Logo

११ महिनामा नौ लाख पर्यटक नेपाल भ्रमणमा

काठमाडौं– सन् २०२३ को पछिल्लो ११ महिनामा ९ लाख १८ हजार ३ सय ८ जनाले नेपाल भ्रमण गरेका छन् । यसअघि जनवरीदेखि अक्टोबरसम्म ८ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ को अगस्टसम्म ६ लाख एक हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नोभेम्बरमा एक लाख ८ हजार जनाले नेपाल भ्रमण गरेका छन् । सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा कोभिड–१९ पछिकै सबै भन्दा बढी पर्यटक आएका छन् । अक्टोबरमा मात्र एक लाख १७ हजार ३०६ जना पर्यटक नेपाल आएका हुन् । यसअघि सन् २०२३ को मार्चमा ९९ हजार आएका थिए ।

सन् २०२३ को जनवरीमा ५५०७४, फेब्रुअरीमा ७३२५५, मार्चमा ९९४२६, अप्रिलमा ९८७९३, मेमा ७७७०१, जुनमा ७२२५०, जुलाईमा ५७७२६, अगस्टमा ६७१५३, सेप्टेम्बरमा ५८३१४, अक्टोबारमा ११७३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२२ को यही अवधिमा ७२ हजार, सन् २०२१ मा २६ हजार, सन् २०२० मा २ हजार, सन् २०१९ मा एक लाख ३० हजार, पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । नोभेम्बरमा भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट ५ हजार ६० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

वार्षिक ३५ लाख विदेशी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार नेपालले विस्तार गरेको छ । देशभरका होटल तथा रिसोर्टले यो संख्यामा पर्यटकलाई सेवा प्रदान गर्न सक्ने पर्यटन व्यवसायीले बताएका छन् । तर विगत १० वर्षदेखि सरकारको लक्ष्य भने १० लाख पर्यटक नै भित्र्याउने रहेको छ । सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउँदै सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो भने ७ वर्ष पछि सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भएपनि कोभिड–१९ का कारण नेपाल भ्रमण वर्ष रद्द भएको थियो । सन् २०१९ मा भने ११ लाख ९७ हजार, कोभिड–१९ का कारण पर्यटक आगमनमा कमि हुँदा सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा एक लाख ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

मुलुकभरका पर्यटक स्तरीय होटलले ३५ लाख पाहुनालाई सेवा दिन सक्ने वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । अन्य साना होटलको समेत क्षमता जोड्ने हो भने यो संख्या ५० लाख पुग्ने उनको भनाइ छ । मिश्र भन्छन्, ‘सरकारले वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । निजी क्षेत्र भने ४० लाखसम्मलाई सेवा दिन सक्षम छ ।’

‘राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । यो वर्ष भने १० लाख पर्यटक भित्रिने संकेत देखिएको छ । सन् २०२३ को ११ महिनामा ९ आएका छन् । डिसेम्बर अझ पर्यटकीय सिजन भएकाले ८०/९० हजारकै हाराहारीमा आए पनि १० लाख पुग्ने व्यवसायी मिश्रको भनाइ छ ।

कोभिड महामारी साम्य भएसँगै पर्यटक आगमन सुधारको क्रममा छ । यद्दपि, आगमन दर उत्साहजनक भने नरहेको व्यवसायीहरु बताउँछन् । मिश्र भन्छन्, ‘वार्षिक ३५ लाख पर्यटकलाई सहज रुपमा सेवा दिन सक्ने अवस्था भएपनि पर्यटक आगमनका लागि वातावरण बनाउन नसकिएको अवस्था छ ।’ पछिल्लोे समय दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनि हामीले सरकार तथा निजी क्षेत्रको समन्वय नभएर प्रचार प्रसारमा कमि हुँदा पर्यटक ल्याउन नसकिएको मिश्रको भनाइ छ ।

आर्थिक सर्वेक्षण २०७९/०८० अनुुसार सन् २०२२ मा पर्यटकको औसत बसाई अवधिमा केही कमी आएको छ । यस अवधिमा पर्यटकको औसत बसाई १३.१ दिन रहेको र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ । सन् २०२१ मा नेपाल भ्रमणमा आउने प्रतिपर्यटकले औसतमा दैनिक ४८ डलर खर्च गर्ने गरेका थिए भने प्रतिपर्यटक औसत बसाई अवधि १५.५ दिन थियो । यस्तै सन् २०२०मा ६५ अमेरिकी डलर थियो भने औसत बसाई १५.१ दिन थियो ।

सरकारको नीतिगत व्यवस्थाको कमि र निजी क्षेत्रको लगानीको अवमूल्यन हुँदा विगत १० वर्षदेखि नै पर्यटकको आगमन दरमा सुधार हुन नसकेको अर्का पर्यटन व्यवसायी सुमन घिमिरेको भनाइ छ । उनले भने, ‘सरकारले पर्यटन क्षेत्रको महिमा र गरिमा बुझेर यस क्षेत्रमा लगानी प्रचार प्रसार गर्न जरुरी रहेको छ ।’ वर्ष पिछे थपिँदो लगानी तर पर्यटकको आगमनमा अपेक्षकृति आगमन नहुँदा यस क्षेत्रमा भएको लगानी अनुसारको प्रतिफल प्राप्त नभएको घिमिरेको भनाइ छ ।

आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार डिलक्ससहितका पाँचतारे होटलको संख्या १७३ पुगेको छ । त्यसैगरी तारे स्तरबाहेकका डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या एक हजार २२८ पुगेको छ । ८५७ तारेस्तरका होटलमा रहेका बेडको संख्या १६ हजार ३३५ छ । तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका बेडको संख्या ३७ हजार ३० पुगेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या ३२ छ । त्यसैगरी द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको संख्या ४१ पुगेको छ । गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो सयम भए पनि अन्य देशमा उडान हुन नसक्नु, स्रोत बजारमा प्रचारप्रसार गर्न नसक्नु र सडक मार्ग सुधार नहुँदा पर्यटक आगमन बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्