महाकाली करिडोर अनुगमन

महेन्द्रनगर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहित सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीलगायतको टोलीले महाकाली करिडोरको अनुगमन गरेको छ । सोमबार महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ ब्रह्मदेवबाट सुदूरपश्चिम प्रदेश सरकारका दुईमन्त्री, प्रदेश सभा सांसद, प्रमुख सचेतक लेखक अनुगमनमा गएका हुन् ।
महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म २४१ किलोमिटर ट्र्याक खोलिएको उक्त क्षेत्रका स्थानीयले बताएका छन् । उक्त क्षेत्रका स्थानीयका अनुसार डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको र करिडोर निर्माण भइसकेपछि सुदूरपश्चिमको कायापलट हुने बताएका छन् ।
स्थानीयका अनुसार कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने उक्त सडकले सुदूरपहाडको आधाभन्दा बढी भू–भागलाई तराईसँग जोड्ने छ् भने कञ्चनपुरदेखि दार्चुलासम्म ४२५ किलोमिटर सडक निर्माण हुनेछ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ । तुसारपानीदेखि तिंकरसम्म ९१ किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।