Logo

मेला-महोत्सवमा रोक लगाउन उवासंघको माग

दाङ– दाङ जिल्ला उद्योग वाणिज्य संघले आर्थिक संकटको समयमा व्यापारिक मेला–महोत्सव रोक लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । संघले प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा कोभिड-१९ र आर्थिक मन्दीका कारण स्थानीय व्यापार–व्यवसाय तहसनहस भई व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको उल्लेख छ । यस्तो अवस्थामा घोराही नगर क्षेत्रमा कुनै पनि बहानामा व्यवसायीहरूलाई असर पर्ने गरी व्यावसायिक मेला-महोत्सव लगाउनु भनेको व्यवसायीहरूलाई पलायन हुने र आत्महत्या गर्न प्रोत्साहन गर्नुसरह हुने पत्रमा उल्लेख छ ।

आर्थिक मन्दीबाट अर्थतन्त्र केही सुधार नहुन्जेलसम्म कुनै पनि संघ-संस्थालाई मेला-महोत्सव आयोजना गर्ने अनुमति प्रदान नगर्न पनि पत्रमा माग गरिएको छ । ‘आर्थिक संकटका कारण धेरै व्यवसायी पलायन हुँदै गएका छन् । यस्तो अवस्थामा मेला महोत्सव लगाउँदा थप समस्या हुन्छ,’ दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले भने ।

व्यापारिक मेला-महोत्सव लगाउँदा व्यवसायीहरू सबै संकटमा पुग्ने जोशी बताउँछन् । अहिले धेरैले व्यवसाय छोडेर बिदेसिएका छन् । कोही व्यापार छोडेर यही बस्न बाध्य भएको उनको भनाइ छ । कसरी व्यवसायमा टिकाउने भन्ने ठूलो समस्या रहेको उनले बताए । व्यवसायी पलायन हुँदा घरधनीहरू समेत समस्यामा परेको उनले बताए ।

आर्थिक संकटका कारण पछिल्लो व्यापार-व्यवसाय सुनसान रहेको संघका महासचिव महेन्द्र बुढाथोकीले बताए । सबै मिलेर यस प्रकारको समाधान गर्नुपर्ने उनको भनाइ छ । ज्ञापनपत्र बुझ्दै घोराही उप-महानगरपालिकाका उपप्रमुख हुमा डिसीले उद्योग वाणिज्य संघले उठाएको विषयमा आफ्नो तर्फबाट सहयोग रहने बताइन् । यसका बारेमा उपमहानगरपालिकाले निर्णय गरेर अगाडि बढ्ने समेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्