको मनोरम दृष्यले पनि विदेशी शिकारीलाई आकर्षित गरेको हो । रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने उद्देश्यले २०४४ सालमा शिकार आरक्ष घोषण गरिएको हो । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने र घुस्तुङ ६ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था छ । लिखित अनुमति लिएर मात्रै तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ ।
पेशेवर विदेशी शिकारीहरूका लागि यो आरक्ष एक प्रमुख गन्तव्यकै रूपमा रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय–समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गरेको छ । विभागले शिकार गर्न दिइँदा कुनै जनावर अत्यन्त संकटमा नपर्ने बताएको छ । जनावरको संख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पु-याउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पु-याउने परिस्थिति पनि उत्पन्न नहुने विभागको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्