Logo

रसुवाघाट–कालापानी खानेपानी आयोजना बन्द

खोटाङ– खोटाङको रसुवाघाट–कालापानीमा सञ्चालित करोडौंको लिफ्टिङ खानेपानी आयोजना एक वर्षदेखि बन्द छ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका खोटेहाङ गाउँपालिका– लिच्कीराम्चेस्थित कालापानीका स्थानीयवासी ढिलै भए पनि आफ्नो गाउँमा लिफ्टिङ खानेपानी आयोजना भएपछि हर्षित भएका थिए ।

तर कहिले बेलामा विद्युत महशुल बुझाउन नसक्दा त कहिले उपकरण बिग्रने समस्याका कारण खानेपानीको समस्या ज्यूँका त्यूँ छ । वि.सं २०७२ चैत ११ गते शिलान्यास गरी पाँच वर्षपछि सञ्चालनमा ल्याइएको रसुवाघाट–कालापानी खानेपानी आयोजना खोटाङकै पहिलो लिफ्टिङ आयोजना हो । साविकको लिच्कीराम्चे–७ का ११० घरलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त आयोजना वि.सं २०७७ पुस–११ गते हालका प्रदेश सांसद भूपेन्द्र राईले औपचारिक रूपमा उद्घाटन गरेका थिए ।

नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख बराबरको श्रमदान गरी एक करोड ८० लाखमा सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना एक वर्षदेखि बन्द छ । खानेपानी अभावमा बसाइँ सर्नुपर्ने बाध्यतामा रहेका कालापानीबासीका लागि सुरुका केही दिन लिफ्टिङ खानेपानी आयोजनाले राहत मिलेको थियो । तर कहिले बेलामा विद्युत महशुल बुझाउन नसक्दा त कहिले उपकरण बिग्रने समस्याका कारण उही पुरानै समस्या भोगिरहेका छन् ।

कालापानीका स्थानीय चुहार पँधेरा, मानेखोला पँधेरा र खारखोला पँधेराबाट दुई घण्टा हिँडेर खानेपानी उपभोग गर्न बाध्य छन् । एउटा लिफ्टको मोटर चलाउने पाइनल बोर्ड बिग्रेका कारण खानेपानी आयोजना बन्द भएपछि समस्या आएको हो । गत वर्ष प्रदेश खानेपानी आयोजनाबाट विनियोजन भएको सात लाख खर्च गरेर सञ्चालनमा ल्याएको खानेपानी १५ दिनमै बिग्रियोे । यस वर्ष पनि प्रदेशको तर्फबाट पाँच लाख बजेट विनियोजन भएको छ । बाहिरबाट प्राविधिक बोलाएर खानेपानी सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजनाका अध्यक्ष कर्णबहादुर राउतले बताए ।

खानेपानीको समस्या विकराल बन्दै गएपछि कालापानीमा पम्पिङ प्रविधिमार्फत् १८ सय मिटर तल रहेको सुनकोशीको पानी गाउँमा ल्याउने विकल्पअघि सारिएको थियो । उक्त क्षेत्रमा अधिकांश विपन्न परिवारका मानिसको बसोबास छ । उनीहरूलाई खानेपानी महशुल तिर्नसमेत हम्मेहम्मे छ । खानेपानी महशुलको केही प्रतिशत स्थानीय सरकारले सहयोग गर्नुपर्ने स्थानीयबासीको माग छ । तर आयोजना नै स्थानीय उपभोक्तालाई जिम्मा लगाइसकेपछि स्थानीयबासी आफैले बेहोनुपर्ने स्थानीय सरकारको तर्क छ ।

उक्त क्षेत्रमा २०७१ सालबाट सुरु भएको लिच्किराम्चे दिउ खानेपानी आयोजना पनि १० वर्षसम्म सम्पन्न हुन सकेको छैन । हालसम्म बाघेढुंगा ट्यांकीसम्म मात्र आइपुगेको छ । संघीय खानेपानी आयोजनाको अनुमानित ६ करोड रुपैयाँ बजेटमा उक्त आयोजना सुरु गरिएको हो । स्थानीय सरकारले यस वर्ष सात लाख बजेट छुट्याएर ठाउँठाउँमा पाइप जोडी आवश्यक ठाउँमा पानी पुर्‍याएको छ । अझै पनि पाइपका कारण योजना सञ्चालित नहुँदा प्रत्येक टोलमा खानेपानी पुग्न नसक्दा खानेपानीको हाहाकार छ ।

प्रतिक्रिया दिनुहोस्