देशको अर्थतन्त्र लयमा: अर्थमन्त्री
‘अर्थतन्त्र उकास्न राज्यले ठोस कदम चाल्नुपर्छ’

चितवन– अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र लयमा फर्किएको बताएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उनले सो कुरा बताएका हुन् । सो अवसरमा अर्थमन्त्री महतले कोभिडकालको असरले केही समय अर्थतन्त्र संकटमा परे पनि हाल लयमा फर्किसकेको दाबी गरेका हुन् ।
देशको मौद्रिक नीतिमा सुधार भएको बताउँदै उनले भने, ‘ब्याजदर हिजोको तुलनामा केही घटेको छ । विस्तारै जग्गा कारोबार पनि बढ्दै गएको छ । तर, हिजोको जस्तो अथाह बढ्छ भन्ने सोच्नु हुँदैन ।’ यतिबेला देशको अर्थतन्त्र लयमा फर्किंदै गर्दा विप्रेषण सबैभन्दा माथि रहेको पनि उनले दाबी गरे । उद्योगी, व्यवसायीले मूल्य वृद्धि बढ्दै गएको हल्ला फैलाए पनि वास्तविकतामा मूल्य वृद्धि विगतको तुलनामा घटेको उनले दाबी गरे ।
‘हिजो सालाखालामा आठ प्रतिशतसम्म मूल्य वृद्धि भएको थियो । तर, यतिबेला पाँच प्रतिशतमा झरेको छ,’ उनले भने, ‘त्यसकारण यतिबेला मूल्यवृद्धि बढेको होइन, घटेको हो ।’ यो बीचमा उद्योगी व्यवसायी समस्यामा पर्नुको कारण खुलाउँदै अर्थमन्त्री महतले थप्दै गए, ‘केही व्यवसायी अझै पनि अप्ठ्यारोमा छन् । त्यसको कारण भनेको कोभिडकाल र त्यसभन्दा अघि राष्ट्र बैंकले प्रवाह गरेको ठूलो कर्जा प्रवाह हो ।’
त्यतिबेला लिएको अधिकांश ऋण सेयरमार्केट र जग्गा कारोबारमा लगानी गर्दा समस्यामा परेको उनले बताए । ‘जग्गा र सेयर बजारको मूल्य सधैं बढ्छ भन्नु गलत हो,’ उनले भने, ‘आज पनि बढेकै छ, भोलि पनि बढ्ने नै छ, ऋण तिर्न गाह्रो हुँदैन भन्ने सोचेर बस्दा न्यूयोर्कको रियलस्टेटभन्दा महँगो हुन थालेपछि त्यसको असर कहाँ पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।’ बैंकबाट ऋण लिएर लगानी गर्दा त्यसबाट प्रतिफल आउन नसकेपछि व्यवसायीमा छटपटी सुरु भएको उनको भनाइ छ ।
लगानीमैत्री वातावरण बनाउन माग
यसैबीच व्यवसायीहरूले लगानीमैत्री वातावरण बनाउन माग गरेका छन् । उनले अर्थतन्त्र सुधार्न राज्यकै निकायबाट तत्परता देखाउन माग गरेका छन् । चितवनका उद्योगी तथा व्यवसायीले देशको अर्थतन्त्रमाथि उठाउनका लागि ठोस कदम चाल्नु पर्नेमा जोड दिए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले देशको अर्थतन्त्र खस्किनुमा ठूला मुलुक र छिमेकी मुलुकको प्रभावसँगै सरकारको पनि कमजोरी रहेको आरोप लगाए । ‘हामीले चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिसम्बन्धी उद्योग वाणिज्य महासंघमार्फत् सरकारलाई सुझाव पेस गर्दा पनि त्यसको सुनुवाइ भएन,’ उनले भने । अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगी व्यवसायीकै गुनासो नसुन्ने भएपछि राज्यले अर्थतन्त्र सुधारमा खासै चासो दिएको नपाइएको अध्यक्ष श्रेष्ठले बताए ।
‘यस्तो अवस्थामा राज्यले पुँजीगत खर्चमा वृद्धि गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘होइन भने आर्थिक जटिलता झन् थपिँदै जाने निश्चित छ ।’ कृषि र पर्यटनजस्ता सम्भावना बोकेको क्षेत्रको पहिचान गराउन नसक्दा मुलुकभित्रै रोजगारको अवस्था सिर्जना गर्न नसकेको उनको भनाइ छ । ‘चितवन जिल्लाभित्रै सम्भाव्यता अध्ययन गर्ने हो भने सम्भावना प्रसस्तै भेटिन्छन्,’ उनले भने, ‘त्यसैले राज्यले ध्याद दिएर चितवनलाई कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रसँगै आर्थिक गतिवधि र औद्योगिक विकासको हबको रूपमा विकास गर्न आवश्यक छ ।’
शक्तिखोर औद्योगिक क्षेत्र घोषणामा मात्रै सीमित भएको भन्दै त्यसलाई जतिसक्दो चाँडो प्रकृया अगाडि बढाउन पनि उनले आग्रह गरे । ठोरी–केरुङ सडक निर्माण सुरु गरी चितवनको विकासलाई चीन र भारतजस्ता छिमेकी मुलुकसँगको व्यावसायिक सम्बन्ध कायम गराउन पनि राज्यको ध्यानाकर्षण गराए ।
भरतपुरमै अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणलाई तदारुकताका साथ समयमै सम्पन्न गराए त्यस्ता क्षेत्रले देशको आर्थिक विकासमा टेवा पुग्ने उनले बताए । भरतपुर क्षेत्रलाई प्रदूषणमुक्त र ट्राफिक व्यवस्थापनलाई चुस्त राख्दै आर्थिक गतिविधि वृद्धि गराउन रात्रिकालीन बजार एवम् सवारी सञ्चालनसम्बनधी सम्भाव्यता अध्ययन गरिनु आवश्यक रहेको उनले बताए ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले सरकारले तदारुकता नदेखाउँदा उद्यमशीलता तल खस्किँदै गएको बताए । ‘जसले गर्दा उद्योगी व्यवसायीको मनोबल नै कमजोर भइसकेको छ,’ उनले भने । सरकारले समयको गाम्भीर्यता नबुझ्दा समग्रमा उद्योगहरू ४० प्रतिशतको हाराहारीमा मात्रै चलिरहेको उनले दाबी गरे । ‘कुनै उद्योगको अलि बढी होला । नत्र समग्रमा सालाखाला हेर्ने हो भने ४० प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन,’ उनले भने, ‘जसले गर्दा कर्मचारी कटौती व्यापक भएको छ ।’
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले बिग्रेको अर्थतन्त्रलाई माथि उकास्नको लागि सरकारले ठोस कदम चाल्नु आवश्यक रहेको बताए । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल भने उद्योगी व्यवसायीले संयमता नअपनाउँदा व्यापार घाटाले निरन्तरता पाएको बताउँछन् । देशमा अवसर छैन भनेर सधैँ नकारात्मक सूचना प्रवाह गराउँदा त्यसको घाटा आफैँलाई पर्ने बताउँदै उनले भने, ‘अवसर छैन भनेर हामीले नै भन्दै गर्दा साना व्यवसायीमा कत्तिको असर पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।’
त्यसैले बजारमा सकारात्मक प्रभाव छाड्न सक्नुपर्ने उनले बताए । ‘सकारात्मक हिसाबबाट अगाडि बढ्न सक्नुपर्छ । अवस्था सहज नभए पनि संघर्ष गर्न छाड्नु हुँदैन,’ उनले भने, ‘संघर्षले एक दिन अवश्य फल दिन्छ भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन ।’
युवा उद्यमी पौडेल सम्मानित
उद्योग वाणिज्य संघ चितवनले यस वर्ष तीनजनालाई पुरस्कृत गरेको छ । हरेक दुई वर्षमा प्रदान गर्दै आएको ‘हीरालाल सन्तुदेवी युवा उद्यमी पुरस्कार’बाट यसवर्ष भरतपुर–७ का युवा उद्यमी सन्दीप पौडेल, उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट आर्थिक अभियान दैनिकका चितवन संवाददाता सूर्यप्रसाद अधिकारी र उत्कृष्ट कर्मचारीका रूपमा संघका कार्यक्रम अधिकृत गणेश सुवेदीलाई पुरस्कार प्रदान गरिएको छ ।
युवा उद्यमी पुरस्कार नगद एक लाख, उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार ५१ हजार र उत्कृष्ट कर्मचारी पुरस्कार २५ हजार राशिको रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । सबैलाई योग्यता, क्षमता र योगदानका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको उनले बताए ।