Logo

बेरुजु झेल्दै स्थानीय सरकार

पाँचथर-एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरमा विकासको नाममा आएको मोटो रकम बेरुजु देखिएको छ । आठ स्थानीय सरकार बेरुजु रकमको बोझले थिचिएको महालेखा परीक्षकको प्रारम्भकि प्रतिवेदनबाट खुल्न आएको छ ।
पाँचथरका सबै स्थानीय सरकारको बेरुजु रकम करोडभन्दा माथि छ । गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा बेरुजुको रकम पनि वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षमा केही गाउँपालिकाको बेरुजु रकम घटेको छ भने धेरै तहको बेरुजु बढेको पाइएको छ । जिल्लाको एकमात्र नगरपालिक फिदिम नगरपालिक जुन पाँचथरको सदरमुकामसमेत रहेको पालिकामा यस आवमा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । फिदिम नगरपालिकामा ५ करोड ५१ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
सबैभन्दा कम कुम्मायक गाउँपालिकामा १ करोड २१ लाख रुपैयाँ बेरुजु देखिएको छ । फालेलुङ गाउँपालिकाको बेरुजु रकम पनि मोटो देखिएको छ । फालेलुङ गाउँपालिकाको ४ करोड ७८ लाख रुपैयाँ बेरुजु देखिएको छ । सुक्खा क्षेत्रको रूपमा रहेको तुम्बेवा गाउँपालिकामा पनि बेरुजु रकम मोटो देखिएको छ । तुम्बेवा गाउँपालिकाको ३ करोड ८१ लाख बेरुजु रकम देखिएको छ । यता मिक्लाजुङ गाउँपालिकामा पनि बेरुजु रकम मोटो देखिएको छ । मिक्लाजुङ गाउँपालिकामा २ करोड १३ लाख हुँदा मिक्लाजुङभन्दा केही ठूलो रकम फाल्गुनन्द गाउँपालिकामा देदिएको छ । फाल्गुनन्द गाउँपालिकामा २ करोड ५७ लाख रुपैयाँ बेरुजु देखिएको छ । याङवरक गाउँपालिकामा पनि १ करोड ६७ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
अघिल्लोे वर्षको तुलनामा यस वर्ष बेरुजु रकम धेरै देखिएको जिल्लाका जानकारहरू बताउँछन् । धेरै स्थानीय सरकारका प्रमुखहरू पेस्की रकमका कारण बेरुजु देखिएको बताउँछन् । आवको अन्तिमतिर विभिन्न योजनाको कार्यादेश आउने भए पनि बेरुजुु रकममा वृद्धि भएको जानकारहरू बताउँछन् । समयमा नै बजेट आउन नसक्दा पनि बेरुजु रमकमा वृद्धि भएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दहालले बताए । “वैशाखमा योजनाको सम्झैता भयो असारमा सक्ने कुरा भएन त्यही भएर पनि बेरुजु रकम ठूलो देखियो,” दहालले भने । दहालका अनुसार फिदिम नगरपालिकामा असुल गर्नुपर्ने रकम नभए पनि पेस्की बेरुजु देखिएको छ । “असुल गर्नुपर्ने बेरुजु छैन,” दहालले भने ।
पेस्की बेरुजु भएकाले धेरै बेरुजु त योजना सम्पन्न भएसँगै फस्र्योट हुँदै गएको दहालले बताए । समयमा नै बजेट आउने हो भने बेरुजुको समस्या हटेर जाने दहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्