Logo

आत्मनिर्भर व्यवसायतर्फ महिला

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुर्गम गाँउबस्तीका महिलाहरू आत्मनिर्भर व्यवसायमा सक्रिय हुन थालेका छन् । कुनै समय चुलोचौकोमा सीमित भएका ग्रामिण भेगका महिलाहरू अहिले विभिन्न व्यवसायमा आबद्ध छन् । उनीहरू तरकारी खेतीदेखि लिएर किराना पसल, बाख्रा पालन व्यवसायमा सक्रिय रहेका छन् ।

निड्स नेपालद्वारा आप्रवासी परिवारका लागि आर्थिक उत्थानशील परियोजनामार्फत ग्रामिण भेगका महिलाहरूले व्यवसाय गर्नका लागि सहयोग पाएपछि उनीहरू विभिन्न व्यवसायमा लागेका हुन् । भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीकी स्थानीय महिला गंगा डोबालले तरकारी खेती गर्दै आएको बताइन् । तीन वर्षदेखि उनले तरकारी खेती गरिरहेकी छिन् ।

डोबालले भनिन्, ‘चार कठ्ठा जमिनमा तरकारी खेती गरेकी छु । निड्स नेपालले तरकारी खेतीका लागि प्राविधिक तालिम, बीउबिजन, टर्नेल निर्माण गरेको थियो । पहिले मैले घरमै परम्परागत रूपमा खेतीपाती गर्दै आएको थिए । कृषि व्यवसाय गर्न सीप पाएपछि अहिले व्यवहारिक रूपमा तरकारी खेती गरिरहेको छु ।’

त्यसैगरी उनले उत्पादन गरेको तरकारी स्थानीय महेन्द्रनगर बजारसम्म पुर्‍याउने गरेको बताइन् । सिँचाइ र ढुवानीमा निकै समस्या रहेको उनको भनाइ छ । खल्लामछेट्टीकी मैना जाग्री र जमुनाघाडीकी चिमा रानाले किराना पसल थापेर व्यवसाय गरिरहेका छन् । खल्लामछेट्टीकी मैना जाग्रीले निड्स नेपालबाट पसल थाप्नका लागि र्‍याक, टिनलगायतका सामग्री र व्यवसायिक तालिम पाएपछि किराना पसल थापेको बताइन् ।

उनले भनिन्,‘यो किराना पसलबाट मैले घर खर्च चलाएकी छु, विगतभन्दा अहिले व्यवसाय गर्न निकै सहज भएको छ ।’ जमुनाघाडीकी चिमा रानाले निड्स नेपालबाट पसल सञ्चालनका लागि खोका पाइएपछि व्यवसाय सुरु गरेकी बताइन् । उनले भनिन्,‘पहिले म मजदुरी गर्दै आएको थिए । व्यवसाय सञ्चालनका लागि खोका र तालिम पाएपछि व्यवसाय सुरु गरेको हो ।’

खल्लामछेट्टीकी दिपा सार्की र ब्रम्हटोलकी गोमती सार्कीलेसमेत व्यावसायिक बाख्रापालन गरेका छन् । उनीहरूलाई निड्स नेपालले उन्नत जातका सात/सातवटा बाख्रा दिएपछि त्यसैमा काम गर्दै आएको बताए । खल्लामछेट्टीकी दिपा सार्कीले सात वटा बाख्राबाट १३ वटा पुर्‍याएको बताइन् । ब्रम्हटोलकी गोमती सार्कीले सात वटा बाख्रालाई बढाएर १२ वटा पुर्‍याएकी छिन् ।

खल्लामछेट्टीकी सार्कीले विगतमा घरमै एक दुई बाख्रा पालन गरेपनि अहिले दर्जनौँ बाख्रा पालिरहेकी छिन् । उनले भनिन्, ‘तालिम र बाख्रा पाएपछि बाख्रा पालन व्यवसाय गरिहेको छु । बाख्रा पालनबाट अन्नबालीका लागि प्राङगारिक मल पनि हुन्छ भने बेच्दासमेत निकै राम्रो आम्दानी हुन्छ ।’ परम्परागत रूपमा आरन व्यवसाय गर्दै आएकी मानमती कामीले समेत आधुनिक आरन व्यवसाय गर्दै आएकी छिन् । आवश्यक मेसिन, जस्तापाता दिएपछि आरन व्यवसाय गर्दै आएको उनले बताइन् ।

त्यसैगरी आप्रवासी परिवारका लागि आर्थिक उत्थानशिल परियोजनाका संयोजक अनिला चौधरीले आर्थिक रूपमा विपन्न दलितसहितका विपन्न परिवारका महिलालाई समुहमा आबद्ध गराएर उनीहरूको चाहना अनुरूप व्यवसाय सचालन गर्न सहयोग गरेको बताइन् । उन्नती महिला सशक्तीकरण केन्द्रका अध्यक्ष जसुदेवी रोक्का मगरले आफूहरू अधिकारदेखि व्यवसायतर्फ उन्मुख भएकाले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्