हिमाल आरोहणमा गएका एक विदेशी पर्यटकको मृत्यु, एक घाइते

दोलखा-हिमाल आरोहणमा गएका एक विदेशी पर्यटकको रोल्वालिङमा दुर्घटनामा परी ज्यान गएको छ । गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ हिमश्रृंखलाको ६ हजार २५८ मिटर अग्लो चुक्यिमा गो हिमाल आरोहण गरी फर्कने क्रममा स्पेनिस नागरिकको ज्यान गएको हो ।हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेमा ४४ वर्षीय स्पेनिस नागरिक लुइस फेलिपे भल्भर्ड गुज्मान छन् । हिमााल आरोहणका लागि ना गाउँ नजिकबाट स्पेनिस नागरिक २ जना आरोहणका लागि गएका थिए ।
उनीसँगै गएका अर्का आरोही डेभिड स्वीला फर्नान्डेज घाइते भएका छन् । सँगै गएका २ जना साथी ना गाउँमै बसेका थिए ।हिमालको सफल आरोहण गरेर फर्कने क्रममा चुचुरोबाट एक सय मिटर जति तल आएपछि माउन्टेरिङ गर्ने क्रममा हिउँमा चिप्लिएर लड्दा साथीको ज्यान गएको घाइते फर्नान्डेजले बताए । शनिबार बिहान साढे १० बजेतिर हिमालमा दुर्घटना भए तापनि साँझ ५ बजेतिर मात्र आफूलाई खबर आएको सँगै आएर ना गाउँमै बसेकी अर्की साथी सोनिया क्यासस टोर्किडाले जानकारी दिइन् ।
तल बेस क्याम्पमा दुर्घटना भएको जानकारी पाउने बित्तिकै उनले उद्धारका लागि काठमाडौंमा खबर गरेकी थिइन् । उद्धारका लागि बिहानै हेलिकप्टर आउन खोजे तापनि प्रशासनिक ढिलासुस्तीका कारण आइतबार दिउँसो १ बजेतिर मात्र उद्धार भएको थियो । उद्धारका लागि सिम्रिक एयरको २ वटा हेलिकप्टर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।केही ढिला भएको भए हिमाल हुस्सुले छोप्न लागेकाले उद्धारमा कठिनाइ हुने सिम्रिक एयरका पाइलट आनन्द थापाले बताए । केही समय उद्धार गर्न नसकेको भए घाइतेलाई पनि बचाउन नसकिने अवस्था रहेको उनले बताए । मृतकको टाउको फुटेकाले हिमालबाट टुक्रा–टुक्रा टिपेर ल्याएको पाइलट थापाले बताए । मृतकको पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल लगिएको छ ।
पर्यटन विभागबाट गत असोज ९ गते हिमाल आरोहणका लागि अनुमति लिएका उनीहरू १० दिनअघि ना गाउँ पुगेका थिए । अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत २ आरोहीसहित ४ जना असोज १२ गते काठमाडौंबाट रोल्वालिङतर्फ आएका थिए । उनीहरूको भ्रमण अवधी ४५ दिनको छ । हिमाल च्छो रोल्पा हिमतालभन्दा उत्तर पश्चिमपटि छ ।