पर्यटकीय क्षेत्रको पहिचान गरिने «
Logo

पर्यटकीय क्षेत्रको पहिचान गरिने

धनकुटा– धनकुटा नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्दै आएका लेखक, ट्राभल र टुरिस्ट गाइडलगायत १५ सदस्य टोली धनकुटा आएको हो ।

टोलीले धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि सहयोग गर्ने गरी टोली धनकुटा आएको हो । धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको हो ।

टोलीलाई स्वागत गर्न राखिएको कार्यक्रममा धनकुटा नगरपालिकालका प्रमुख चिन्तन तामाङले नेपालको विकासका लागि पर्यटन सबैभन्दा महत्वपूर्ण क्षेत्र रहेको र नेपाल आफैमा हरेक किसिमले पर्यटकीय क्षेत्र रहेकोले यसको प्रचारप्रसार भौतिक पूर्वाधारको विकास गर्न तीन तहका सरकार लाग्नु पर्ने बताए । साथै, उनले धनकुटा नगरपालिकाले पर्यटन विकास र प्रवद्र्वनमा काम गरी रहेको, त्यसलाई निरन्तरता दिने र त्यसमा सहयोग गर्न आग्रह समेत गरे ।

पाँच दिनसम्म धनकुटामा रहने उनीहरूले यहाँका पर्यटकीय क्षेत्रहरू चुलिवन, हिले, मुलघाटलगायत होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृतिलगायतको अवलोकन गरेर प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने नगरपालिकाले जनाएको छ । धनकुटामा आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि पछिल्लो समय विशेष पहल कदमी नगरपालिकाले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्