खोरदेखि भान्सासम्म कर

आफुखूसी मूल्य बढाउँदै, न छलफल न अनुगमन |
ताप्लेजुङ-सदरमुकामकामा खसी तथा भेडाको मासु प्रतिकिलो ६ सय रुपैयाँ थियो । ब्रोइलर कुखुराको मासु प्रतिकेजी ३ सय ५० मै पाइन्थ्यो । तर चाडपर्व नजिकिएसँगै व्यवसायीले खसी, भेडा तथा कुखुराको मूल्य एक्कासी बढाएका छन् । खसी र भेडाको मासु प्रतिकिलो १ सय रुपैयाँ बढेर प्रतिकिलो ७ सय रुपैयाँ पुगेको छ । यस्तै, ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो ६० रुपैयाँ बढेर ४ सय १० रुपैयाँ पुगेको छ ।
मासुसँगै अन्य वस्तु तथा सेवाको पनि मूल्य अकासिएको छ । कपाल काटेको ८० रुपैयाँ थियो भने सैलुन व्यवसायीले २० रुपैयाँ बढाएर १ सय रुपैयाँ पु-याएका छन् । पाथीभरा क्षेत्रमा दूध चियाको मूल्य प्रतिकप ३० र रातो चियाको २० रुपैयाँ पुगेको छ । यी त एक्कासी मूल्यवृद्धि भएका प्रतिनिधिमूलक घटनामात्र हुन् । स्थानीय सरकार, प्रशासन तथा उपभोक्ता हकहित संरक्षण समिति मौन रहँदा मूल्य मनोमानी बढेको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मूल्यवृद्धिको विषयमा आफूलाई जानकारी नै नभएको प्रतिक्रिया दिए ।
यद्यपि प्रजिअ निरौलाले नगरपालिकासँग तत्काल छलफलको विषय बनाउने बताए । उनले भने, “मूल्यवृद्धि गर्नुको कारण उपभोक्ताले थाहा पाउनुपर्छ । आफुखूसी मूल्य बढाउन पाइँदैन ।”
कुखुराको चल्ला तथा दानामा भएको मूल्यवृद्धिले बाध्य भएर भाउ बढाएको जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष नरेन्द्र मादेन बताउँछन् । अध्यक्ष मादेनले भने, “चल्लादेखि दानापानी तराईबाटै ल्याउनुपर्छ । चल्ला जोगाएर व्यवसाय गरी लगानी सुरक्षित गर्न नै धौ–धौ छ ।” खसी व्यवसायीका अनुसार यहाँका खसीबोका तथा भेडा तराईमा निर्यात हुन थालेको छ । फुङलिङ नगरपालिका–५ का सविन गुरुङका अनुसार पहाडको खसी तथा भेडाको मासुको माग तराईमा अत्यधिक छ । अझ चाडपर्व पनि नजिकिनु तथा भारतबाट खसीबोका आयात नभएकाले पहाडको खसी तराईमा विक्री गर्ने व्यवसाय फस्टाउन थालेको छ ।
फुङलिङ नगरपालिकाले गत असार १० गते प्रकाशित गरेको राजपत्रमा उल्लेख भएबमोजिम नगरपालिका भने मूल्य नियन्त्रणभन्दा कर संकलनमै व्यस्त छ । भुँइमा सामान बिच्छ्याएर एक डोको साग बेच्नेलाई २० रुपैयाँ तथा जुत्ता पालिस गर्नेलाई पनि २० रुपैयाँ तथा सार्वजनिक जग्गामा व्यवसाय गर्नेलाई वार्षिक २५ हजारसम्म कर तोकेर कार्यान्वयनको पाटोमा मात्र केन्द्रित बनेको छ । नगर सरकारको चौतर्फी आलोचनासँगै गत शनिबार (भदौ २८ गते) तोक्मेडाँडामा तोकिएको कर संकलन नै गरेनन् । नुनदेखि सुनसम्म कारोवार हुने तोक्मेडाँडामा मंगलबार र शनिवार हटिया लाग्छ । नगरप्रमुख छत्रपति प्याकुरेल र उपप्रमुख बम बहादुर भट्टराईसहित कर्मचारीको टोलीले अनुगमन गरे तर कर संकलन गरेनन् ।
हटियामा सागसब्जी बिक्री गर्दै आएकी फुङलिङकी सीता भट्टराईका अनुसार भारी राखिसक्दा रसिद काटेर ३० रुपैयाँ तिर्नुपथ्र्याे । जबकी २० रुपैयाँ लिनुपर्ने भए पनि ३० रुपैयाँ लिएर प्रतिव्यक्ति १० रुपैयाँ ठगिएको र रसिदमा छाप नभएको तथा हस्ताक्षर नै नभएको विषयले नगरसरकारको आलोचनाले अनुगमनमा निस्कन बाध्य बनेको थियो ।
फुङलिङ नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, २०७६ अन्तर्गत दफा ७ सँग सम्बन्धित अनुसूची–६ मा जीवजन्तु कर शीर्षकमा पशुपंक्षीको कर उल्लेख गरिएको छ । किसानले पालेको एउटा खसी तथा भेडाको कर (खोरमै) ५० रुपैयाँ तोकेको छ । त्यो खसी तोक्मेबजारमा विक्री गरेवापत प्रतिगोटा २ सय रुपैयाँ तिर्नुपर्छ । त्यहाँबाट खरिद गरि मासु बिक्री गर्दा (वधशाला) विक्रेताले प्रतिगोटा १ सय ५० रुपैयाँ तिर्नुपर्छ । एउटा खसीको तेहेरो करमात्र ४ सय रुपैयाँ पर्छ ।
कर आतंक यतिसम्म छ कि खोरदेखि भान्सासम्म भन्दा फरक पर्दैन । दफा ९ मा उल्लेख गरिएको बहाल विटौली शिर्षकसँग संम्बन्धित अनुसूची–८ मा तोक्मे बजारमा बिक्री गरी काटेर मासु बिक्री गर्नेलाई कर तोकिएको छ । पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले नगरसरकार व्यवहारिक कर निर्धारण गर्न चुकेको बताए । नगर सरकारले निर्धारण गरेको कर सिधै उपभोक्ताको भान्सासँग जोडिने भएकाले कर निर्धारण व्यावहारिक हुनुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए । उनले भने, “तोक्मेबजार हटियाको कर व्यवस्थित हुनुपर्छ । निरीह किसान चिसो भुईमा बसेर धन्न कर तिर्छन् ।” मूल्य वृद्धिको विषय नगर सरकार, प्रशासन र उपभोक्ता हकहित संरक्षण समितिको सक्रियतामा निर्भर छ ।
देवराज गुरुङ