एक वर्षपछि विमानस्थल विस्तार सुरु हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाको काम रोकिएको एक वर्षपछि पुनः सुरु हुने भएको छ । गत वर्ष आयोजनाको ठेक्का पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसँग ठेक्का सम्झौता तोडिएपछि विस्तारको काम ठप्प भएको थियो । विमानस्थल विस्तारको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ कम्पनी साङ्सी कन्स्ट्रक्सनले काम अगाडि बढाउने भएको हो ।
नागरिक उड्डयन प्राधिकरणअन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय हवाई क्षमता विस्तार आयोजनाले पहिलो चरणमा १ अर्ब २९ करोड रुपैयाँ लागतको टर्मिनल भवन र धावनमार्ग विस्तारको कार्यको लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । प्राधिकरणले ३ सय मिटर धावन मार्ग विस्तारका लागि आह्वान गरिएको ग्लोवल टेन्डर चिनियाँ कम्पनी साङ्सी कन्स्ट्रक्सनले जितेको छ । धेरै लामो समयपछि अव टेन्डरको काम टुंगिएकोले धावनमार्ग विस्तारको कार्य अगाडि बढ्ने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । चिनियाँ कम्पनीले कोटेश्वरतर्फको ३ सय मिटर धावनमार्ग विस्तार गर्ने छ । १८ महिनामा सम्पन गर्ने लक्ष्य राखिएको एनसीभी–०१ प्रोजेक्टको लागत झन्डै ५९ करोड रुपैयाँ रहेको छ । विस्तारपछि धावनमार्गको लम्बाइ ३ हजार ३ सय ५० मिटर हुनेछ । हाल लम्बाई ३ हजार ५० मिटर र चौडाइ ६० मिटर रहेको छ ।
विगतमा सबै काम एकै कम्पनीलाई दिइएको भए पनि यसपटक भने प्राधिकरणले ४ भागमा विभाजन गरेको थियो । जसका दुई भाग भने नेपाली कम्पनीलाई जिम्मा दिने तयारीअन्तर्गत अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको लागि नेपाली तीन वटा कम्पनीले संयुक्त रुपमा बनाउने भएका छन् ।
टर्मिनल भवनको लागि प्रेरा, शर्मा र अशिष निर्माण कम्पनीले जिम्मा पाएका छन् । २१ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । एनसीभी–०२ प्रोजेक्टअन्तर्गत उक्त आयोजनाको लागत ७० करोड रुपैयाँ रहेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले ढल निर्माण, जेनेरेटर लगायत इक्युपमेन्ट जडानको लागि १८ करोड रुपैयाँको टेन्डर पनि आह्वान गर्ने तयारी गरेको छ । एनसीभी–०३ प्रोजेक्ट अन्र्तगत रहने उक्त आयोजना पनि नेपाली कम्पनीलाई दिने प्राधिकरणले जनाएको छ ।
६ करोड १० लाख अमेरिकी डलर अर्थात तत्कालिन अवस्थाको करिब ६ अर्ब रुपैयाँको काम गर्ने गरी ठेक्का पाएको सान्जोसेले योजना सक्न दिएको तीन वर्षको समयमा निकै थोरै प्रगति गरेको थियो । एसियाली विकास बैंक (एडीबी) को आठ करोड अमेरीकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको काम भएको हो । एडीबीको विमानस्थलको विस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो ।
माटो भर्न छुट्टै डीपीआर
स्पेनी कम्पनी सान्जोसेले पशुपति क्षेत्रकै माटो चाहिनुपर्ने सर्त राखेर समस्या आएको आयोजनाको लागि प्राधिकरणले पुनः अर्को अध्ययन गर्ने भएको छ । पहिलेको डिजाइन तथा अन्य विकल्प लिएर माटो कहाँबाट ल्याउने भन्ने समेत योजना बनेको श्रेष्ठले जानकारी दिए । विमानस्थल विस्तारको सवैभन्दा पेचिलो बनेको माटो भर्ने कार्य भने टुंगिन समय लाग्ने भएको छ । पशुपतिको माटो प्रयोगमा अदातलले रोक लगाएपछि समस्या सुरु भएको थियो ।
गुह्ेश्वरीतर्फको भागमा माटो भरेर पार्किङवे बनाउने योजना रहेको छ । विमानस्थलको विस्तारको लागि यो कम्पनीले १९ लाख घनमिटर माटो भरेर भौतिक पूर्वाधारका काम गर्नुपर्ने भएपनि मुस्किलले करीब पाँच लाख घनमिटर मात्रै माटो भर्ने काम स्पेनी कम्पनीले गरेको थियो ।
सन् २०१३ को मार्ग १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनीले प्राधिकरणसँग गरेको सम्झौता अनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भएपनि तीन वर्षको अवधिमा जम्मा १६ प्रतिशत काम सम्पन्न गरेको थियो ।
सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तराष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना सरकारको थियो ।
योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङ लगायत रहेका छन । एडीबीको १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ) को विमानस्थल सुधार गुरुयोजना अनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको थियो । गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।