Logo

पेट्रोलियमबाट बढी राजस्व

जनकपुरधाम– जलेश्वर भन्सार कार्यालय भिठामोडले पेट्रोलियम पदार्थबाट साढे ५५ प्रतिशत राजस्व असुली गरेको छ । भारतबाट आयात भएर भिठामोड नाका हुँदै नेपाल भित्रने अन्य सामानहरू मध्ये कोइला ९, आलु ६, चामल ४, सेरामिक्सको २ प्रतिशत योगदान रहेको छ । यसैगरी भन्सार राजस्व बढाउनमा उद्योगको खरानी मसाला, ग्रेनाइट, फलफूल तथा तरकारी मुख्य रूपमा रहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म सो कार्यालयले २ अर्ब १६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा कार्यालयले ८२ प्रतिशत अर्थात् एक अर्ब ७८ करोड रुपैयाँ मात्र उठाउन सफल भएको छ । प्याज र खद्यान्न आयातमा भारतले गरेको कडाइ आर्थिक मन्दी, खद्यान्न आयातमा कमी जस्ता कारणले चालु आर्थिक वर्षको माघ महिनामा लक्ष्यको तुलनामा असुली प्रभावित भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा भारतको बरौनीबाट भिठामोड नाका भएर ८१ करोड ९६ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । संघीय सरकारले सो कार्यालयलाई चालु आर्थिक वर्षमा ३ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको छ । अघिल्लो आर्थिक वर्षमा उठेको कुल राजश्वमध्ये पेट्रोलियम पदार्थको योगदान ६० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्