Logo

सहुलियत ऋणले विपन्नलाई स्वरोजगारी

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले स्वरोजगार विकास कोषबाट सहुलियत दरमा ऋण दिन थालेपछि विपन्न परिवारका व्यक्तिहरुलाई स्वरोजगार हुन सहज भएको छ । कोषले स्थानीय सहकारी संस्थामार्फत पाँच वर्षका लागि पाँच लाख रुपैयाँसम्म ऋण दिन थालेपछि दुई हजार ९४७ जना स्वरोजगार बनेका छन् ।

गोदावरी नगरपालिका– ३ चौकीडाँडाका टेकबहादुर कामीले मालाखेती बहुउद्देश्यीय सहकारी संस्थाबाट तीन लाख रुपैयाँ ऋण पाएपछि खाजा पसल सञ्चालन गरेका छन् । उनले मासिक ५० हजार रुपैयाँको कारोबार हुने गरेको बताए । ब्याज, किस्ता, खाजा पसलका सामग्रीलगायत सबै खर्चहरु कटाएर मासिक २० हजार रुपैयाँसम्म नाफा हुने गरेको उनले बताए । ४१ वर्षीय टेकबहादुरले २० वर्ष भारतको सोलपुरमा होटलमा कुक भएर काम गरेको र सो काम गरेवापत पाउने तलबभन्दा १५ हजार रुपैयाँ कम कमाए पनि आफू निकै खुसी रहेको बताए ।

‘सोलापुरको होटलमा काम गर्दा मासिक ४० हजार रुपैयाँ तलब थियो,’ उनले भने, ‘तर यहाँ परिवारसँगै बसेर काम गरी आम्दानी गर्न पाउँदा म एकदमै सन्तुष्ट छु ।’ गोदावरी–३ की तुली पार्कीले सोही सहकारीमार्फत स्वरोजगार कोषबाट २ लाख रुपैयाँ सहुलियत दरको ऋण लिएर १५ वटा बाख्रा पालेकी छिन् । उनले ५ वटा माउ बाख्रा, ६ वटा पाठा पाठी र ४ वटा खसी पालेको बताइन् । उनले ऋण रकमबाट गोठ बनाएको र माउ बाख्रा खरिद गरेको बताइन् । उनले एउटा जर्सी गाई समेत पालेको बताइन् । सहुलियत ब्याजदरको ऋण भएको हुनाले किस्ता तिर्न सहज रहेको उनको भनाइ छ ।

‘पहिलो किस्ता घरबाटै तिरेको थिएँ,’ उनले भनिन्,‘त्यसपछिको किस्ता एउटा खसी बिक्री गरेर तिरे । अरु खसी, बाख्रा बेचेपछि आफ्नै आम्दानी हुन्छ । ६/६ महिनामा किस्ता तिर्ने गरेको छु ।’ स्वरोजगार विकास कोषबाट सबैभन्दा पहिले थोक ऋण पाएको मालाखेती बहुउद्देश्यीय सहकारीले आफ्ना ३० जना सेयर सदस्यलाई वार्षिक ५ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । कोषबाट एक प्रतिशत ब्याजदरमा ८० लाख रुपैयाँ थोक ऋण लिएको सहकारीले २ देखि ३ लाख रुपैयाँसम्म ऋण लगानी गरेको छ ।

सहकारीका व्यवस्थापक लालबहादुर खड्काले चिया नास्ता पसल, ब्युटीपार्लर, विजुली पसल, कुखुरा पालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी, किसाना पसल, च्याउ तथा तरकारी खेती, बेकरी, चाउमीन उत्पादन जस्ता स्वरोजगार व्यवसाय गर्न सहुलियत ऋण लगानी गरेको बताए । उनले निकै सस्तो दरमा ऋण दिएको हुनाले लाभग्राहीले समयमै किस्ता बुझाइरहेको बताए । ‘हामीले पनि कोषलाई समयमै किस्ता बुझाउन सकेका छौं,’ उनले भने, ‘सहुलियतमा पाएको ऋणले विपन्नलाई स्वारोजगार बन्न मद्दत गरेको छ ।’

कोषले सहकारीलाई २०७९ पुस १२ गतेबाट थोक ऋण दिन थालेको थियो । २०८० फागुन मसान्तसम्म कोषले एक सय वटा सहकारीलाई ६२ करोड १३ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सोबाट दुई हजार ९४७ जना व्यक्ति लाभान्वित भएको स्वरोजगार विकास कोषले जनाएको छ । ०७९/८० कम १४ वटा सहकारीमार्फत ४६२ जना, ०८०/८१ मा ५० वटा सहकारीमार्फत एक हजार २८७ जनालाई सहुलियत ऋण प्रदान गरिसकेको कोषका निर्देशक चूडामणि तिम्सिनाले बताए ।

उनले लगत्तै एक हजार १९८ जनालाई ऋण दिन ३६ वटा सहकारीसँग सम्झौता गर्ने तयारी भएको बताए । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा स्वरोजगार विकास कोष स्थापना र सञ्चालनका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर कोष सञ्चालन सम्बन्धी नीति, ऐन, नियमावली र कार्यविधि नबनेको हुनाले दुई वर्ष ढिलो कोष स्थापना भई सञ्चालन भएको थियो । यसबीचमा कोषका लागि विनियोजन गरिएको एक अर्ब रुपैयाँ मुद्दति निक्षेप गरी ९ करोड २० लाख रुपैयाँ ब्याज आर्जन गरेको निर्देशक तिम्सिनाले बताए ।

कोषले हिमाली, पहाडी, तराईका स्थानीय तहको आधारमा चार वटा क्षेत्र वर्गीकरण गरी सहकारीहरुलाई ४० लाखदेखि डेढ करोड रुपैयाँसम्म वार्षिक १ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि थोक ऋण दिने गरेको छ । निर्देशक तिम्सिनाले थोक ऋण दिनु पूर्व सहकारीको योग्यता, आवश्यक मापदण्ड परीक्षण र सहकारीबाट ऋण असुलीको सुरक्षण लिनेलगायतका सबै प्रक्रिया पुरा गरी लाभग्राहीको अनुगमन गरिसकेपछि मात्रै थोक ऋण दुई किस्तामा दिने गरेको बताए । उनले हालसम्म दिएको ऋणबाट सहज रुपमा किस्ता असुली भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्