Logo

आन्तरिक निकुञ्ज पर्यटन र पर्यटनमा विविधीकरण

दसैँलगत्तै चितवनमा भ्रमण गर्न आउने नेपालीहरूको संख्या ह्वात्तै बढेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको छ । यसरी हेर्दा चितवनमा आन्तरिक पर्यटक बढेसँगै चितवनका सफारी, कटेज, होटल, लज तथा रेस्टुराँ व्यवसायीहरूले पनि राम्रो आम्दानी गरेका छन् । हुन त विश्वमै पर्यटन क्षेत्रमा आएको विविधीकरणसँगै पर्यटकलाई नयाँपन दिने लहरले गर्दा हाल विश्वका सौखिन पर्यटकहरू पनि चितवनमा अरू बढी आइरहेका छन् । खासगरी वन्यजन्तु अवलोकन गर्न र जंगल सफारी गर्न आउने गरेका छन् । त्यसैले त विश्वमा विविधखाले पर्यटनले फस्टाउने अवसर पाएको छ ।
त्यसो त नेपालमा पनि विश्वका अन्य देशमा जस्तै पर्यटनलाई विविधीकरण गर्ने प्रयासहरू भइरहेका छन् । त्यसैले नेपाल आउने पर्यटकहरूलाई पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हट एयर बालुनिङ, जंगल सफारी, हाइकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन, अध्ययन पर्यटन, स्वस्थ्य उपचार पर्यटन (उपचार गर्न नेपाल आउने विदेशीहरू), सिटी टुर, सामाजिक अध्ययन, जातजाति विशेषको धर्म, संस्कृति, भाषा आदिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, सिकार पर्यटन, चरा पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन, सफारी पर्यटन, वन्यजन्तु अध्ययन–अनुसन्धान पर्यटन आदि इत्यादिको सम्भावना धेरै नै छ ।
नेपालका कतिपय मान्छेले स्विकारे पनि नस्विकारे पनि वास्तवमा नेपालको पदयात्रा पर्यटन, निकुुञ्ज पर्यटन, तारे होटललगायत पर्यटन उद्योग–व्यवसायमा विदेशीहरूको योगदान रहेको थियो । त्यसमा पनि सर्वप्रथम बेलायतका नागरिक जिमी रबर्ट्सले चितवनमा टाइगर टप्स होटल खोलेर निकुञ्ज तथा सफारी पर्यटनको सुरुवात गरेका थिए । अभैm पनि ग्रामीण भेगका नेपालीहरूका लागि आर्थिक आधारस्तम्भका रूपमा निकुञ्ज पर्यटन रहेको छ भन्दा अत्युक्ति हुँदैन, किनभने नेपालका अधिकांश राष्ट्रिय निकुञ्जहरू गाउँघरका आसपासमा छन् । जे होस्, हालसम्म नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जलगायत लगभग दर्जनको हाराहारीमा राष्ट्रिय निकुञ्जहरू भए तापनि आम्दानी र पर्यटकहरूले भ्रमण गर्ने गरेको संख्याको हिसाबले हेर्दा सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई नै निकुञ्ज पर्यटनको आधारस्तम्भ मान्नुपर्ने हुन्छ ।
हुन त नेपालको सन्दर्भमा पर्यटनका बारेमा कुरो गर्दा हरेक क्षेत्रमा विदेशीहरूको सुरुवाती योगदान रहेको देखिन्छ । चाहे त्यो आधुनिक होटल व्यवसाय होस् वा पदयात्रा पर्यटन होस् अथवा हिमाल आरोहण नै किन नहोस् । जस्तै होटलकै सन्दर्भमा पनि तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचले काठमाडांैमा अहिले निर्वाचन आयोग भएको भवनमा पहिलो पटक ‘रोयल होटल’ नामक होटल खोलेपछि नेपाल आउने विदेशी पर्यटकहरूले आधुनिक होटलको सेवा लिने आधारस्तम्भ खडा भयो । वास्तवमा बोरिसलाई नेपालको पर्यटन क्षेत्रको पनि होटल–व्यवसायमा कखरा सिकाउने पहिलो व्यक्ति भन्दा फरक नपर्ला । त्यस्तै नेपालमा निकुन्ज पर्यटनको आधारस्तम्भ खडा हुनुमा पनि विदेशी नागरिककै हात छ । सन् १९६० को दशकमा बेलायती नागरिक जिम एडवर्ड्सले पहिलो पटक चितवनमा ‘टाईगर टप्स’ नामक होटल खोलेर निकुञ्ज पर्यटनको थालनी गरेका थिए । स्मरणीय छ, हाल जिम एडवर्ड्स यो भौतिक संसारमा छैनन् । वास्तवमा हाल आएर चितवन जिल्लाको सौराहा देशकै एउटा उदाहरणीय निकुञ्ज पर्यटनस्थल हुनुमा उनै जिम एडवर्ड्सको ठूलो वा महŒवपूर्ण योगदान छ भन्दा कसैले नकार्न सक्दैन । भलै वातावरणको नाममा डलर हजम गर्न पल्केका कथित् वातावरणविद्हरूले बिनाविकल्प त्यहाँ रहेका होटलहरू बन्द गर्नुपर्ने भनी केही वर्षअघि रडाको मच्चाएका थिए । हुन पनि हाल आएर केवल विदेशी पर्यटकहरू मात्र नभएर उच्चमध्यम स्तरका आय भएका नेपालीहरू पनि त्यहाँ आन्तरिक पर्यटकका रुपमा जान थालेका छन् । जान थालेका मात्रै होइन, आन्तरिक पर्यटककै कारण चितवनका होटल व्यवसायीहरूले दरिलो आम्दानी गर्न थालेका छन् । त्यहाँ होटल, लज, गेस्ट हाउस, कटेज, मचान, होम स्टे आदि खुल्ने क्रम बढ्दो छ । निश्चय नै आशय यो होइन कि वातावरण विनाश भए होस्, त्यहाँ होटल, लज, गेस्ट हाउस, कटेज, मचान, होम स्टे आदि खुल्ने क्रम जारी रहोस् ।
–निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्