Logo

आँबुखैरेनीका भूमिहीनले पाए लालपूर्जा

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोला निवासी सविना गुरुङलाई यो जुनिमा लालपूर्जा पाउँछु भन्ने कमै विश्वास थियो । यसअघि पनि विभिन्न सरकारको पालामा भूमि आयोग गठन भएर काम अगाडि बढेपनि त्यसले सार्थक रुप नपाउँदा उनलाई लालपूर्जा पाइन्छ होला र भन्ने लागेको थियो । तर हातमै लालपूर्जा पाएपछि उनमा खुसीको सीमा रहेन ।

‘वर्षौदेखि भूमिहीन सुकुम्बासीको रुपमा रहनुपर्दा पीडा थियो, तर लालपूर्जा पाउँदा खुसी लागेको छ । यो खुसीलाई शब्दमा व्यक्त गर्न सक्दिन’ उनले भनिन् । सोही ठाउँका पूर्णबहादुर आलेलाई पनि आफू वर्षौदेखि बस्दै आएको जग्गाको लालपूर्जा पाउँछु भन्ने कमै विश्वास थियो । ‘यसअघि पनि भूमि आयोगले पटक–पटक काम गरेको थियो तर कहिल्यै लालपूर्जा पाएनौ’ उनले भने, ‘यसपटक भने लालपूर्जा पायौं बल्ल सरकार आएको अनुभूति भयो ।’

स्थानीय डम्बरबहादुर गुरुङलाई लालपूर्जा पाउने सूचीमा नाम देख्दा सपना जस्तै लागेको थियो । उनले भने, ‘लालपूर्जा पाउने निर्णय गरिएको सूचीमा नाम देख्दा हो की होइन होला भन्ने लागेको थियो, तर साँच्चिकै पाउँदा त झनै हर्षित छ ।’ यसअघि कतिपयले पछि तिमीहरुलाई यहाँबाट उठाउँछ, किन बसेको भनेर भन्ने गरेको बताउँदै उनले अब त लालपूर्जा पाएपछि कसैले केही भन्न नसक्ने उल्लेख गरे ।

राष्ट्रिय भूमि आयोग तनहुँले १३ जना भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने निर्णय बमोजिम उनीहरुलाई जग्गाको पूर्जा हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले १३ जना भूमिहीन सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गरे । सो अवसरमा चुमानले वर्तमान सरकार भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउने अभियानमा रहेको बताए ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गत चुनावमा आफूहरुले गरेको बाचा पूरा गर्ने अभियान सुरु भएको जानकारी दिए । उनले भने, ‘चुनावका बेला भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउँछौ भनेका थियाैं, त्यो अभियान अब सुरु भएको छ । अन्य वडाका भूमिहीन सुकुम्बासीले पनि प्रक्रिया पूरा भएपछि जग्गा पाउँछन् ।’

चुमानले आफूहरु जनतालाई आश्वासन दिने नभई काम गरेर देखाउने बताए । उनले भने, ‘वर्षौ भोगचलन गरेको जमिनको लालपूर्जा हात हातमा पुग्नु समृद्धिको आधार हो ।’ आयोगले स्थानीय कोपिला थापा आले मगर, आइतमाया गुरुङ, निर्मला गुरुङ, पूर्णबहादुर गुरुङ, डम्बरबहादुर गुरुङ, मसिनु गुरुङ, विष्णुमाया गुरुङ, सिरिमाया गुरुङ, बुद्धिमाया भुजेल, हरिमाया गुरुङ, भरिमाया गुरुङ, बिनु गुरुङ र सविना गुरुङलाई जग्गा वितरण गरेको छ ।

त्यसअघि यही माघ ९ गते नापी कार्यालय तनहुँमा भूमिहीन सुकुम्बासी उपस्थित भई जग्गा दर्ता गरिएको थियो । विसं २०७८ फागुन १६ गते गठन भएको आयोगले पहिलो पटक भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराएको आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । अधिकारीले भने, ‘यसअघि गाउँपालिकाले निस्सा वितरण गरेका वडाका व्यक्तिहरुको जग्गा नापजाँच पश्चात् दावी पुगेका १३ जनालाई लालपूर्जा दिएका हौ । अन्य पालिकामा पनि क्रमशः यो प्रक्रिया सुरु हुन्छ ।’

आयोगका अध्यक्ष अधिकारीका अनुसार निकट भविष्यमै देवघाट गाउँपालिका–५ र शुक्लागण्डकी नगरपालिका–२ मा पनि भूमिहीन सुकुम्बासीलाई जग्गा वितरणको तयारी गरेको छ । आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका–५, व्यास नगरपालिकाका केही वडामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ ।

जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार १०८, भूमिहीन सुकुम्बासी एक हजार ८७२ र अव्यवस्थित बसोबासी २३ हजार १३७ गरी २६ हजार ११७ जनाको निवेदन दर्ता भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२, देवघाट गाउँपालिका–५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजार, बन्दीपुर गाउँपालिका–१ मा जग्गा नापजाँच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्