पुल निर्माण गर्न ज्ञापनपत्र

रुकुम पश्चिम– रुकुम पश्चिमको पितिवाङ खोलाको मोटरेबल पुल छिटो निर्माण गर्न समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमले ज्ञापनपत्र बुझाएको छ । टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पन्तले उक्त पुल छिटोभन्दा छिटो निर्माणको काम थाल्न आफ्नो तहबाट बेला बेला पहलकदमी लिइरहेको बताउँदै ज्ञापनपत्र प्राप्तपछि थप पहल गर्ने प्रतिक्रिया दिए । मुसिकोट नगरपालिका वडा नं. ११ र १२ मा पर्ने पितिवाङ खोलाको पुल पहिलो पटक ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि प्रगति हुन सकेको छैन ।
राप्ती लोकमार्ग पर्ने यस सडक खण्डको पुल सडक सञ्चालन भएको १७ वर्षसम्म पनि नबन्दा वर्षात्को समयमा यात्रु तथा सवारीसाधन आजातजावतमा समस्या भएको छ । संरक्षण निर्माण सेवा प्रालि र सडक डिभिजन कार्यालय चौरजहारीबीच २०७६ असारमा चार करोड १२ लाख बढी रकममा निर्माण सम्झौता भए पनि हालसम्म पनि निर्माण कार्य अलपत्र छ ।