Logo

आजदेखि सुदूरपश्चिम महोत्सव

धनगढी– ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नारासहित सुदूरपश्चिम महोत्सव शुक्रबार धनगढीमा शुरु हुने भएको छ । प्रदेशको उद्योग, व्यापार, पर्यटन र कला संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष आयोजना गर्ने सो महोत्सव मंसिर २२ देखि पुस २ सम्म सञ्चालन हुनेछ । महोत्सव शुक्रबार मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीका साथै प्रदेशमा मुख्यमन्त्री, मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू महोत्सव उद्घाटनमा अतिथि रहने आयोजक संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । तीन करोडभन्दा बढीको लगानीमा आयोजना गरिएको महोत्सवमा स्थानीय उद्योगहरूले उत्पादन गरेका सामग्री, स्थानीय कला, संस्कृति, कृषि उत्पादनलगायतका वस्तुको प्रदर्शनी तथा बिक्री व्यवस्था गरिएको अध्यक्ष कुँवरले बताए ।

उनले महोत्सवमा कृषि, जडिवुटी, हस्तकला फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्टोनिक, होटल र सुचना प्रविधि गरी चार सय स्टलहरू राखिने बताए । महोत्सवमा थारु गाउँको छुट्टै व्यवस्था गरिएको छ । थारु गाउँमा थारु जातिको कला, संस्कृति, हस्तकलाका उत्पादन, खानपानका परिकारको प्रदर्शनी तथा बिक्रीको व्यवस्था गरिएको छ ।

सर्वसाधारणलाई एक सय, विद्यार्थीलाई ५० र अपांगलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा थारु गाउँ पस्न थप २० रुपैयाँको छुट्टै टिकट लिनुपर्ने छ । महोत्सवमा करिब ६ लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष कुँवरले बताए । २०६३ देखि आयोजना गर्न थालिएको यो सत्रौं महोत्सव हो ।

प्रतिक्रिया दिनुहोस्