Logo

ग्राउण्ड ह्याण्डलिङमा खुला प्रतिष्पर्धाको विरोध

काठमाडौं– नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिष्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा आन्दोलन सुरु गरेका छन् । बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउण्ड ह्याण्डलिङ वायुसेवा निगमले नै पाउनुपर्ने माग राखिएको छ । करिब वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन् । उनीहरूले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने बताएका छन् ।

युरोपेली युनियन (ईयु)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधवारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरूले प्राधिकरणका अडिट गर्न आउने कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले प्राधिकरणले युरोपेली युनियन(ईयु)ले दिएको प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमको कारण कालोसूचिबाट नहटेको आरोप लगाउँदै ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने उद्देश्यले प्राधिकरणका महानिर्देशकले गरेको निर्णय विरुद्ध आन्दोलन सुरु गरिएको बताए ।

हवाई माफियाहरूको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले निगमले अहिलेसम्म गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्न खोजिएको उनको भनाइ छ । प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ सम्बन्धी गरेको निर्णय प्राधिकरण र राष्ट्रको हितमा नभएको उनको भनाइ छ । निगमले ग्राउण्ड ह्याण्डलिङबाट वार्षिक ४ अर्ब रुपैयाँ आर्जन गर्दै आएको र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवालाई लक्षित गरेर आक्रमण गरेको पाण्डेले बताए ।

कर्मचारीहरूले ग्राउण्ड ह्याण्डलिङ खोस्ने निर्णयविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने बताएका छन् । उनीहरूले निगम र निगमका कर्मचारीहरूको हितको लागि भएपनि प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ निगमलाई नै दिनुपर्ने उनीहरूको भनाइ छ । कर्मचारीहरूले ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर,नागरिक उड्डन प्राधिकरणको दादागिरी बन्द गर, भ्रष्ट प्राधिकरणको महानिर्देशक राजीनामा दे लगायतका नारासमेत लगाएका छन् । त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट, पाँच सदस्यीय समिति गठन गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ दिने कम्पनी प्रतिस्पर्धाबाट छनोटको लागि समिति गठन गरेको हो । आइतबार प्राधिकरणले प्रतिस्पर्धाको माध्यमबाट कम्पनी छान्न आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको थियो । प्राधिकरणले कम्पनी छनोट गर्ने बोलपत्र सम्बन्धी कागजात समेत तयार पार्न निर्देशक सुनिलकुमार कुशवाहको नेतृत्वमा पाँच सदस्यीय समिति प्राधिकरणले गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्