चार महिनामा एक अर्ब राजस्व संकलन

जनकपुरधाम– जलेश्वर भन्सार कार्यालय मिठामोड महोत्तरीले चालु आर्थिक वर्षको चार महिनामा एक अर्ब सात करोड ४९ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो राजस्व अघिल्लो आर्थिक वर्षको चार महिनामा उठेको भन्दा १० करोड रुपैयाँ बढी हो । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको राजस्व हेर्दा ९२.८८५ प्रतिशत बढी रहेको देखिन्छ । संघीय सरकारको भन्सार विभागले सो भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा ३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो ।
चालु आर्थिक वर्षको चार महिनामा ९२.८८ प्रतिशत अर्थात् एक अर्ब ७ करोड ४९ लाख रुपैयाँ राजस्व उठाउन सफल भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष कोइला र खरानी आउने क्रम बढेकाले चार महिनामा राजस्वमा उल्लेखनीय प्रगति भएको राजस्व कार्यालयका सूचना अधिकारी सोमित गुप्ताले बताए । उनले अघिल्लो वर्षभन्दा यो वर्ष भन्सार विभागले १२ करोड बढी राजस्व उठाउने लक्ष्य दिए पनि यही स्थिति रहेमा लक्ष्य प्राप्ति हुने विश्वास व्यक्त गरे ।
आर्थिक मन्दीको कारण अन्य भन्सार कार्यालयको राजस्व प्रभावित भएपनि जलेश्वर भन्सार कार्यालय लक्ष्यको नजिक पुगेको छ । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थबाट संकलित राजस्व ५६ करोड २ लाख रुपैयाँ रहेको छ । अन्य माल वस्तुको आयातबाट संकलित राजस्व ५१ करोड २७ लाख ३३ रुपैयाँ रहेको छ । यसले जलेश्वर भन्सार कार्यालयको संकलित चार महिनाको कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदान बढी रहेको छ ।
अन्य मालवस्तुको तुलनामा पेट्रोलियम पदार्थबाट प्राप्त भएको राजस्व करिब ५ करोड रुपैयाँले बढी भएको देखिएको छ । संकलित राजस्वमा आधाभन्दा बढी योगदान पेट्रोलियम पदार्थको मात्र रहेको छ । अघिल्लो वर्ष ७७.४२ प्रतिशत राजस्व उठेको थियो भने चालु आर्थिक वर्षको चार महिनामा लक्ष्यको तुलनामा ९२.८८ प्रतिशत राजस्व उठ्नुलाई सकारात्मक रुपमा लिइएको छ ।