रहरको दालले मूल्य पाएन

उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यावसायिक रहरको खेती गर्ने किसान मारमा परेका छन् । महाभारत शृंखलाको तल्लो क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत रहर दालले उत्पादन लागतकै मूल्य नपाउँदा किसान मारमा परेका हुन् । हिजोआज स्थानीय बजारमा रहर दाल प्रतिकिलोग्राम ५५ रुपैयाँले खरिद बिक्री भइरहेको छ । ५५ रुपैयाँमा बिक्री गर्नुपर्दा उत्पादन लागतमै घाटा भएको किसान बताउँछन् ।
कटारी, त्रियुगा, चौडण्डीगढी र वेलका नगरपालिका पर्ने महाभारत पहाडको तल्लो क्षेत्रका किसानका लागि रहर दाल आफ्नो मुख्य आम्दानीको स्रोत बन्ने गरेको छ । आम्दानीको स्रोत नै घटेपछि किसान समस्यामा परेका छन् । घर खर्चदेखि छोराछोरीलाई उच्च शिक्षा अध्ययनलगायत औषधि उपचारमा समेत रहर बिक्रीबाट प्राप्त आम्दानीले धान्दै आएको उनीहरूको भनाइ छ ।
तोरीको विकल्पमा किसानले वर्षौंदेखि रहर खेती गर्दै आएका थिए । तोरी उत्पादन लागत भन्दा दोब्वर मूल्य पाए पनि उत्पादन हुन छोडेपछि विकल्पमा रहर दाललगाउन थालिएको किसान बताउँछन् । तराई क्षेत्रमा पाइने भन्दा उच्चकोटीको रहर महाभारतको तल्लो क्षेत्रमा हुने गरेको किसानहरूले बताए । त्यसैले बजारमा मागसमेत बढ्दै गएको थियो । मागसँगै मूल्य पनि राम्रो हुँदै जाँदा यसको व्यावसायिक खेती गर्न हौसिएका किसान मूल्य घटेपछि चिन्तित भएकोे चौडण्डीगढी–२ का धर्मप्रसाद ढकालले बताए । “गत वर्षको यसै समयमा १ सय ५० रुपैयाँ प्रतिकिलोग्रामसम्म रहर दाल बिक्री भएको थियो,” उनले भने, “तर यो वर्ष महिना दिनदेखि ५५ रुपैयाँभन्दा बढी भएको छैन ।” एक किलोग्राम रहर दाल उत्पादन गर्न विउ, मल, मजदुरी र रेखदेखसम्मको खर्च जोड्दा ६० रुपैयाँसम्म पर्ने गरेको उनले बताए ।
गाईघाट र बेल्टार बजारमा नै तयारी रहर दाल १ सय २० रुपैयाँ प्रतिकिलोग्राममा बिक्री भइरहेको छ ।
बाहिरबाट आयतित तयारी दाल १ सय २० रुपैयाँ हुँदा स्थानीयले उत्पादन गरेर गोटा दाल ५५ रुपैयाँमा समेत बिक्री गर्न समस्या भएको किसानको गुनासो छ । बजारमा रहरमात्रै होइन मुसुरो, मास, मस्याङ, राजमालगायत दलहनको मूल्य उच्च छ । कुनै पनि दाल प्रतिकिलोग्राम १ सय ४० रुपैयाँभन्दा कम मूल्यमा पाइँदैन । तर, किसानले उत्पादन गरेको दालको मूल्य भने ५५ देखि ७५/८० रुपैयाँभन्दा बढी नभएको त्रियुगा नगरपालिका–१ का किसान प्रेम राईले बताए । “उत्पादन लागत आउने अवस्था नै छैन,” उनले भने, “बिचौलियाको मारमा किसान परेका छन् ।” किसानको उत्पादनमा विचौलियाले लगाएको सिन्डिकेटका कारण मूल्य पाउन कठिनाइ भएको उनले बताए ।
आयातित दालले बजार कब्जा गरेका कारण स्थानीय उत्पादनले मूल्य नपाएको गाईघाट बजारका दाल लगायतका गेडागुडीका थोक व्यापारी बैधनाथ गुप्ताले वताए । “उपभोक्तालाई स्वादभन्दा बाहिरबाट आएको हेर्दा राम्रो देखिने दानादार दाल चाहिन्छ,” गुप्ताले भने, “स्थानीय उत्पादन स्वाद र स्वास्थ्य दुवैका लागि गुणस्तरिय भए पनि हेर्दा राम्रो नदेखिने भएकाले बिक्री गर्न समस्या हुन्छ ।”
–गोपाल पोखरेल