संयुक्त अध्ययन गर्न सम्झौता

काठमाडौं– नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन गर्ने सम्झौता भएको छ । मंगलबार एक समारोहका बीच सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा.विजय के.सी.ले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धानमार्फत नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनका लागि संघ र विश्वविद्यालयबीच सहकार्य हुनेछ । विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध कार्यक्रमहरूको माध्यमबाट अगाडि बढ्ने लक्ष्य लिएको सम्झौतापत्रमा उल्लेख छ ।
साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्न इंन्टर्नशिप अवसरको लागि पनि सहकार्य गरिने संघले जनाएको छ । यो सहकार्यले विश्वविद्यालय र संघको ज्ञान, सीप, क्षमता र अन्य स्रोतहरू आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।