स्थानीय सरकारबाट पर्यटन विकासमा ६० लाख

तेह्रथुम-जिल्लाको छथरलाई पर्यटन विकासका लागि स्थानीय सरकारले चासो दिँदै आएको छ । पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकारबाट यसवर्ष मात्रै ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । छथरका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक, साँस्कृतिक,पर्यावरणीय तथा साहसिक पर्यटन विकास गर्ने उद्देश्यका साथ गाउँपालिकाले विगतका वर्षहरूबाटै रकम विनियोजन गर्दै आएको जनाएको छ ।
छथरमा रहेका पर्यटकीय प्रचुर सम्भावना रहे पनी संरक्षणको अभावमा गुमनाम भएका क्षेत्रहरूको खोजी गरी पर्यटन विकास गरिने भएको छ । रकम विनियोजनले पर्यटन विकासमा टेवा पुग्ने देखिएको छथर गाँउपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।
पर्यटन विकासका लागि आव २०७४-७५ मा पर्यटन विकासका निम्ति ४० लाख ०७५ – ७६ मा ८३ लाख र चालु आवमा ६० लाख रकम विनियोजन भएको छ । पर्यटकीय गन्तव्यहरू चाङलुङ गुफा संरक्षण, छथर भ्यूपार्क, सौरेनी डाँडा पिकनिक स्थल निर्माणको थालनी, बालउद्यन आहालडाडा, साततले गुफा संरक्षणका कामहरू विगतका वर्षहरूबाटै थालनी हुँदै आएका छन् ।
त्यस्तै फाक्चामारामा थाक्चोलुङ अतिथि भवन निर्मण,ताक्लुङ गढी,चाङसिङ गढी संरक्षण, मार्गपोखरी संरक्षण, हाङमालुङ संरक्षण, मालिङ गुम्बा, हनुमान मुक्ति संरक्षणलगायतका विभिन्न पर्यटकीय स्थलहरूमा काम सुरु भएको गाउँपालिकाका प्रवक्ता राजन नेपाली बताए ।
पर्यटन विकासका लागि गुरुयोजना निमार्ण गरी छथरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको अध्यक्ष तिगेलाले बताए । पर्यटन विकासका लागि पर्यटकिय क्षेत्रहरूको प्रचार–प्रसारलाई प्राथमिकताका साथै वृत्तचित्र तथा ब्रोसियरहरू प्रकाशन गरी आन्तरिक तथा बाह्रय पर्याटकहरूको आकर्षणको केन्द्रका रूपमा विकास गरिने भएको गाउँपालिकाले जनाएको छ ।
पर्यटकीय पूर्वाधार र सुविधाको प्रबन्धको व्यवस्था गरिनुको साथै यस क्षेत्रमा भित्रिएका पर्यटकहरूलाई कम्तीमा तिन दिनसम्म यस क्षेत्रको अवलोकन गर्नका लागि रहने वातावरण मिलाइने भएको छ ।
यसवर्ष छथर क्षेत्रमा रहेको भौतिक संरक्षण निर्माण तथा डीपीआर निर्माणका काम हुने भएको छ । गत वर्षदेखि थालनी भएका अधुरा स्थलहरूका साथै नयाँ पर्यटकीय स्थलहरूमा काम हुने गाउँपालिकाले जनाएको छ । साततले धाम निमार्ण, पञ्ककन्या र फाक्चारामा अतिथि सदन भवन, हनुमाने ढुंगा व्यवस्थापन,चाङलुङ गुफा संरक्षण, सौरेनी डाँडा पिकनिक स्थल निर्माण, बालउद्यन व्यवस्थापन आहालडाँडा,भ्यूपार्क व्यवस्थापन, भ्यू–पोइन्टहरू निर्माण, तङसिङ पार्कलगायतका कामहरू हुने भएको छ । त्यस्तै प्रधानमन्त्री पार्क र तङसिङ पार्क डीपीआर निर्माण हुने भएको छ ।