Logo

स्वास्थ्य बीमामा आकर्षण बढ्दै

जुम्ला– जुम्लामा स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । सस्तो सुभल स्वास्थ्य सेवा पाउने र ३५ सय तिरेर पाँच जना परिवारले पाँच लाखसम्मको उपचार पाउने भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो । सरकारले स्वास्थ्य बीमितले उपचार खर्चको १० प्रतिशत रकम स्वयम व्यक्तिले तिर्नुपर्ने प्रावधान ल्याए पनि बीमितको संख्या बढ्दै गएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकनुसार एक लाख १८ हजार तीन सय बढी जनसंख्या रहेकोमा हालसम्म जुम्लाका ९० हजार बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । करिब २८ हजार बढी नागरिक अझै बिमाको पहुँचभन्दा बाहिर छन् । आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार ४११ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए ।

उनका अनुसार हालसम्म ४५ हजार ४२४ महिला र ४४ हजार ६८७ जना पुरुष गरी ९० हजार ४११ जना स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । ‘जिल्लाका ११ हजार ६४८ घरपरिवार बीमामा आबद्ध छन् ।’ २०७४ देखि जिल्लामा स्वास्थ्य बीमा सुरु भए पनि पछिल्लो केही वर्षबाट मात्रै ह्वात्तै संख्या बढेको हो,’ उनले भने, ‘उपचारको १० प्रतिशत आफै तिर्ने गरे पनि बीमित हुनेको संख्या घटेको छैन । बरु विगत जस्तो बीमाको दुरुपयोग हुने क्रम घटेको छ । अर्काको बीमा लिएर उपचार गराउने गलत प्रवृत्ति अन्त्य भएको छ ।’

विगतमा बीमाका बारेमा धेरै थाहा नहुँदा पनि प्राय नागरिक बीमाको पहुँचमा थिएनन् । पछिल्ला वर्षमा जनचेतनामूलक कार्यक्रम बढाउँदै गएपछि बीमामा आकर्षण बढेको देखिछ । साथै जुम्लाको तातोपानी, हिमालगायतका स्थानीय तहले विपन्न नागरिकको गाउँपालिकाबाटै बीमा गराइदिएपछि संख्या बढेको हो । सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआईभी संक्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बीमा गरिदिएको छ ।

बीमाको पहुँचमा आउन बाँकी प्रायः विपन्न समुदायको नागरिक भएकाले उनीहरूलाई स्थानीय तहले सहयोग गरेमा पहुँचमा आउने प्रमुख भण्डारीको भनाइ छ । स्वास्थ्य बीमाले दुर्गमका नागरिकलाई स्वास्थ्य उपचार गर्ने बानीको विकाससमेत गरेको छ । विगतमा रोग लुकाएर बस्ने ग्रामीण भेगका नागरिकले स्वास्थ्य बीमा गरेपछि एक पटक भए पनि उपचार गराउन अस्पताल पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्