माहुरी पालेर मनग्य आम्दानी «

माहुरी पालेर मनग्य आम्दानी

प्यूठान नगरपालिका–७ टिकुरीका डिमराज पोख्रेलले व्यावसायिक माहुरी पालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । शिक्षण पेशाबाट अवकास भएसँगै उनले माहुरी पालन व्यवसाय सुरु गरेका हुन । आम्दानीसँगै माहुरीपालनले व्यावसायिक क्षेत्रमा पहिचान बढाएको उनको भनाइ छ ।
“व्यावसायिक रुपमा माहुरी पाल्न सुरु गरेको ५ वर्ष भयो” पोख्रेलले भने, “आम्दानी पनि राम्रो छ ।” शिक्षण पेशामा रहँदै माहुरी पालन व्यवसायमा लोभिएका उनले झण्डै एक सय घार माहुरी फार्ममा रहेको बताए । “वार्षिक झण्डै ५ लाख बराबरको आम्दानी हुन्छ”, उनले भने । शेरेना र मेलिफेरा जातको माहुरी उनले व्यावसायिक रुपमा पाल्दै आएका छन् । शिक्षण पेशामा रहँदा नै २ घार माहुरीबाट माहुरीपालनको सिप सिकेका उनी अवकाससँग तत्कालीन जिल्ला कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानबाट १४ घार माहुरी थप गर्दै व्यावसायिकरुपमा अगाडी बढेका हुन् । कार्यालयको सहयोगबाट व्यावसायिक माहुरीपालनको तालिम लिएर व्यवसायलाई अगाडी बढाउन सहज भएको उनको भनाइ छ । व्यावसायिक माहुरी पालनका लागि त्यत्ति समस्या नहुने उनको अनुभव छ । “सामान्य प्राविधिक ज्ञान मात्रै सिकेर यो व्यवसाय गर्न सकिन्छ” उनले भने, “चरीचरणको क्षेत्र समेत राम्रो भएकाले आम्दानी राम्रो छ ।”
गत वर्षमा मात्रै साढे १८ क्वीन्टल मह बिक्री गरेको उनले बताए । ‘महको बजारीकरणमा समस्या छैन । अहिलेसम्म घरमा नै महको माग हुँदै आएको छ”, उनले भने । मंसिर महिनासँगै माहुरीको सिजन सुरु भएको सुनाउँदै उनले यो वर्ष पनि राम्रो आम्दानी लिने सोचमा छन् । विदेशमा गर्ने दुखः भन्दा स्थानीयस्तरमै यस्ता व्यवसाय अघि बढाउदा राम्रो आम्दानी हुने उनी सुझाउँछन् ।
माहुरीपालन व्यवसायबाट राम्रो आम्दानी गरेका उनले माहुरीको बिमासमेत गरेका छन् । गत वर्ष नेपालमै पहिलो आफ्नो फर्मबाट माहुरी बिमा सुरुवात भएको उनले बताए । आइएमई जनरल एन्सोरेन्सको सहकार्यमा माहुरी बिमा गराएको उनले जानकारी दिए । सरकारको ७५ प्रतिशत र कृषकको २५ प्रतिशतको पनि ५ प्रतिशत लागत व्यहोर्नेगरी बिमा गरेको उनले बताए ।
जिल्लामा प्रसस्त मात्रामा माहुरी चरिचरण क्षेत्र रहेकोले पछिल्लो समय माहुरी पालक किसानहरु बढ्दै गएको तथ्यांक छ । व्यावसायिक माहुरीपालन बढेसँगै बाहिरी जिल्लामासमेत मह निर्यात हुँदै आएको सम्बन्धित सरोकारवालाहरु बताउँछन् । जिल्लाको दक्षिणी र मध्य क्षेत्रमा माहुरीको चरण क्षेत्र प्रशस्त भएको र आम्दानी समेत राम्रै लिन थालेपछि यस व्यवसायमा किसानको आकर्षण बढ्दो छ ।

प्रज्वल पहाडी 

प्रतिक्रिया दिनुहोस्