Logo

वैदेशिक रोजगारीबाट फर्केकालाई सीप

महेन्द्रनगर– कञ्चनपुरमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउन शुक्लाफाँटा नगरपालिकाले तथ्यांक संकलनको काम सुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखामार्फत उक्त तथ्यांक संकलनको कार्य सुरु गरिएको हो ।

नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले स्वदेशमै उद्यमशीलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्नका लागि तथ्यांक संकलन कार्य अगाडि बढाएको बताए । उनले भने,‘तथ्यांक संकलनका लागि नगरपालिकाका–१२ वटै वडामा परिपत्र गरिसकेका छौं, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले वडामा उपलब्ध गराएको फारममा नाम, वैदेशिक रोजगारीमा गएको मुलुक, सिकेको सीप, ठेगाना र सम्पर्क नम्बर, चाहिने सीपबारे विवरण भर्नुपर्ने छ ।’

विवरण संकलन गरी सकिएपछि त्यसकै आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले सेवा प्रदायकमार्फत सीपमूलक तालिमका लागि छनोट गर्ने भट्टले बताए । भट्टले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै व्यवस्थापकीय सीपमूलक तालिम प्रदान र परम्परागत रूपमा सञ्चालित पेसाको आधुनिकीकरण तथा बजारको माग अनुरूप रोजगारीको व्यवस्था गर्न सहजीकरण गरिने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले रोजगारीका क्रममा आर्जन गरेको पुँजी, ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिहरूको वित्तीय साक्षरता र पहुँचमा वृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यममूलक कार्यक्रम सञ्चालनको व्यवस्था गरिने बताए । उनले भने,‘गत आर्थिक वर्षमा नगरपालिकामा विदेशबाट फर्केका ९० जनाको विवरण संकलन गरिएको थियो । जसमा भारत, मलेसिया, साउदी अरब, ओमान, बहराइन, कतार, दुबई, युएई, रोमानियालगायतका देशहरूबाट फर्केका व्यक्ति रहेका थिए ।’

विवरणमा समेटिएका व्यक्तिहरूले गार्मेन्ट, कृषि, सवारी चालक, सरसफाई, डिजिटल मार्केटिङ, रेस्टुरेन्ट अपरेटर, डकर्मी, सिलाइ कटाइ, फर्निचर मेकर, स्काफ फोल्डिङ, पेन्टिङ, प्लम्बिङ, मार्बल, फुड प्याकेजिङ, पिओपी, सेफ, पशुपालन सम्बन्धी तालिमको माग गरेका थिए । उक्त तथ्यांक संकलन गरिएकामध्ये २० जनालाई सीपमूलक सिलाइ कटाइ तालिम दिई व्यवसाय उन्मुख गराइएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्