हत्या आरोपित पुन ‘इन्काउन्टर’मा मारिए «

हत्या आरोपित पुन ‘इन्काउन्टर’मा मारिए

काठमाडौं-रुपन्देही-व्यक्ति हत्या अभियोगमा प्रहरीको सर्वाधिक खोजीमा रहेका गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले नेपाल प्रहरीको ‘इन्काउन्टर’मा मारिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यरूो (सीआइवी) र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कारबाहीमा पुन र आले मारिएका हुन् । पुनमाथी प्रहरीले १२ राउन्ड र आलेमाथि ८ राउण्ड गोली प्रहार गरिएको थियो ।
गोली प्रहारबाट घाइते दुवैजनाको उपचारका लागि लुम्विनी अञ्चल अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको हो । त्यसो त प्रहरीको जवफी कारबाहीमा मारिएका हुन् वा नियन्त्रणमा लिएर हत्या गरिएको हो भन्नेमा विवाद पनि सुरु भएको छ । परिवारका सदस्यले इन्काउन्टर नभई प्रहरीले हत्या गरेको आरोप लगाएको छ । तर अनुसन्धानमा खटिएको टोलीमाथी जाइलागेपछि इन्काउन्टर गर्नुपरेको प्रहरीको दावी छ ।
प्रहरी अधिकारीको दाबीअनुसार थप व्यक्ति हत्या गर्ने योजना अनुसार नै पुन भारतबाट रुपन्देही आएका थिए । मृतक पुनको साथबाट प्रहरीले गोली लोड गरिएको एक थान पेस्तोल पनि बरामद गरेको छ । व्यक्ति हत्या अभियोगमा सर्वाधिक खोजी सूचीमा रहेका उनीहरू बुधबार रुपन्देहीको देवदह–४, विजयपुरमा प्रहरीको कारवाहीमा मारिएको नेपाल प्रहरीले जनाएको छ ।
इन्काउन्टरमा मारिएका पुन र आले युवा संघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र रुपन्देहीकै व्यवसायी वशन्त पौडेल (वलु) हत्या अभियोगमा फरार थिए । गत असोज २३ गते गौचनको हत्या र पुस २२ गते रुपन्देहीकै काठ व्यवसायी वशन्त पौडेल (बलु)को हत्या भएको प्रहरीको दावी छ ।
प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही मा उनीहरूको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए । गौचन, तिवारी र पौडेलका हत्याका खोजी गर्नेक्रममा व्यूरो र रुपन्देही प्रहरीले डीएसपी कुमुद ढुंगेलसहितको विशेष टोली परिचालन गरेको थियो । डीएसपी ढुंगेल केही दिन अघिमात्रै जिल्ला प्रहरी कार्यालय रामेछापबाट रुपन्देही सरुवा भएका थिए ।
एसपी ज्ञवालीका अनुसार मारिएका दुवैजना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा थिए । घटना स्थलबाट वा २ व ५८५४ र लु १३ प ३३७६ नम्वरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । मृतक पुन र आलेको साथबाट प्रहरीले ‘नक्कली राहदानी’ पनि बरामद गरेको छ ।
इन्काउन्टरसँगै उनीहरूको साथबाट बरामद झोला खानतलासी गर्दा दुवैजनाका नाममा रुपन्देहीबाट जारी गरिएको राहदानी फेला परेको थियो । तर उक्त राहदानी नक्कली भएको अनुसन्धानबाट खुलेको छ । नेपालबाट अपराध गरी विदेश भाग्ने प्रयोजनका लागि पुन र आलेले नक्कली विवरण सहित राहदानी बनाएका थिए ।
प्रहरीले पुनसहित व्यक्ति हत्या अभियोगमा फरार रहेका १ दर्जन भन्दा बढी अभियुक्तको खोजी जारी राखेको थियो । त्यस मध्येकै थिए पुन र आले । आले पुनका सहयोगी मात्रै थिए । पुनकै आदेश अनुसार आले ‘सार्प सूटर’ बनेका थिए । गौचन र तिवारी तथा हत्यापछि मलेसिया, भारत तथा नेपालका दक्षिणी सीमानामा लुक्दै आएक पुन पछिल्लो समय भारतको गोवा लगायत स्थानमा रहेको सूचना प्रहरीले पाएको थियो ।
वाइसीएल हुँदै गुन्डा नाइके
रुपन्देहीको देवदहका स्थानीय रहेका २९ वर्षीय पुनको अपराध यात्रा विगत १ दशक अघिदेखि सुरु भएको प्रहरी अधिकारीहरू बताउँछन् । मनोज बूढामगर पछि अपराधकै क्रममा मनोज पुनका रुपमा उनी उदाएका थिए । २०६२-६३ सालको परिवर्तनपछि जिल्लामा तत्कालिन नेकपा मओवादी र नेकपा एमालेको संरक्षणमा हुर्किएका पुन ठेक्कापट्टा, गिटीबालुवा तस्करी, हप्ता र मासिक असुली, सीमा अपराध लगायतबाट सम्पत्ति जोड्न थालेपछि एमालेका अरु सहयोगीबाट समूहगत गुटमा लागेका थिए ।
माओवादी शान्तिप्रक्रियामा आएसँगै वाइसीएलको संरक्षणबाट आफ्नो अपराध कर्मलाई बढाएका उनले माओवादी २०६५ सालमा सरकारबाट बाहिरिएपछि पुन एमाले प्रवेश गरे र वाइसीएलको प्रतिकारका लागि खडा गरिएको एमालेकै युथफोर्सको जिल्ला कोषध्यक्ष पनि बने । त्यहीक्रममा जिल्ला स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य प्रशासनिक कर्मचारीलाई पनि आर्थिक प्रलोभनमा पारेर पहुँच बढाउँदै लगेका पुन गुटबाटै अपराधको समूह खडा गर्न थालेपछि उनी जिल्लाका नेताहरूको पनि रोजाइमा परे ।
त्यसको प्रमुख कारण थियो, उनले अपराधबाट कमाएको पैसाभागवण्डा । तर पछि आर्थिक लेनदेन र असुलीमा विवाद बढेसँगै उनले युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्या गरी फरार भए । तिवारी हत्यामा आर्थिक लेनदेन विवाद पनि काण भएको दावी छ ।
चौथो इन्काउन्टर
प्रहरीको इन्काउन्टरमा मारिने गुन्डा नाइके तथा तस्करको सूची ५ पुगेको छ । प्रमुख राजनीतिक दल र प्रहरी प्रशासनकै संरक्षणमा हुर्किएको गुन्डाराज नियन्त्रण बाहिर गएपछि प्रहरीले पछिल्लो ४ वर्षमा ४ वटा इन्कान्टर गरेको छ । बुधबार पुन र आले मारिएको इन्काउन्टर चौथो हो । यसअघि एमाले समर्थित चरी भनिने धादिङका दिनेश अधिकारी, कांग्रेस समर्थक घैंटे भनिने नुवाकोटका कुमार श्रेष्ठ तथा लागू औषध तस्कर प्रविण खत्री इन्काउन्टरमै मारिएका थिए ।
२०७१ साउन २१ गते गुन्डानाइके चरी काठमाडौं र धादिङ सीमाना भीमढंगामा अपराध महाशाखाको इन्काउन्टरमा मारिए । उनी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष पनि थिए । २०७२ भदौ ३ गते नेपाली कांग्रेस निकटका घैंटे महानगरीय प्रहरी अपराध महाशाखाकै इन्काउन्टरमा मारिए । सामाखुसीमा प्रहरीको गोली लागि घाइते भएका घैंटेको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । २०७४ साउन २३ गते लागूऔषध तस्कर प्रविण खत्री प्रहरीकै इन्काउन्टरमा ललितपुको कुसुन्तीमा मारिएका थिए ।

मातृका दाहाल-टोपराज शर्मा

प्रतिक्रिया दिनुहोस्