भूकम्प पीडित विद्यार्थीलाई पुस्तक अभाव

जाजरकोट– भूकम्पबाट घर भत्किएपछि पाठ्यपुस्तकविहीन भएका जाजरकोट र रुकुम पश्चिमका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । स्थानीय तह र सरोकार राख्ने निकायको गम्भीर ढिला सुस्तीका कारण पाठ्यपुस्तक पाउनबाट विद्यार्थी बञ्चित भएका हुन् ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार भूकम्पबाट ६ सय कक्षा कोठामा पूर्ण क्षति भएको छ भने ८ सय कक्षा कोठामा आंशिक क्षति पुगेको थियो । जसबाट पुस्तक पनि पुरिँदा विद्यार्थी पाठ्यपुस्तकबिनै पढ्न बाध्य छन् । जाजरकोटको कुशे गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक जनकबहादुर शाहले भूकम्पले प्रभावित विद्यालयमा हालसम्म पुस्तक दिन नसकिएको जानकारी दिए ।
पुस्तक पसल टाढा परेकाले समयमा वितरण गर्न नसकिएको उनको तर्क छ । उनका अनुसार कुनै पनि विद्यालयमा पाठ्यपुस्तक वितरण गरिएको छैन । नलगाड नगरपालिकाले भने नगरभित्रका विद्यालयमा आवश्यक सबै पुस्तक उपलब्ध गराएको दाबी गरेको छ । नगरपालिकाका विद्यालय निरीक्षक बलवीर विकले भने, ‘हाम्रो नगरपालिकाका सबै भूकम्पपीडित बालबालिकाले पुस्तक पाइसकेका छन्, कुनै समस्या छैन ।’ उनका अनुसार १४ सय सेट पुस्तक उपलब्ध गराइएको छ ।
रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर बिष्टले कक्षा ७ सम्मका विद्यार्थीलाई मात्रै पुस्तक उपलब्ध गराउन सकिएको जानकारी दिए । उनले अझै कक्षा ८, ९ र १० का विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताए । ‘चार दिनअघि पुस्तक ल्याएर वितरण गर्यौं तर अझै कक्षा ८, ९, १० का विद्यार्थीलाई अपुग छ’, उनले भने । उनका अनुसार १४ सय सेटमात्रै पुस्तक उपलब्ध गराइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार जम्मा स्थानीय तहबाट १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तकको माग आएको छ ।
भूकम्पबाट कक्षा १ मा १ हजार ९१३ सेट, कक्षा २ का १ हजार ७४९ सेट, कक्षा ३ का १ हजार ७११ सेट, कक्षा ४ का १ हजार ५४७ सेट, कक्षा ५ का १ हजार ५६१ सेट पुस्तक पुरिएको छ । यसैगरी कक्षा ६ का १ हजार ३२९ सेट, कक्षा ७ का १ हजार २७३ सेट, कक्षा ८ का १ हजार १४७ सेट, कक्षा ९ का १ हजार ४२१ र कक्षा १० का ९०४ सेट पुस्तक उपलब्ध गराउन माग आएको छ । यी सबै पाठ्यपुस्तक खरिद गर्न आवश्यक बजेटको व्यवस्था गरिसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक सविता दंगाल(गौतम)ले बताइन् ।
उनका अनुसार स्थानीय तहले नै रकम निकासा गरेर आवश्यक पुस्तक खरिद गरी सम्बन्धित विद्यार्थी वितरण गर्नुपर्ने छ । ‘हामीले तत्कालै पुस्तक उपलब्ध गराउन निर्देशन पनि दिइसकेका छौं’, उनले भनिन् । भूकम्पले विद्यालयमा क्षति पुर्याउँदा चिसो मौसमका वेला टहरामै विद्यार्थी पढ्न बाध्य छन् भने अर्कोतर्फ पुस्तक पाउन सकेका छैनन् । आठबीसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बिष्टले भने बाँकी आवश्यक पुस्तक तत्कालै उपलब्ध गराउन पहल गरिरहेको बताए ।
‘जनक शिक्षा सामग्रीलाई छिटो पुस्तक उपलब्ध गराउनु भनेका छौं तर अहिले उपलब्ध गराउन सकेको छैन’, उनले भने । उनले एकदुई दिनभित्रै पुस्तक उपलब्ध गराउने बताए । जाजरकोटको कुशे गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रास शाहले पनि पुस्तक उपलब्ध गराउन पहल भइरहेको बताए । उनले भने, ‘बजेट निकास गर्न लागेका छौं । त्यसपछि हामी पुस्तक खरिद गर्छौं, पुस्तकपसल पनि टाढा छ । त्यही भएर ल्याउन पनि समस्या भएको छ ।’ उनले अबको ३/४ दिनभित्रै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।